बैरो संघका अध्यक्ष गुरुङले भने-‘हामी व्यवसाय बन्द गर्न तयार छौँ’

काठमाडौं । लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारको विषयमा श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले गोप्य रुपमा विभागलाई निर्देशन दिएको भए म्यानपावर व्यवसाय संघ बन्द गर्न तयार रहेको चेतावनी दिइएइको छ । ‘विभागमा धर्ना’ कार्यक्रमको पहिलो दिनमा म्यानपावर व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ्गले यदि सरकारलाई वैदेशिक रोजगार व्यवसायी संघको आवश्यक नपर्ने हो भने हामी बन्द गर्न तयार छौं भने । म्यानपावर व्यवसायी संघले राज्यले निर्माण गरेको नीति तथा नियमलाई पालना गर्दै अगाडि बढेपनि  सरकारले यस विषयमा चाँसो नदिएको उनले बताए । पुन श्रम स्वीकृति लिएका फाइललाई मन्त्रालयले १४, १५ महिनादेखि अल्झाएर राख्दा श्रमिकहरु मारमा परेका र यस विषयमा विभागले ठोस निर्णय लिनु पर्ने उनको भनाई छ । उक्त धर्ना कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूसालले गत आर्थिक वर्षमा मात्र मलेसिया ४२ हजार युवा बाहिरिएको बताउँदै मलेसिया रोजगारको विषयमा छलफल भईरहेको जानकारी दिए । बैदेशिक रोजगारीले आर्थिक स्थितिमा सुधार आएको कुरा अवगत गराउँदै म्यानपावर व्यवसायी संघका उपाध्यक्ष रामप्रसाद भान्तनाले मलेसियाको रोजगार खुलाउनु पर्नेमा जोड दिए । मलेसिया हाम्रो माग हो, विभाग तथा मन्त्रालयले भनेको हामीले मान्दै आएका छौं, त्यसकारण फ्रि भिजाको नाममा १० हजारको डोको सरकारले बोक्न लगाउँदा पनि बोकिरहेका म्यानपावर व्यवसायीको गुनासो रहेको छ । सरकारले तोकेको रकम बराबरको बैंकले धरौटी दिन माने पनि मन्त्रालयले स्वीकृति नदिएकोमा प्रगतिशील वैदेशिक रोजगार मञ्चका अध्यक्ष चित्रगुप्त साहले दुःखेसो व्यक्त गरे ।

समायोजनका कर्मचारीलाई हाजिर गराउन निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएर गएका स्थानीय तहका कर्मचारीलाई हाजिर गराउन निर्देशन दिएको छ । समायोजन भएर गएका कर्मचारीलाई स्थानीय तहमा हाजिर गर्न नदिएपछि मन्त्रालयले हाजिर गराउन निर्देशन दिएको हो । मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले कतिपय स्थानीय तहले समायोजन भएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि हाजिर गराउन निर्देशन दिएको बताए । उनका अनुसार समायोजन भएर गएका कर्मचारीलाई हाजिर गर्न नदिएमा सङ्घीय सरकारबाट स्थानीय तहलाई उपलब्ध गराउँदै आएका अनुदान रोक्का गर्नेलगायतका अन्य आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ । कर्मचारी समायोजन ऐन-२०७५ को दफा १३ को उपदफा ७ बमोजिम ‘सम्बन्धित निकायको प्रशासकीय प्रमुख वा अधिकारीले प्रदेश वा स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनुपर्नेछ’ उल्लेख गरिएको छ । मन्त्रालयले ऐनको दफा १३ को उपदफा ८ बमोजिम हाजिर नगराउने र जिम्मेवारी नदिने अधिकारीलाई प्रचलित कानूनबमोजिम कारवाही गरिने उल्लेख गरेको छ । ऐनबमोजिम समायोजन भएका कर्मचारीलाई हाजिर गराई कामकाज लगाउने कार्य स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको रहेकाले कतिपय स्थानीय तहका प्रमुखले नै पत्र लेखी कर्मचारी फिर्ता पठाउने गरेको कुरा कानूनविपरीत भएको हुनाले फिर्ता नपठाउन समेत निर्देशन दिएको छ । निर्देशनमा समायोजन भई हाजिर हुन आएका कर्मचारीलाई समायोजन भएको रिक्त पदमा हाजिर गराई कामकाज गराउनुपर्ने, मन्त्रालयले रिक्त दरबन्दी नभएमा समायोजन भएका कर्मचारीको पद थप सिर्जना गरी हाजिर गराई जिम्मेवारी दिनेसमेत निर्देशन दिएको मन्त्रालयका सहसचिव अधिकारीले जानकारी दिए । सरकारले गत वर्ष स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन गरेको थियो । रासस

