मेरियटको व्यवस्थापनमा फूलबारी रिसोर्ट नयाँ वर्षदेखि सञ्चालमा आउँदै
काठमाडौं । दक्षिण एशियाकै अब्बल होटलको रुपमा लिइएको फूलबारी रिसोर्ट अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ब्राण्ड मेरियटको व्यवस्थापनमा नयाँ वर्षदेखि पुनः सञ्चालनमा आउँदैछ । ९० को दशकमा स्थापना भएको उक्त रिसोर्ट २ वर्षयता बन्द छ । आगामी नयाँ वर्ष अर्थात २०७७ वैशाख १ गतेदेखि होटल सञ्चालन गर्न नेपाल बैंकसँग फूलबारीले सम्झौता गरेको छ । नेपालीको गहनाको रुपमा ५० को दशकमा पोखरामा स्थापना गरिएको उक्त रिसोर्टमा नेपाल बैंकको ७० प्रतिशत ऋण लगानी र सञ्चालक पियुष अमात्यको ३० प्रतिशत लगानी रहेको थियो । नयाँ वर्ष वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारीका साथ रिसार्ट सञ्चालन गर्न लागिएको सञ्चालक अमात्यले विकासन्युजलाई बताए । उक्त रिसोर्ट नयाँ व्यवस्थापन सहित आउन लागेको हो । हस्पिटालिटी क्षेत्रमा संसारमै अब्बल म्यानेजमेन्ट मानिएको अमेरिकन कम्पनी मेरियट इन्टरनेशनलले रिसोर्ट व्यवस्थापनको जिम्मा लिएको छ । मेरियट इन्टरनेशनल अमेरिकन चेन ब्राण्ड कम्पनी हो । यस अन्तर्गत संसारभर ७ हजार होटलहरू संचालनमा छन् । होटल सञ्चालनको जिम्मा मेरियटले लिएको कर्मचारीको सम्पूर्ण व्यवस्थापन पनि उसैले गर्ने सञ्चालक अमात्यले बताए । ‘होटल पुनःसञ्चालन गर्न लागेका छौं,’ उनले भने ‘मेरियट इन्टरनेशनल र होटलबीच ३० वर्षको सम्झौता भएको हो ।’ कर्मचारी ट्रेड युनियन, एक दशक लामो द्वन्द्व तथा इन्डियन एयरलाइन्स अपहरण परेपछि नेपालमा पर्यटन गतिविधि घट्न थाल्यो । रिसोर्टले लक्ष्य अनुरुपको आम्दानी गर्न सकेन र विस्तारै संकटतिर धकेलिदै गयो । २०५०/५१ मा फूलबारी रिसोर्टले नेपाल बैंकबाट करिब १ अर्ब ३० करोड कर्जा लिएको थियो । अहिले पेनाल ब्याज बाहेक रिसोर्टको साँवा ब्याज गरी ३ अर्ब ४६ करोड पुगेको छ । २ अर्ब १६ करोड ब्याज सहित सो कर्जा साढे ३ अर्ब पुगेको हो । हालै साधारण ब्याजलाई मूल साँवामै जोडेर कर्जाको एकमुष्ट संरचना गरिएको हो । नेपाल बैंक र फूलबारी रिसोर्टबीच गत कार्तिक १ मा भएकोे सम्झौताअनुसार रिसोर्ट सञ्चलानार्थ लिएको ऋणलाई दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरण १० वर्षको हुनेछ भने दोस्रो चरण ८ गरी जम्मा १३ वर्षमा ऋणीले नेपाल बैंकको कर्जा चुक्ता गरिसक्नु पर्नेछ । पहिलो चरणको १० वर्षमा १ अर्ब ३० करोड ८९ लाख कर्जा होटल सञ्चालकले बैंकलाई बुझाइ सक्नुपर्नेछ भने पहिलो चरण शुरु भएको ६ वर्षमा दोस्रो चरण शुरु हुनेछ । ऋणीले दोस्रो चरणको यो अवधिमा २ अर्ब १५ करोड ४२ लाख ऋण भुक्तान गर्नुपर्ने हुन्छ । वैशाख १ सम्म रिसोर्ट सञ्चालन गर्ने शर्तमा नेपाल बैंकबाट लिएको ऋण पुनसंरचना गरिएको हो । होटल राम्रोसँग सञ्चालन भए बैंकले पेनाल ब्याज नलिने अर्थात त्यति बेलानै निर्णय गर्ने गरी सम्झौता भएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले बताए । होटल सञ्चालन गर्नको लागि अमात्यले आफ्नो निजी सम्पत्ति बेचेर ४० करोड रुपैयाँ नेपाल बैंकमा जम्मा गर्दैछन् । सोही रकममध्ये ३० करोड होटल सञ्चालनमा खर्च हुनेछ भने १० करोड साँवा ब्याज भुक्तानमा हुने सीईओ अधिकारीले बताए । ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वल्ड’ भन्ने अवधारणा साथ दरबार निकट मानिएका पियुष अमात्यले ४ सय रोपनी जमिनमा उक्त होटल स्थापना गरेका हुन् । पर्यटन वर्ष १९९८ लाई लक्षित गरी स्थापना भएको उक्त रिसोर्टलाई नेपालको मात्र नभइ दक्षिण एशियाकै ठूलो र स्थापित रिसोर्टको रुपमा लिइन्थ्यो ।
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक पक्राउ
