घरेलु तथा साना उद्योग स्थापनामा तीव्र वृद्धि, सबैभन्दा धेरै पर्यटन उद्योग
परासी । पश्चिम नवलपरासीमा घरेलु तथा साना उद्योग स्थापनामा तीव्र वृद्धि भएकाे छ । घरेलु तथा साना उद्योग कार्यालयमा चालू आव २०७६/७७ को पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिकसम्ममै ६७३ उद्योग दर्ता भएका हुन् । कार्यालयका अनुसार सबैभन्दा धेरै पर्यटन उद्योग दर्ता भएका छन् । त्यसपछि सेवामूलक र कृषि तथा वन पैदावरमा आधारित उद्योगहरुको सङ्ख्या धेरै छ । कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चार महिनाको अवधिमा दर्ता हुनेमा २७४ पर्यटन तथा सेवामूलक १७७ उद्योग छन् । १५३ कृषि तथा वन पैदावरमा आधारित र ६९ उद्योग उत्पादनमूलक दर्ता भएको कार्यालयले जनाएको छ । यस अवधिमा वाणिज्य पसल पनि ९६१ वटा दर्ता भएका छन् । उद्योग र वाणिज्य फर्मको दर्ताबाट कार्यालयले चार महिनामै रु ७७ लाख ८० हजार २सय ५ राजश्व पनि सङ्कलन गर्न सफल भएको जनाएको छ । पछिल्लो समय जिल्लामा उद्योग स्थापना तीव्र रुपमा भइरहेको उल्लेख गर्दै कार्यालय प्रमुख भुसालले भन, “विगतका वर्षहरुभन्दा पनि अहिले उद्योग दर्ता हुने क्रम बढेको छ, विगतमा नवलपरासी जिल्ला सिङ्गो हुँदा पनि यो अवधिमा यति धेरै मात्रामा उद्योग दर्ता भएका थिएनन् ।” नेपाल सरकारले उद्योग स्थापनाका लागि विभिन्न किसिमका सहुलियत दिनुका साथै वैदेशिक रोजगारीबाट फर्केकाहरुको रोजाइमा पनि घरेलु उद्योग पर्न थालेपछि उद्योग दर्ता ह्वात्तै बढेको उनको भनाइ छ । “उद्योग दर्ता र नवीकरणका लागि प्रदेश ५ सरकारले दस्तुर पनि घटाई दिएपछि उद्योगीलाई राहत भएको छ । निजी फर्म दर्ताका लागि महिला, अपाङ्गता भएका व्यक्ति र दलित समुदायका व्यक्तिलाई दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था छ, नवीकरणमा पनि दर्ता गर्दा लागेको दस्तुरको २० प्रतिशत मात्रै लाग्छ”, भुसालले भने । उद्योग दर्ता गर्दा पूँजीका आधारमा निजी फर्मका लागि रु एक हजारदेखि २५ हजारसम्म र साझेदारी फर्म दर्ताका लागि रु ६०० देखि एक हजार ५०० सम्म दस्तुर लाग्दछ । यसअघि निजी फर्म दर्ता गर्दा रु एक हजारदेखि ५० हजारसम्म दस्तुर लाग्ने गरेको थियो । उद्योगहरु स्थापना हुने क्रम बढेपछि स्वरोजगार हुनाका साथै सयौँले रोजगारी पनि पाएका छन् । शान्ति सुरक्षा, राजनीतिक स्थिरता, लगानीको वातावरण तयार हुनु, तीनै तहका सरकारबाट उद्योग स्थापनाका लागि प्रोत्साहन गरिएकाले उद्योग फस्टाएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले बताएका छन्। उनले भने, “परासी क्षेत्र महेशपुर र बेलहिया भन्सार नजिक रहेको, भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदा उद्योगीहरु उत्साहित छन्, लुम्बिनी क्षेत्र र बुटवल–भैरहवा क्षेत्रमा भन्दा अहिले भैरहवा–भुमही क्षेत्र उद्योगीहरुको रोजाइमा पर्नु, नाकाबन्दीमा पनि सुरक्षित क्षेत्र भएको, सीमाबाट नजिक, औद्योगिक वातावरण, लगानी सुरक्षित, मेचीमहाकालीको मध्यभाग, उद्योग वाणिज्य सङ्घको पहलमा