वैदेशिक रोजगारीको नाममा ठगी, अढाई लाखदेखि चार लाखसम्म उठाएर भरत र भोपाल फरार

गाईघाट । वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिएका छन् । जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र लिम्चुङबुङ गाउँपालिका जाँतेका भोपाल थापाले जिल्लाका साउने, खाबु, त्रियुगा नगरपालिका, जाँते, लाफागाउँ, चुहाडे क्षेत्रका तीन दर्जन युवालाई विदेश पठाइदिने भन्दै करोडौँ रकम असुलेर बेपत्ता भएपछि आफूहरु ठगिन पुगेको पीडित युवाको गुनासो रहेको छ । जिल्लाका पीडितमध्येका हरिबहादुर कार्कीका अनुसार कसैलाई युरोप, कसैलाई दुबई र अफगानिस्थान पठाइदिने भनेर आफूहरुबाट रु अढाइ लाखदेखि चार लाखसम्म रकम उठाएर मगर र थापा अहिले सम्पर्कविहीन भएका छन् । अर्का पीडित अमृत आलेमगरले काठमाडौँस्थित सिनामङ्गलमा रहेको भेरी ओभरसिज मार्फत आफूहरुलाई विदेश पठाइदिने भन्दै आफूहरुबाट रकम असुलेर उनीहरु अहिले सम्पर्कविहीन भएको कारण आफूहरुको रकम डुबेको बताए । केही पीडित युवाले न्यायको लागि जिल्ला प्रशासन उदयपुरमा समेत निवेदन दिएको र आफूहरुलाई ठगी गर्नेविरुद्ध कारवाहीको लागि निवेदन दिएको बताउँछन् । यस विषयमा उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का भन्नुहुन्छ, “केही युवा आफूहरु ठगिएको गुनासो लिएर प्रशासनमा आएको तर पठाउने कम्पनी आधिकारिक हो कि हैन, ती पठाउने व्यक्ति सम्बन्धित कम्पनीका हुन् कि हैनन भनेर बुझ्न र आधिकारिकता र कारवाहीका लागि क्षेत्रीय श्रम कार्यालय विराटनगरमा जान सुझाव दिएको छु ।” पीडित युवामा जिल्लाका विभिन्न स्थानका इन्द्र मगर, रामबहादुर मगर, गोविन्द मगर, सुपबहादुर मगर, अम्बर रिमाल, अमृत आले, हरिबहादुर कार्की, डम्बर मगर रहेका छन् । त्यसैगरी राजेश श्रेष्ठ, पूर्णथापा मगर, रामकुमार मगर, खगेन्द्र मगर, बमहादुर राईसहित तीन दर्जन युवा वैदेशिक रोजगारी पठाइदिने नाममा दलालबाट ठगिन पुगेको पीडितले बताएका छन् । विदेश पठाइदिने भन्दै पटक–पटक सबैबाट रु चार लाखसम्म रकम सङ्कलन गरेर अब तयारी रहनु भनेर उनीहरु हाल मोबाइलसमेत स्विचअफ गरेर बेपत्ता भएपछि आफूहरु ठगिएका रहेछौँ भनेर जानकारी भएको पीडित युवाले बताएका छन् । रासस