बागमती प्रदेशका पाँच सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँचवटा समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिको शुक्रबार (आज) जेठ २२ गतेको निर्णयअनुसार लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी, दर्शन बचत तथा ऋण सहकारी र सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका ठूला ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो ।  समितिले उपलब्ध ऋणी विवरणका आधारमा यो नामावली सार्वजनिक गरिएको जनाउँदै साविकमै ऋण चुक्ता गरिसकेका तर प्राविधिक कारणवश नाम परेका व्यक्तिहरूलाई प्रमाणसहित समितिमा उपस्थित हुन आग्रह गरेको छ । साथै ऋण बाँकी रहेका ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिइएको छ भने तोकिएको समयमा दायित्व पूरा नगरे प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।

पशुपति सहकारीका १४० ऋणीको नाम सार्वजनिक (विवरणसहित)

काठमाडौं । समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋणीहरूको नामावली सार्वजनिक गरेको हो । समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ । यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुनसमेत आग्रह गरेको छ ।   त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।   समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ । यस्तो छ ऋणीहरूको विवरणः

सहकारीको प्रयासले फाकफोकथुममा दुग्ध व्यवसाय फस्टाउँदो

इलाम । बिहान ३ः०० नबज्दै  फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका शेषकान्त खनाल गाईगोठमा व्यस्त छन् । गोबर व्यवस्थापन, गाईलाई नुहाइदिने, दूध दुहुने र कुँडो खुवाउने उनको दैनिकी हो ।  दुईवटा गाईको सेवासँगै दूध दुहेर उनी घर नजिक  रहेको दूध सङ्कलन केन्द्रमा ३५ लिटर दूध लिएर जान्छन् । दुग्ध सहकारीलाई बेचर उनी घर फर्कछन् । 'दुग्ध सहकारीले मनासिव मूल्य दिन्छ । गाईपालनमा अझ उत्साह बढेको छ', उनले भने । फुएतप्पास्थित थामडाँडा पशुपालन सहकारी संस्थामा ८४ परिवार आबद्ध छन् । तीमध्ये ४५ परिवारले नियमित रूपमा दूध बिक्री गरिरहेका छन् । सहकारीका सहसचिव ढाकाबहादुर मगर सफल दुग्ध किसानमध्ये परेका छन् । केही समयअघि दैनिक ७२ लिटर दूध बिक्री गर्दै आएका उनले एउटा गाई बिक्री गरेपछि उत्पादन घटेर अहिले ४८ लिटरमा सीमित भएको बताउँछन् । 'चार माउ उन्नत जातका गाई पालेको छु । व्यावसायिक रूपमा काम गर्न सकियो भने राम्रो आम्दानी सम्भव छ', उनले भने । सहकारीमा दैनिक करिब ९५० लिटर दूध संकलन हुन्छ । किसानले प्रतिलिटर ५५ देखि ७५ रुपैयाँसम्म मूल्य पाउँछन् । सहकारीका अध्यक्ष हरिप्रसाद दङ्गालीका अनुसार दूधको मूल्य ‘ल्याक्टो’ र ‘फ्याट’को आधारमा निर्धारण गरिन्छ । घिउ र छुर्पी उत्पादनको बजार मूल्यअनुसार किसानलाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ । थामडाँडा सहकारीले दूध बिक्रीसँगै मूल्य अभिवृद्धि गरेर पनि आम्दानी बढाएको छ । मासिक करिब १२ क्विन्टल छुर्पी र सात क्विन्टल घिउ उत्पादन हुने गरेको छ । यी उत्पादन स्वदेशमा मात्र खपत होइन विदेश पनि निर्यात हुने गरेका छन् । सहकारीका सदस्य सुजन श्रेष्ठले उत्पादन सङ्कलन तथा बजार व्यवस्थापन गर्दै आएका छन् । अध्यक्ष दङ्गालीका अनुसार सहकारीको मासिक कारोबार १२ देखि १५ लाख रुपैयाँसम्म पुग्छ । सञ्चालन खर्च कटाएर मासिक करिब डेढ लाख रुपैयाँ बचत हुने गरेको छ । सहकारीले उत्पादन बढाउन प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गरेको छ । मासिक ६०० लिटर दूध बिक्री गर्ने किसानलाई एक बोरा ब्रान, ९०० लिटर पुग्नेले दुई बोरा र त्यसपछि प्रत्येक ३०० लिटरमा थप एक बोरा दिने व्यवस्था गरिएको छ । यसले किसानबीच स्वस्थ प्रतिस्पर्धा बढाएको उपाध्यक्ष भोजकुमारी खनालले बताए । सह–सचिव मगरले एक समय मासिक छ बोरासम्म ब्रान निःशुल्क पाएका थिए । साथै पशु सङ्ख्या बढाउन चाहने किसानलाई सहुलियतपूर्ण ऋणको व्यवस्था गरिएको छ । सहकारीको यात्रा २८ परिवारबाट सुरु भएको थियो । २०६७ सालमा औपचारिक दर्ता भएपछि हाल ८४ परिवार आबद्ध भए पनि ४५ परिवार मात्र सक्रिय रूपमा दूध उत्पादनमा संलग्न छन् । सहकारीले एक हजार लिटर क्षमताको चिस्यान ट्याङ्की सञ्चालनमा ल्याएको छ । हाल उत्पादन करिब ९५० लिटरमै सीमित भए पनि दैनिक एक हजार लिटर पु¥याउने लक्ष्य राखिएको अध्यक्ष दङ्गालीले बताए । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनामार्फत सहकारीलाई व्यावसायिक योजना, तालिम, प्रविधि तथा बजार पहुँचमा सहयोग मिलेको छ । यो परियोजनाबाट ‘डिपफ्रिज’, छुर्पी सुकाउने भवन, ‘चेन पुली’ तथा ‘जेनेरेटर’जस्ता अत्यावश्यक पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाले खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको छ भने किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालका अनुसार दैनिक करिब ३१ हजार लिटर दूध उत्पादन हुने फाकफोकथुममा पशुपालन आर्थिक समृद्धिको आधार बनेको छ । 'कृषि र पशुपालनले रोजगारी सिर्जना गरेको छ र गाउँमै सम्मानजनक जीवनको आधार बनेको छ', उनले भने । रासस