भूकम्पका कारण विभागको सर्भर बिग्रियो, विदेशिने शुन्यप्रायः

विकासन्युज /काठमाडौं, बैशाख १५ गत शनिबार र आइतबार गएको भुकम्पका कारण वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचल कार्यालयको सर्भर डाउन हुँदा सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । विभागका निमित्त महानिर्देशक एवम् काठमाडौं कार्यालयका प्रमुख विश्वप्रकाश सुवेदीले दिएको जानकारीअनुसार विभागका इन्जिनियर विजय खत्रीको लुभुस्थित घर पूर्णरुपमा ध्वस्त भएका कारण उनी कार्यालय आउन सकेका छैनन् । उनको अनुपस्थितिमा काम गर्न सक्ने अरु जनशक्ति नभएका कारण बिग्रिएको सर्भर मर्मत गर्न ढिलाइ भएको हो । सर्भरले काम नगर्दा हातैले लेखेर भिसाको म्याद सकिन लागेका र आजभोलि नै टिकट भएका श्रमिकलाई अन्तिम श्रम स्वीकृति दिने काम भइरहेको सुवेदीले जानकारी दिए । विभागले व्यक्तिगत श्रम स्वीकृतिमात्रै दिइरहेको र मंगलबार बेलुकासम्म १ सय ५० जनालाई सेवा प्रदान गरिएको  उनले जनाए । विभागले विदेशबाट विदामा आई भिसा सकिन लागेकाहरुलाई मात्रै अन्तिम श्रम स्वीकृति प्रदान गर्न थालेको हो । व्यक्तिगत तर्पmका अरु र संस्थागत तर्पmका पूर्व तथा अन्तिम स्वीकृति सेवा सुचारु हुन सकेका छैनन् । उता भूकम्पका कारण जनजीवन तहसनहस भएका कारण वैदेशिक रोजगारीका लागि मुलुक छाड्नेको संख्या शुन्यप्रायः भएको छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंसराज वाग्लेले दिएको जानकारीअनुसार आइतबार २ सय जनाले स्वदेश छाडेको भए पनि सोमबार र मंगलबार सो संख्या शुन्यप्रायः रहेको छ । भूकम्पका कारण मुलुकभर शोक र अन्योल छाएका कारण कुनै पनि मेनपावर कम्पनीले कार्यालय सुचारु गर्न सकेका छैनन् भने कामदारको अन्तर्वातासमेत प्रभावित भएको छ । उता वैदेशिक रोजगारीका लागि मुलुक छाड्ने र स्वदेश फर्किएका श्रमिकको बास हुने मुख्य स्थान गोंगबुस्थित नयाँ बसपार्क छेउछाउ रहेका होटल र गेस्टहाउस भूकम्पका कारण क्षतिग्रस्त हुँदा सयौं कामदार हताहत भएका छन् । तर उद्दारको काम सुस्त हुँदा सो संख्या यकिन हुन सकेको छैन । सयपत्री गेस्टहाउसका सञ्चालक एवम् वैदेशिक रोजगार व्यवसायी छत्र बस्नेतका अनुसार उनको गेस्ट हाउसमा मात्रै कम्तीमा ८ जना श्रमिक पुरिएका छन् भने अन्य थुप्रै होटलहरु भत्किएकाले सो संख्या साढे ३ सय माथि हुनसक्छ ।

भूकम्पबाट नेल्को इन्टरनेसनलको भवन ध्वस्त, २ व्यवसायी घाइते ,व्यवसायीकी श्रीमतीको निधन

  विकासन्युज / काठमाडौं, बैशाख १५ शनिबार गएको महाभूकम्पमा परी एउटा मेनपावर कम्पनीको भवन भत्किएको छ  भने २ जना वैदेशिक रोजगार व्यवसायीहरु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सो भूकम्पमा परी सामाखुसीस्थित नेल्को इन्टरनेसनल प्रालिको ६ तले भवन भत्किँदा पहिलो तलामा रहेको सो मेनपावर कम्पनीका सञ्चालक शिवराज पाठक घाइते भएका छन् । उता  कुपन्डोलस्थित मादी ओभरसिजका सञ्चालक जनक थापाको खुट्टा भाँचिएको छ    भने वैदेशिक रोजगार व्यवसायी यलबहादुर गुरुङ (विजय) लाई पत्नीशोक परेको छ । राजधानीको बसुन्धरास्थित सी लिंक ओभरसिज प्रा.लि.का सञ्चालक गुरुङकी श्रीमती लालमाया गुरुङको शनिबार आएको प्रलयकारी भूकम्पमा परी निधन भएको हो । नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा नर्सको रुपमा कार्यरत ४५ वर्षिया गुरुङको वसन्तपुरमा शनिबार भएको रक्तदान कार्यक्रममा सेवा प्रदान गर्दागर्दैै  एक्कासी आएको भूकम्पबाट  निधन भएको हो । स्वर्गीय गुरुङको आइतबार स्वयम्भूमा अन्तिम दाहसंस्कार गरिएको थियो । अन्य व्यवसायीहरुको पनि क्षति भएको जानकारी आए पनि यो समाचार तयार पार्दासम्म पुष्टि हुन सकेन ।  

