‘कालले छोड्ला, सहकारीको ऋण नतिरेसम्म मुक्ति मिल्दैन’

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी संस्थाको रकम अपचलन गर्ने ऋणी, जमानीकर्ता, सञ्चालक तथा जिम्मेवार कर्मचारीहरूविरुद्ध कठोर कारबाही प्रक्रिया अघि बढाएको छ । समितिले ऋण भुक्तानी नगरी लुकेर वा विदेश भागेर कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पार्दै ऋणीहरूलाई तत्काल आफ्नो दायित्व फछ्र्यौट गर्न कडा चेतावनी दिएको छ ।   समितिले ‘कालले छोड्ला तर सहकारीको ऋण नतिरेसम्म मुक्ति मिल्दैन’ भन्ने चेतावनी दिएको छ । समितिका अनुसार यसले आफूलाई मात्र होइन सन्ततिलाई समेत पिरोल्छ र विदेशमा रहेर वा लुकेर पनि सुख पाइँदैन भन्दै सजग गराएको छ ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पछिल्लो कार्यसमितिले कार्यभार सम्हालेको ६७ कार्यदिन (९१ दिन) को प्रगति विवरण तथा अद्यावधिक भावी कार्ययोजना सार्वजनिक गर्दै ऋणीहरूमाथि प्रशासनिक र कानुनी घेराबन्दी कसिलो बनाइएको जानकारी दिएको छ ।  ऋण असुली नै बचतकर्ताको रकम फिर्ता गर्ने मुख्य आधार भएकाले समितिले असुली प्रक्रियालाई प्राथमिकतामा राखेको छ ।  ऋणीहरूलाई कानुनी दायरामा ल्याउन समितिले चौतर्फी कदम चालेको छ । ऋण नतिर्ने ऋणी, जमानीकर्ता, सञ्चालक तथा जिम्मेवार कर्मचारीहरूको बैंक खाता र राहदानी (पासपोर्ट) रोक्का गरिएको छ भने उनीहरूलाई कालोसूचीमा समावेश गर्न कर्जा सूचना केन्द्रमा पत्राचार भइसकेको छ ।  यसका साथै, स्थानीय तह तथा अन्य निकायबाट प्रवाह हुने सम्पूर्ण सरकारी सेवा–सुविधा सहकारीको ऋण चुक्ता नभएसम्मका लागि रोक्का गर्ने व्यवस्था मिलाइएको छ । जमानतमा रहेका धितोहरू र सहकारीका सवारी साधनहरू लिलाम गर्ने कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ ।   समितिले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा विभिन्न समस्याग्रस्त सहकारीका करिब ११ हजार बचतकर्तालाई २१ करोड रुपैयाँ नगद र ५० करोड रुपैयाँ बचत मिलान गरी कुल ७१ करोड रुपैयाँ दायित्व फछ्र्यौट गरिएको छ ।  यसैगरी, असुलीका क्रममा बचत मिलान गर्दा अनिवार्य रूपमा १० देखि २० प्रतिशत नगद बुझाउनुपर्ने नीतिका कारण ऋणीहरूबाट २२ करोड ८३ लाख रुपैयाँ नगद सङ्कलन भएको छ ।   कान्तिपुर सेभिङ एण्ड क्रेडिट र गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीका रोकिएका बचतकर्ताहरूलाई यही साउन महिनाको तेस्रो साताबाट तोकिएको रकम भुक्तानी सुरु गर्ने तयारी समितिले गरेको छ ।  ५ लाख रुपैयाँसम्म बचत रहेका साना बचतकर्ताहरूको रकम प्रायः फिर्ता गरिसकिएको र ज्येष्ठ नागरिक, एकल महिला एवम् कडा रोगी बचतकर्ताहरूलाई औषधि उपचारका लागि राहत स्वरूप रकम उपलब्ध गराइँदै आइएको छ ।  समितिले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र असुली प्रक्रियालाई सहज बनाउन ऋणीहरूको सम्पर्क सूत्र, सम्पत्तिको स्रोत वा उनीहरू लुकिछिपी बसेको स्थानबारे जानकारी दिएर सहयोग गर्न आग्रह पनि गरेको छ ।    

