श्रम मन्त्रालय भन्छः ६ महिनामा लक्ष्यकाे ७० प्रतिशत काम गर्याैं

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यकाे ७०.५ प्रतिशत प्रगति भएको दाबी गरेकाे छ । ६ महिनायताकाे समयमा २८.८ प्रतिशत प्रगतिको क्रममा रहेको तथा ०.७ प्रतिशत कार्यक्रम शुरुवात हुन नसकेको जानकारी दिएको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयमा भएको चालु आर्थिक वर्षको बजेट तथा कार्यहरुको समीक्षा गर्दै मन्त्री रामेश्वर रायले हालसम्म ७० प्रतिशत भन्दा बढी काम भइसकेको दाबी गरेका छन् । मन्त्री रायको अध्यक्षतामा बसेको बैंठकले वार्षिक नीति, कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनाकाे समीक्षा गरेको हो । रोजगारीको क्षेत्र र सम्भावनाको खोजी भइरहेको जानकारी दिँदै सीपमुलक तालिमलाई थप प्रभावकारी बनाउन अन्तरिक रोजगारी, स्वरोजगारी तथा वैदेशिक रोजगारीलाई उपलब्धीमूलक बनाउने कार्य भइरहेको मन्त्री रायले जानकारी दिए । सचिव विनोद केसीले आगामी दिनमा कार्यक्रम कार्यान्वयन प्रभावकारिता देखाउन बाँकी खरिदको सूचना शीघ्र प्रकाशन गर्ने निर्देशक दिनुका साथै श्रम सम्बन्ध असल राख्ने, वैदेशिक रोजगारीमा ठगी अनियमितता घट्ने, सामाजिक सुरक्षा कोष तथा आन्तरिक रोजगारीलाई प्रोत्साहन दिने बताएका छन् ।

वैदेशिक रोजगारीको समस्याबारे डा. संग्रौलाको सार्वजनिक महत्वको प्रस्ताव सदनमा

काठमाडौं । प्रतिनिधी सभा सांसद डा. डिला संग्रौलाले वैदेशिक रोजगारीको समस्याबारे सार्वजनिक महत्वको प्रस्ताव सदनमा पेश गरेकी छन् । उनले मंगलबारको संसदमा सो प्रस्ताव पेश गरेकी हुन् । करिब करिब ४० लाखभन्दा बढी युवाहरु रोजगारीका लागि विदेशिएसँगै आएका समस्याको बारेमा उनले सरकारको ध्यान आकर्षित हुनु पर्ने प्रस्ताव पेश गरेकी हुन् । डा.संग्रौलाले विदेशीएका धेरै नेपाली स्वदेश नफर्की विदेशमै जीवन त्याग्न बाध्यता भएको बताइन् । पिडित परिवारलाई सहायता तथा रोजगारी प्रदान गर्न सरकार लाग्नु पर्ने उनको भनाइ छ । वैदेशिक रोजगारीमा गएका ७ हजार ३ सय ९० जनाले एक दशको अवधिमा ज्यान गुमाएका छन् भने दुई दर्जनभन्दा बढी नेपाली युवा विभिन्न मुलुकका अस्पतालमा कोमामा छन् । मुलुकभित्र रोजगारीका सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ सरकार लाग्नु पर्छ, तर यसमा सरकार मौन छ,’ उनले भनिन् । पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेशिया सरकारसँग सम्झौता गरेपनि नेपाली कामदार पठाउनका लागि सरकारले नै मलेशियाली कम्पनीहरुसँग सम्वाद गर्नु पर्ने अवस्था छ ।

बैदेशिक रोजगारीमा महिलाः जागिर घरेलु कामदार, देश खाडीदेखि युरोपसम्म

काठमाडौं । वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दै गएको छ । हालसम्म १ लाख ९ हजार १ सय ९९ जना महिलाहरु संस्थागत प्रणाली हुनै वैदेशिक रोजगारीमा गएका हुन् । बेरोजगारीले सिर्जना गरेको समस्या तथा घरको आर्थिक अवस्थालाई मध्यनजर गर्दै महिलाहरुले पनि देश छोड्ने क्रममा बढदै गएको छ । नेपालमा रोजगारीको अवसर नपाएसँगै वैदेशिक रोजगारमा जाने महिलाको उल्लेख्य स्वरुप बढेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या हेर्दा अधिकांश तराईका जिल्ला तथा प्रदेश २ का महिलाको बाहुल्यता छ । त्यस्तै बागमती प्रदेशको पहाडी जिल्लाका महिलाको बाहुल्यता भएसँगै मिश्रित समुदायको बसाई भएका तराईका जिल्ला बाहेक पनि बढ्दो छ । मुख्यतः काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक, चितवन लगायतका जिल्लाबाट महिला बाहिरिने क्रम बढेको छ । पछिल्लो समय व्यक्तिगत प्रयासले नै वैदेशिक रोजगार महिलाको गन्तव्यको संख्या बढ्दै गएको छ । कुवेतमा सबैभन्दा धेरै महिला जाने गर्छन् भने त्यसपछि महिलाको गन्तव्य मुलुकको रुपमा जर्मनी स्थापित भएको छ । वैदेशिक रोजगारमा जाने अधिकांश महिलाहरु झापा र सिन्धुपाल्चोक, काठमाडौं, मकवानपुर, मोरङ्ग, नुवाकोटका छन् । कुवेतमा २९ हजार ४ सय ६२ नेपाली महिला काम गरिरहेका छन् । ५ हजार १ सय ५१ संस्थागत र व्यक्तिगततर्फ २४ हजार ३ सय ११ जना रहेका छन् । हाल माल्दिभ्स जाने नेपाली महिलाको संख्या ५ हजार ४ सय ९५ जना रहेका छन् । त्यस्तै जर्मनी २ हजार १ सय ६३ जना गएका छन्, भने नेपाली श्रमिकको अर्काे गन्तव्य माल्टामा १ हजार ७ सय ८० जना नेपाली महिला काम गरिरहेका छन् । त्यस्तै, डेनमार्कमा १ सय ६५, टर्की २ सय ३०, इजरायलमा ८६, इजिप्टमा १ सय ५२, लेबनानमा ६८, स्वीडेनमा ४२ नेपाली महिला श्रमिक रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । अधिकांश महिलाहरु घरेलु कामका लागि रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारीमा पछिल्लो समय व्यक्तिगत माध्यमद्धारा जानेको संख्या पनि बढ्दै गएको विभागले जनाएको छ ।