डडेल्धुरा अस्पतालका अध्यक्ष ओझामाथि कालो मोसो प्रहार, कारवाहीको माग गर्दै कर्मचारी आन्दोलित

काठमाडौं । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि कार्यकक्षमै कालो मोसो प्रहार भएको छ ।  बुधबार (आज) दिउँसो कार्यकक्षमै रहेका बेला आएका अज्ञात व्यक्तिले कालोमोसो दलेका थिए । नचिनेका केही व्यक्ति कार्यकक्षमा आएर ने.क.पा. बहुमतको सदस्य रहेको बताउँदै उनीमाथि कालो मोसो दलेको बताइएको छ। ओझामाथि कालोमोसो दलिएको फोटो बुधबार सामाजिक सञ्जाल भाइरल भएको छ । जहाँ कालोमोसो दल्नेहरूले नेकपा बहुमत जिन्दावाद, भ्रष्टाचारी होसियार भन्दै कालो मोसो प्रहार गरिएको देखिएको छ ।  कालोमोसो दल्नेहरू हतारहतार जंगलतिर भागेका थिए । कार्यकक्षमा प्रवेश गर्दा सामान्य व्यवहार देखाए पनि एक्कासि मोसो प्रहार गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्षमाथि मोसो प्रहार गरिएकोमा अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले दुर्व्यवहार गर्ने विरुद्ध कानुनी कारवाहीको माग गर्दै आन्दोलन सुरु गरेका छन् ।   उनीहरूले दुर्व्यवहार गर्ने माथि कारवाही नहुँदासम्म आकस्मिक बाहेकका सेवा नदिने बताउँदै बिरामीप्रति पर्ने असुविधाप्रति माफी मागेका छन् । ‘यस क्षेत्रको समग्र स्वास्थ्य प्रणाली र अस्पतालबाट प्रवाह हुने सेवा सुविधामा अहोरात्र दिनरात नभनी अग्रपङ्क्तिमा खटेर बिरामी सेवाग्राही नागरिकहरूको सहज र प्रभावकारी उपचार पद्धति व्यवस्थापनमा सर सल्लाह र सामुदायिक अपनत्व लिने वातावरण सिर्जना गर्न कियाशिल रहनुभएका विकास समिति अध्यक्ष माथि यस संवेदनशील संस्थाभित्र प्रवेश गरि प्रमाणविहीन र तथ्यहीन आरोपहरू लगाउँदै अस्पताल जस्तो गरिमामय पवित्रस्थलमा गरिएको व्यवहारले लज्जित तुल्याएको छ, अस्पतालले निकालेको विज्ञप्तिमा भनिएको छ । कर्मचारीले यस्ता घटनाले अस्पतालको सेवा प्रवाह तथा अस्पतालमा कार्यरत सबै तहका कर्मचारीहरू र पदाधिकारीहरूको मनोबलमा गिराउने काम भएको बताएका छन् ।  घटनाको दोषीमाथि छानबिन गरी कानुन बमोजिम कारवाही गर्न माग गर्दै कर्मचारीले भविष्यमा यस्ता अराजक गतिविधिहरू हुन नदिन स्थानीय प्रशासन र सुरक्षा निकायलाई आग्रह गरेका छन् 

हिमपात र अत्यधिक चिसोका कारण पेरिसमा १४० उडान रद्द

पेरिस । हिमपात र अत्यधिक चिसोका कारण बुधबार बिहान फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डे गल विमानस्थलमा करिब १०० उडान रद्द गरिएको छ भने ओर्ली विमानस्थलमा थप ४० उडान स्थगित गरिएको फ्रान्सका यातायातमन्त्री फिलिप टबारोटले जानकारी दिएका छन् । मङ्गलबार राति उडान अवरोधको सम्भावना देखिएको उल्लेख गर्दै मन्त्री टबारोटले सिएनयुज टेलिभिजनसँग कुरा गर्दै ‘आज दिउँसोसम्म अवस्था क्रमशः सामान्य हुने अपेक्षा गरिएको’ बताए । उनका अनुसार मौसम सुधारसँगै हवाई आवागमन पनि पुनः नियमित हुने आशा गरिएको छ । हिमपातका कारण पेरिस र आसपासका उपनगरहरूमा चल्ने सबै सार्वजनिक बस सेवाहरू अस्थायी रूपमा स्थगित गरिएको छ । तर, यातायात अधिकारीहरूका अनुसार मेट्रो र उपनगरीय रेल सेवाहरूको ठूलो हिस्सा भने सञ्चालनमै रहेको छ, जसले यात्रुहरूलाई आंशिक राहत दिएको छ । फ्रान्सको राष्ट्रिय मौसम सेवा मेटिओ–फ्रान्सले देशका ९६ मुख्य भूमि विभागहरूमध्ये ३८ विभागमा भारी हिमपात र कालो बरफको जोखिम रहेको भन्दै सतर्कता जारी गरेको छ । ती क्षेत्रमा तीनदेखि सात सेन्टिमिटर अर्थात् करिब एकदेखि तीन इन्चसम्म हिउँ जमिसकेको छ । मौसम सेवाले हाल देखिएको चिसोलाई ‘यस मौसमका लागि दुर्लभ रूपमा तीव्र’ भएको उल्लेख गरेको छ । यसअघि नै अधिकारीहरूले पेरिस क्षेत्रका बासिन्दाहरूलाई अनावश्यक यात्रा नगर्न, सतर्क रहन र सम्भव भएसम्म बुधबार घरबाटै काम गर्न आग्रह गरेका थिए । यस जाडोयाममा युरोपले भोगेको सबैभन्दा कडा चिसोका क्रममा फ्रान्समा मौसमसँग सम्बन्धित दुर्घटनामा हालसम्म कम्तीमा छ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् । चिसो अझै केही समय कायम रहन सक्ने अनुमान गरिएकाले सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ । रासस

कामना सेवा विकास बैंकद्वारा विराटचोकको बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत शाखा कार्यालय विराटचोकमार्फत ब्रेथ अफ लाइफ (बाल आश्रम) लाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले एक कार्यक्रमकाबीच बाल आश्रमका सञ्चालक निर्मला राईलाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । सामग्री ग्रहण गर्दै सञ्चालक राईले गरिब तथा विपन्न वर्गका बालबालिकाको आधारभूत आवश्यकता, शिक्षा तथा उज्ज्वल भविष्य सुनिश्चित गर्न बैंकको सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनले यस सहयोगले आश्रममा रहेका बालबालिकाको दैनिकी र शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने भन्दै बैंकप्रति आभार व्यक्त गरिन् । कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले बाल आश्रमलाई प्रदान गरिएको खाद्यान्न तथा शैक्षिक सामग्रीले समुन्नत समाज निर्माणमा सहयोग पुग्ने उल्लेख गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रममार्फत हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा विराटचोक उपमहानगरपालिकाकी उपमेयर नीतु थापा कोइराला, वडा अध्यक्ष योगेन्द्र सुवेदी, बैंकका कर्मचारी, बाल आश्रमका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।