काठमाडौं । रोजगारका लागि मलेसिया जाने श्रमिकबाट अवैध रुपमा एक लाख बिस हजार रुपैयाँ लिँदै गरेको अवस्थामा वैदेशिक रोजगार विभागले एक व्यक्तिलाई समातेको छ । वैदेशिक रोजगारको लागि मलेसिया पठाइदिन्छु भनी रकम उठाइरहेको भन्ने विभागलाई प्राप्त सूचनाको आधारमा काठमाडौं सिनामंगल स्थित नोभा म्यानपावरको कार्यालय भवन नजिकैको स्थानवाट पक्राउ गरेको हो । ताप्लेजुङ जिल्ला साविक ढुङ्गेसाघु गा.वि.स वडा नं ५ घर भई हाल काठमाडौं जिल्ला वुढानिलकण्ठ नगरपालिका वडा नं ८ कपन वस्ने वर्ष ३३ का कैलाश लिम्वुले सिन्धुली घर भएका झलकबहादुर वि.क र पोष्टराज वि.क दुई दाजुभाइवाट नगदै रकम लिएकाे अवस्थामा विभागले रङ्गेहात पक्राउ गरेको विभागका महानिर्देशक डा.भीष्मकुमार भूसालले जानकारी दिए । लिम्वुले दुई दाजुभाइलाई मलेसिया पठाइदिन्छु भनी यस अघि नै ८० हजार रुपैयाँ लिइसकेको र शनिवार मलेसिया फ्लाइट छ, एक लाख साठी हजार रुपैयाँ लिएर आउनु, भिषा लागिसकेको भनी काठमाडौं वोलाएका थिए। काठमाडौं आएर टिकट माग गर्दा आफूहरुको श्रम स्वीकृतीनै नभएको थाहा भएपछि दुई दाजुभाइले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । नियन्त्रणमा लिइएका लिम्वुलाई कुनै म्यानपावरले रकम लिनको लागि परिचालन गरेको थियो वा थिएन भन्ने सम्वन्धमा हाल अनुसन्धान चलिरहेको छ । नेपाल सरकारले मलेसियामा वैदेशिक रोजगारमा पठाउनको लागि शून्य लागतमा जान पाउने गरी मलेसियन सरकारसँग सम्झौता गरेको छ । सो सम्झौता कार्यान्वयन गर्नको लागि विभागले पछिल्लो समयमा अनुगमन कार्य तिव्रता दिएसँगै कारवाहीवाट वच्नको लागि इजाजतपत्रवाला संस्थाले अबैध तरिकाले रकम संकलन गर्ने कार्यको लागि संस्था वाहिरका व्यक्तिहरु परिचालन गर्ने गरेको भन्ने उजुरी प्राप्त भैरहेको छ । वैदेशिक रोजगार ऐनमा भएको पछिल्लो संशोधनले खारेज भैसकेका एजेन्टले वैदेशिक रोजगारमा पठाएकाे कसैसग पनि राहदानी र रकम लिन नपाउने र लिएको भेटिएमा वैदेशिक रोजगार ठगीमा वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम हदैसम्मको कारवाही गर्ने प्रकृयालाई अघि बढाएको छ।
इ-स्टीकर पछि वैदेशिक रोजगार विभाागले इ-टोकन र मेसेजिङ्ग सेवा शुरु गर्दै
काठमाडौं । इ-स्टीकर पछि वैदेशिक रोजगार विभाागले यही मिति २०७६ मङ्गिसर १५ गतेदेखि इ-टोकन र मेसेजिङ्ग सेवा शुरु गर्ने भएको छ । इ टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाईन फाराम पेश गरेपछि श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा थाहा हुने भएकाले विभागले यो नियम लागु गरेको हो । कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो रोज्न पाउनु हुनेछ। जुन कार्यालयमा छिटै पालो आउँछ त्यो कार्यालय समेत रोज्न सक्नुहुनेछ। जसले गर्दा तपाइँको फाराम स्वीकृत हुने वित्तिकै तपाइँले कार्यालयमा पर्खिरहनु पर्ने छैन। मोबाइलमा एसएमएस जाने (मेसेजिङ्ग) फाराम बुझाइसकेपछि यदि कुनै कारणवश श्रम स्वीकृति अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नु परेमा मोबाइलमा मेसेज प्राप्त हुनेछ। फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर श्रमिकको श्रम स्वीकृतिको जानकारी पनि मोबाइलमा मेसेज आउनेछ। त्यसैले फाराम भर्दा आफ्नो मोबाइल नम्बर सही भरियो कि भरिएन भनेर तीनपटक रुजू गरेपछि मात्र अनलाइन फाराम सब्मिट गर्न विभागले श्रमिकलाई निर्देशन दिएकाे छ । विद्युतीय भुक्तानीको लागि लामो समयदेखिको प्राविधिक तयारी पश्चात सेवा प्रदायकसँग सम्झौताको चरणमा पुगेको जानकारी दिदैं यो प्रणाली लागू भैसकेपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैङ्कमा जानुपर्ने वा विचौलियाको सहयोग माग्नुपर्ने अवस्था श्रमिकलाई नहुने विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले सामाजिक संजाल (फेसबुक) मार्फत जानकारी दिएका हुन् । वैदेशिक रोजगार विभागले कामदार छनौट प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन अनलाईन प्रणाली समेत तयार भै लागू गर्न अवस्थामा छ । मंसिर महिना भरी सूचना प्रविधिमार्फत सेवाग्राहीहरुलाई दिइने सेवा स्वचालित र कष्ट निवारक महिनाको रुपमा रहने जनाउँदै सबै तयारी गर्न विगत ५ महिनादेखि निकै मेहनत गर्दै आएका महानिर्देशक डा. भूषालले भने ।