उद्योगलाई चाहिने बिजुलीको समस्या समाधान गरिएकाले पनि उद्योगहरु थपिने क्रम जारी छ ।” घरेलु तथा साना उद्योग कार्यालयका अनुसार हाल पश्चिम नवलपरासीमा सेवामूलक तीन हजार ७३, कृषि तथा वनपैदावरमा आधारित एक हजार ८८६, पर्यटनसम्बन्धी एक हजार ३६३, उत्पादनमूलक एक हजार ६३, सूचना प्रसारण तथा सञ्चार प्रविधिसम्बन्धी तीन, खनिजसम्बन्धी दुई र ऊर्जामूलक एक गरी सात हजार ३९१ घरेलु तथा साना उद्योग सञ्चालनमा रहेका छन् । रासस
विदेशिने मोह : नक्कली कागजातदेखि झुटाे विवाहसम्म
काठमाडौं । विदेशमा पैसाको रुख हुन्छ भन्ने गलत मानसिकता आम युवा जगतमा व्याप्त छ । यहि मानसिकताले वर्षेनी लाखौं युवाहरु विदेशिने क्रम बढ्दाे छ । कतिले विदेशमा गएर कडा मिहेनत गरेर पैसा पनि कमाइ गरेका छन् भने कतिपयले काम नपाएर भौतारिएका उदाहरण प्रशस्त छन् । अझ कतिपय त काम गर्न नसकेर फर्किएका छन् । कति लाशकाे रुपमा बाकसमा प्याक भएर समेत आउने गरेका छन् । यस्ता उदाहरण हामी माझ प्रशस्त भएपनि विदेशिने युवाहरुको संख्यामा भने कमी आउन सकेको छैन । विदेशमा मात्र होइन, विदेश जान्छु भनेर विदेश जाने प्रक्रिया गरिरहेका युवाहरु स्वदेशमै पनि ठगिने परिपाटी पछिल्लो समय झन बढ्दै गएको छ । दोलखा घर भएका ३६ वर्षिय राम शर्मा (नाम परिवर्तन) ले दुई वर्ष अगाडी क्यानडा जाने योजना बनाए । वैदेशिक रोजगारको रुपमा तीन वर्ष कतारमा बिताइसकेका उनले फेरी पैसा कमाउन क्यानडा जाने निधो गरे । राम्रो देश जान पाइने भएपछि उनले पैसाको कुनै प्रवाह नगरी साथीको सल्लाहमै एक जना एजेन्टलाई २१ लाख रुपैयाँ बुझाए । २१ लाख रुपैयाँ बुझाएको हालसम्म दुई वर्ष बितिसक्दा पनि न उनको विदेश जाने कुरा टुङ्गो लागेको छ नत उनले पैसा दिएका ऐजेन्ट सम्पर्कमा छन् । अहिले उनले पैसा दिएका एजेन्ट भारतमा बस्दै आएको उनले बिकासन्युजलाई बताए । राम मात्र होइन उनी लहैलहैमा लागेका उनका साथीको पैसा पनि लिएर ति एजेन्ट फरार छन् । यस्तै ताप्लेजुङ्ग घर भएका २६ वर्षिय कान्छा तामाङ (नाम परिवर्तन) को घटना पनि रामको भन्दा फरक छैन । वैदेशिक रोजगारीकै लागि तामाङले पनि एजेन्टलाई २ लाख दश हजार रुपैयाँ दिए । तर पैसा लिएका एजेन्ट पनि सम्पर्कमा छैनन् । उल्टै उनको पासपोर्ट पनि ति एजेन्टले गायब पारे । यी त केही प्रतिनिधि घटनाका पात्रहरु मात्र हुन् । यस्तै एजेन्टबाट ठगिएका, विदेशमा गएर काम नपाएका लगायतका समस्याहरु लिएर दैनिक सयौं मानिसहरु वैदेशिक रोजगार विभागमा धाउने गरेका छन् । पछिल्लो समय अष्ट्रेलिया, युरोप, अमेरिका जस्ता सुविधा सम्पन्न देशमा जानेको लहर चलेसँगै विभागमा ठगीका घटना आउने क्रम पनि बढ्दै गएको हो । सुविधा सम्पन्न देशमा जानकै लागि नक्कली विवाह मात्र होइन घरायसी लेनदेन कारोबारमा पनि वैदेशिक रोजगारीको कागज गर्ने प्रवृति भयावह रहेको विभागले बताएको छ । हाल विभागमा विभिन्न देशमा पठाउने भनेर लाखौं रकम ठगेका मुद्दाहरु पेश भएका छन् । कानुनी प्रक्रिया भन्दा पनि गैर कानुनी माध्यम द्वारारा विदेश जानेहरुका मुद्दाहरु बढी विभागमा आउने गरेका विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले बताए । