२२ करोड डलरमा कारखाना स्थापना, साढे तीन हजारले रोजगार पाउने

इथियोपिया । चीनको विशाल टेक्स्टाइल कम्पनी उक्सी कटन टेक्स्टाइलले इथियोपियामा करिब २२ करोड अमेरिकी डलर लगानीमा कारखाना स्थापना गरेको छ । कम्पनीले अफ्रिका समेतका अन्य मुलुकमा कपडा निर्यात गर्ने मुख्य उद्देश्यका साथ उक्त कारखाना स्थापना गरेकाे हाे । इथियोपियाको पूर्वी डायर डावा शहरमा स्थापना गरिएको उक्त नवनिर्मित कारखानाको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ । कम्पनीले यहाँबाट उत्पादित सम्पूर्ण लत्ताकपडा र टेक्स्टाइल शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने जनाएको छ । यहाँबाट उत्पादित सामग्री खासगरी युरोप, उत्तर अमेरिका र एसिया समेतका मुलुकमा निर्यात गर्ने कम्पनीको तयारी छ । उक्सी टेक्स्टाइलका महाप्रबन्धक झाङ शेङमिङले कारखानाले तीन हजार ५०० लाई रोजगारी उपलब्ध गराउन सक्ने बताएका छन् । रासस

राष्ट्रिय वाणिज्य बैंकद्वारा ३० युवालाई निःशुल्क प्रशिक्षण

काठमाडौैं । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका कम्तीमा स्नातक तह उत्तीर्ण ३० जना युवालाई निःशुल्क प्रशिक्षण दिने घोषणा गरेको छ । वित्तीय क्षेत्रमा आफ्नो जागिरे जीवन प्रारम्भ गर्न चाहने प्रदेश नं ३ का युवालाई लक्ष्य गरेर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रममार्फत प्रशिक्षण दिन लागेको हो । आज यहाँ पत्रकार सम्मेलन गरेर बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ५५ वर्षको गर्विलो इतिहास बोकेको बैंकले युवा वर्गको वृत्तिविकासका निम्ति प्रशिक्षण कार्यक्रम ल्याएको जानकारी दिँदै भने, “प्रदेश नं ३ को अनुभवका आधारमा सातवटै प्रदेशमा प्रशिक्षण विस्तार गरिनेछ ।” व्यवस्थापन विषयमा उत्कृष्ट अङ्कका साथ स्नातकोपाधि वा स्नातकोत्तर गरेका युवाले तालीमका निम्ति राष्ट्रिय वाणिज्य बैंकको वेबसाइटमा गएर अनलाइन फाराम भर्न सक्नेछन् । बैंकले गत आव २०७५/०७६ मा पाँच अर्ब ३२ करोड खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप रु एक खर्ब ९० अर्ब, कर्जा रु एक खर्ब ४४ अर्ब रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ । बैंकले बैंकिङ क्षेत्रको बिस्तार, वित्तीय पहुँचका लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवा लक्षित बैंकिङ कारोवार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रममा सघाउ पुर्याउँदै आएको छ । रासस

माछापुच्छ्रे बैंकले माग्यो ११५ जना कर्मचारी, आवेदन दिन कहिलेसम्म पाइन्छ ?

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले ११५ जना कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी पदमा २५ जना र ट्रेनी जुनियर असिस्टेन्ट पदमा ९० जना कर्मचारीका लागि आवेदन माग गरेको हो । काठमाडौँ उपत्यका भित्र र उपत्यका बाहिरका शाखा कार्यलयहरुका लागि कर्मचारी  माग गरिएको बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ । सम्बन्धित पदमा योग्यता पुगेकाहरुले कात्तिक १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुकहरुले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । म्यानेजमेन्ट ट्रेनी पदका लागि म्यानेजमेन्टमा मास्टर्स डिग्री उत्तीर्ण गरेका र ३० वर्ष उमेर ननाघेकाहरुले आवदेन दिन सक्नेछन् । त्यस्तै ट्रेनी जुनियर असिस्टेन्ट पदका लागि म्यानेजमेन्टमा ब्याचलर डिग्री उत्तीर्ण गरेका र ३० वर्ष उमेर ननाघेकाहरुले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।