वैदेशिक रोजगार व्यवसायी संघद्वारा उद्दार समिति गठन, चुनावी साधारणसभा स्थगित

विकासन्युज/ काठमाडौं, बैशाख १५ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मुलुकमा आएको विनाशकारी भूकम्पबाट  पीडितहरुको उद्दार र राहतका लागि वैदेशिक रोजगार व्यवसायीहरुलाई सक्रिय रुपले परिचालन गर्ने निर्णय गरेको छ । यसै क्रममा अध्यक्ष हंसराज वाग्लेको संयोजकत्वमा भूकम्प पीडित उद्दार तथा राहत संकलन मूल समिति गठन गरिएको संघका महासचिव कमल तामाङले जानकारी दिए । तामाङका अनुसार ३३ सदस्यीय सो समितिमा संघका पूर्व अध्यक्षहरु,  वरिष्ठ व्यवसायीहरु , युवा व्यवसायीहरु  रहेका छन् । मुलुकमा आएको भयानक दैवी विपत्तिलाई सहन गर्न र आआफ्ना क्षेत्रबाट उद्दार र राहतका लागि सक्रिय रहन संघले सम्पूर्ण व्यवसायीहरुलाई आव्हान गरिसकेको  समेत सचिव तामाङले बताए । यसैबीच संघको बैशाख २५ गते हुने साधारणसभा र निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु हाललाई स्थगित गरिएको छ । बैशाख १४ गते बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको महासचिव तामाङले  जानकारी दिए । सो साधारणसभा स्थगित भए पनि नयाँ मिति भने तोकिएको छैन । राहत तथा उद्दारको काम सकिएपछि बैठक बसी यथाशीघ्र नयाँ  मिति  तय गरिने तामाङले बताए । यसअघि  विभिन्न कारणले पटकपटक स्थगित हुँदै आएको सो साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम थियो । कोको छन् मूल समितिमा ? १.श्री हंशराजवाग्ले        संयोजक २.श्री ज्ञानप्रसाद गैरे         सदस्य ३.श्री उद्धवकुमार खड्का      ” ४.श्री भुवनसिंह गुरुङ          ” ५.श्री दानबहादुर तामाङ      ” ६.श्री एल.पी. साँवा लिम्बु     ” ७.श्री तिलकबहादुर रानाभाट  ” ८.श्री बलबहादुर तामाङ      ” ९. श्री प्रज्ञान न्यौपाने        ” १०. श्री नरेश गेलाल          ” ११. श्री शमशेरबहादुर गुरुङ  ” १२. श्री प्रेमबहादुर कटुृवाल   ” १३. श्री नवराज के.सी.       ” १४. श्री मोहनाथ शर्मा       ” १५. श्री बिमल ढकाल        ” १६. श्री सरोजकुमार पोखरेल  ” १७. श्री किरणकिशोर घिमिरे  ” १८.श्री टंकबहादुर राउत      ” १९.श्री कुमुद खनाल          ” २०.श्री राजेन्द्र भण्डारी       ” २१.श्री बिष्णु कुमारी गुरुङ     ” २२. श्री एम.एस.काप्री        ” २३. श्री सुजीत श्रेष्ठ          ” २४. श्री रामप्रसाद श्रेष्ठ      ” २५. श्री बिष्णु के.सी.           ” २६. श्री वाई.बी. राई         ” २७. श्री गोबिन्दप्रसाद थपलिया ” २८. श्री कुशाङ शेर्पा         ” २९. श्री राधिका कटुवाल     ” ३०.श्री रघु पुरी         ” ३१.श्री आर.सी. गिरी” ३२. श्री थिरमणि पौडेल ” ३३. श्री कमल तामाङ         सदस्य सचिव