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार १ सय ७७ वटा व्यक्तिगत उजुरी विभागमा दर्ता भएका छन् । भूषालले दाबी रकम बराबर चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १३ करोड ६६ लाख ६९ हजार ११६ रुपैयाँ जम्मा भएको बताए । यस्तै चालु आर्थिक वर्षको हालसम्म २ सय १५ वटा उजुरी विभागमा आएको भूषालको भनाइ छ । ती मध्ये अदालतमा ९८ वटा मुद्दा दायर भएका छन् । विगोमा दाबी रकम १० करोड ९८ लाख ६१ हजार जम्मा भएको छ । यस्तै गतवर्ष मात्रै विभागमा ८ सय ५५ वटा उजुरीमा २०९ वटा रहेका थिए । त्यसबाट ५६ करोड ११ लाख २९ हजार दावी रकम जम्मा भएको थियो । वैदेशिक रोजगारीका रुपमा कमाउन विदेश जानै परेपनि कानुनी रुपमा कागजात मिलाएर काम गर्नु पर्ने जानकारहरु बताउँछन् । वैदेशिक रोजगारका लागि अवैध रुपमा विदेश जाने र समस्यामा पर्दा विभाग धाउने परिपाटी पछिल्लो समय बढ्दै गएको हो ।
महिला उद्यमी महासंघद्वारा सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी गोष्ठी सम्पन्न
काठमाडौं । महिला उद्यमी महासंघ नेपालले आइतबार महिला उद्यमशीलता विकाशकोष तथा सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधिकाे गोष्ठी आयोजना गरेको छ । उक्त कार्यक्रममा उद्योग विभाग, सामाजिक विकास विभाग का.म.न.पा, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय बैंक, राष्ट्रिय वणिज्य बैंक, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु, नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल हस्तकला महासंघ, तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महिला उद्यमी महासंघ नेपाल” विभिन्न जिल्लाका महिला उद्यमी संघहरुको छाता संगठन हो । जसको उद्देश्य एक गैर सरकारी, गैर राजनैतिक तथा मुनाफा रहित छ । महासंघले राष्ट्रको आर्थिक विकासको लागि महिला उद्यमीहरुको संगठित प्रयासलाई प्रतिनिधित्व गर्दै महिला उद्यमी लक्षित प्रभावकारी तथा मिल्दो आर्थिक नीति नियम निर्माण गर्न विभिन्न सरकारी निकायहरुसँग महिला उद्यमीहरुको समस्यालाई वकालत गर्दै आईरहेको महासंघकी अध्यक्ष शारदा रिजालले बताइन् । महासंघको लक्ष्य सात प्रदेशका प्रतिनिधिमुलक ९ जिल्लाहरुमा सम्पन्न एफजिडी तथा अन्र्तकृया कार्यक्रम सम्पन्न गरी कार्यक्रमबाट आएका सारसंक्षेप संकलन गरी नीतिगत विषयहरुमा सुझाव प्रतिवेदन तयार पार्ने कुरालाई सो कार्यक्रममार्फत प्रस्तुत गरेको महिला उद्यमी महासंघ नेपालकी महासचिव दर्शना श्रेष्ठले बताइन् । कार्यक्रममा घरेलु तथा साना उद्योग विभाग, निर्देशक, विनोद कुमार खड्का तथा प्रदेश ३, घरेलु तथा साना उद्योग कार्यालय, प्रमुख राम चन्द« अधिकारीद्वारा कार्यान्वयनमा देखिएको चुनौतीहरु, महिला उद्यमीहरुमा देखिने विचौलियाका प्रभाव, नयाँ संरचना तथा कर्मचारी व्यवस्थापनले ल्याएको चुनौती तथा संघ संस्थासँगको सहकार्यजस्ता विषयमा चर्चा गरेका थिए ।