धौलागिरी लघुवित्तको सीईओमा शिवराम जोशी नियुक्त
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले जोशीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । जोशी करिब दुई दशकदेखि लघुवित्त क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी बैंकर हुन् । उनले २०६३ चैतबाट छिमेक लघुवित्तमा फिल्ड सहायकका रूपमा लघुवित्त सेवामा प्रवेश गरेका थिए । त्यसपछि २०६६ सालमा मुक्तिनाथ विकास बैंकको लघुवित्त विभागमा तथा २०६७ देखि २०७५ साउन २ गतेसम्म तत्कालीन ओम डेभलपमेन्ट बैंकको लघुवित्त विभाग प्रमुखका रूपमा कार्य गरेका थिए । त्यसपछि उनले २०७५ साउनदेखि २०७६ मंसिर २२ गतेसम्म कालिका लघुवित्त वित्तीय संस्थामा सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाले । जोशी २०७६ मंसिर २५ गतेदेखि धौलागिरी लघुवित्तमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए भने २०८१ मंसिर १७ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । सञ्चालक समितिले जोशीको नेतृत्वमा संस्थाले नियामकीय निर्देशनको पूर्ण पालना गर्दै सेवाग्राहीलाई अझ गुणस्तरीय सेवा प्रदान गर्ने तथा सेयरधनीलाई उचित प्रतिफल दिन सफल हुने विश्वास व्यक्त गरेको छ । नियुक्तिपछि प्रतिक्रिया दिँदै जोशीले मुलुककै पुराना र प्रतिष्ठित लघुवित्त संस्थामध्ये एकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउँदा गर्व र जिम्मेवारीबोध दुवै महसुस भएको बताए । उनले आफ्नो कार्यकालमा सन्तुलित व्यापार विस्तार, ग्राहक सेवा थप सुदृढीकरण, सुरक्षित र प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्दै लगानीकर्तालाई उचित प्रतिफल दिन प्रतिबद्ध रहने बताए । साथै, संस्थाको ब्रान्ड, नेटवर्क र बजार उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्यका साथ काम गर्ने उल्लेख गर्दै उनले आफूलाई सीईओमा नियुक्त गर्ने सञ्चालक समितिप्रति धन्यवाद तथा आभार व्यक्त गरे । कर्जा व्यवस्थापन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन तथा मर्जर व्यवस्थापनलगायत लघुवित्तको कार्यकारिणी तहमा अनुभव हासिल गरिसकेका जोशीलाई लघुवित्त क्षेत्रमा अब्बल बैंकरका रूपमा चिनिन्छ ।
सिद्धार्थ बैंकको कामु सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रामेश्वर प्रसाद बस्याललाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। हाल बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ । सीईओ पदावधि सकिन लागेका कारण बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बस्याललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव लक्ष्मण घिमिरेका अनुसार बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओ पदमा नियुक्त गरिएको छ ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्टको डीसीईओमा पण्डित नियुक्त
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले नयाँ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको छ । कम्पनीको निर्णयअनुसार ऋषिराम पण्डितलाई मंसिर ७ गतेदेखि स्थायी रूपमा डीसीईओमा नियुक्त गरिएको छ । कम्पनीका अनुसार पण्डितलाई पदअनुसारको सम्पूर्ण जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण भइसकेको छ । नियुक्तिसँगै उनले संस्थाका प्रशासनिक तथा वित्तीय गतिविधिमा सह–मुख्य कार्यकारी अधिकृतको भूमिकामा काम गर्नेछन् ।