‘कि त मारिदेऊ, कि त बचत फिर्ता गरिदेऊ’ भन्दै सहकारी पीडितको प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरूले समान रूपमा बचत फिर्ता गर्न माग राख्दै माइतीघरमा प्रदर्शन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सोमबार माइतीघरमा सहकारी पीडितहरूले प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरूले सरकारले साना र ठूला बचतकर्ता भनेर पीडितहरूलाई विभाजन गरी आन्दोलन कमजोर बनाउन खोजेको आरोप लगाएका छन् । सहकारी पीडित बचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनमा रहेका सहकारी पीडितहरूको बचत पहिला फिर्ता गर्न सरकारसँग माग गरे । माग सम्बोधन गर्न पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको उल्लेख गर्दै उनले अब सहकारी पीडितहरूको माग तत्काल सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । विगतमा सहकारी पीडितसँग भएका सम्झौताहरू कार्यान्वयन गराउन आफूहरू आन्दोलनमा उत्रिएको उनको भनाइ छ । सरकारले साना र ठूला बचतकर्ता भनेर सहकारी पीडितहरूबीच विभाजन ल्याउन खोजेको आरोप पनि उनले लगाए । सबै पीडित समान भएकाले सबैलाई समान व्यवहार गर्दै बचत फिर्ता गर्न उनले सरकारसँग आग्रह गरे । सरकारले हाल ठूला ऋणीसँग कर्जा असुली गरेर साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ । प्रदर्शनमा सहभागीहरूले ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो बचतकर्ता र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म ?’, ‘जग्गा मिलानका नाममा पीडित बचतकर्तालाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्तालाई न्याय देऊ’, ‘ए सरकार, कि त मारिदेऊ, कि त खोला तारिदेऊ’, ‘सहकारी पीडित बचतकर्ता एक होऔँ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । यस्तै, उनीहरूले आफू पीडित बनेका सहकारीका सञ्चालकहरूको फोटोसहितका ब्यानर पनि प्रदर्शन गरेका थिए ।  

पैसा फिर्ता गर्न यी तीन किसिमका बचतकर्तालाई प्राथमिकता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाका थप ४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ । समितिले सहकारीको सम्पत्ति तथा दायित्व व्यवस्थापन ऐन, २०७५, सम्बन्धित अदालतबाट जारी भएका निर्देशनात्मक आदेश तथा नेपाल सरकारको निर्णयअनुसार बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ ।  समितिका अनुसार बचत फिर्ता गर्दा कार्यविधिअनुसार प्राथमिकता निर्धारण गरिएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, स्वीकृत चिकित्सकबाट प्राणघातक रोग लागेको प्रमाणित भएका बचतकर्ता, एकल महिला तथा पूर्ण अशक्त वा पूर्ण अपाङ्गता भएका बचतकर्तालाई पहिलो प्राथमिकतामा राखेर बचत फिर्ता गरिँदै आएको छ । त्यस्तै, एक लाख रुपैयाँभन्दा बढी बचत भएका बचतकर्तालाई एकपटकमा बढीमा ५० प्रतिशत वा अधिकतम पाँच लाख रुपैयाँसम्म बचत फिर्ता गर्ने व्यवस्था लागू गरिएको समितिले जनाएको छ । समितिले दिएको जानकारीअनुसार गत २०८३ असार ५ गते कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका ३७ जना, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ४ जना, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३ जना, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका २ जना तथा पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका २ जना गरी कुल ४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको हो ।  समितिका अनुसार ती बचतकर्तालाई प्रतिव्यक्ति अधिकतम दुई लाख ५० हजार रुपैयाँका दरले बचत रकम फिर्ता गरिएको छ । बचतकर्ताबाट प्राप्त निवेदन तथा मागदाबीलाई प्राथमिकताका आधारमा अध्ययन गरी चरणबद्ध रूपमा रकम फिर्ता गर्ने प्रक्रिया जारी रहेको समितिले जनाएको छ ।