टेलिकमको टावरमा खराबी आउँदा समस्या

डोटी, २१ असार । यहाँको ग्रामीण क्षेत्रमा पर्ने लानाकेदारेश्वर गाविसस्थित अत्तरकाँडामा रहेको नेपाल टेलिकमको टावरमा बारम्बार खराबी आएको छ । विसं २०६५ तिर स्थापित टेलिकमको स्काई फोनको टावरमा तीन महिनायतादेखि समस्या आइरहेको लानाकेदारेश्वर गाविस दुधिलाका शिक्षक रामबहादुर बोहराले बताए। सञ्चारको एक मात्र साधन स्काई फोन टिप्ने लानाकेदारेश्वर, मान्नाकापडीलगायत गाविसका बासिन्दा फोनमा आउने गरेको खराबीका कारण हैरान बनेका छन् । “घाम लागेका बेला टावर आउने र वर्षा हुँदा टावर जाने समस्या भएको धेरै भइसक्यो, कसैले पनि ध्यान दिएको छैन”, स्थानीयवासी प्रकाश थापाले राससलाई बताए । टेलिकम डोटीका अनुसार सोलार ब्याट्रीबाट टावरलाई पावर दिनुपर्ने हुँदा समस्या आएको हो । घाम लागेका बेला भने सोलार ब्याट्री सहजै चार्ज हुने हुँदा पावर पुगेर टावर आउने गरेको टेलिकम डोटीका प्रमुख गगनचन्द ठकुरीले बताए । विद्युत् विस्तार नभएका ठाउँमा टावरमा यस्तो समस्या आउने गरेको ठकुरीको भनाइ छ । वर्षात् सुरु भएसँगै टावरमा आएको खराबीका कारण स्थानीयवासी चिन्तित छन् । त्यस क्षेत्रमा छिटफुट मात्रामा अन्य फोन टिप्ने गरे तापनि स्काइ फोनले राम्रोसँग काम गर्ने गरेको छ । टेलिकमका अनुसार समय समयमा आफ्ना प्राविधिक मार्फत टावरको मर्मत र हेरविचार गर्ने गरिएको छ र सोलार ब्याट्री परिवर्तन गर्न केही लगानी आवश्यक छ । रासस

डिभी, पिआरको आवेदन मात्र दिए पनि शिक्षकको जागिर चट

काठमाडौँ, २१असार । निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिएको पाइएमा कारबाही भोग्ने कानुन, शिक्षकले भने सो कामका लागि आवेदन दिएमा पनि जागिर चट हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही असार १५ गते प्रमाणीकरण भई कार्यान्वयन प्रारम्भ भएको शिक्षा ऐन २०७३ ले शिक्षकका लागि त्यस्तो कडा कानुन बनाएको हो । तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पालामा विदेशमा स्थायी बसोबासका लागि अनुमति लिने निजामती कर्मचारीलाई हटाउने अभियान प्रारम्भ गरी त्यससम्बन्धी कानुन आएको थियो । व्यवस्थापिका–संसद्बाट गत २०७२ चैत १४ मा निजामती सेवा ऐन लागू भएपछि ९१ दिनभित्र विदेशमा स्थायी आवासी अनुमति वा जागिरमध्ये एक रोज्न भनेको छ । त्यसको अन्तिम मिति आउँदो साउन मसान्तसम्म छ । शिक्षा मन्त्रालयले त्यसभन्दा अघि बढेर स्थायी आवासका लागि विदेशका अनुमति पाउन आवेदन दिएको थाहा पाएमा पनि आफ्ना शिक्षकलाई हटाउने गरी कानुन संशोधन गराएको छ । सो संशोधित ऐन व्यवस्थापिका–संसद्बाट गत जेठ २२ गते पारित भएको थियो । संशोधित शिक्षा ऐनले शिक्षकलाई रोज्ने ऐनको दफा १६ ९२० मा भनिएको छ, “स्थायी आवासीय अनुमति लिन नहुनेः सामुदायिक विद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन दिन हुँदैन । यो दफा प्रारम्भ हुनुअघि कसैले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्न आवेदन गरेको भए त्यस्तो शिक्षक वा कर्मचारीलाई भविष्यमा निजले काम गरेको सेवामा अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ ।” ‘स्थायी आवासीय अनुमति’ भन्नाले विदेशी मुलुकले कुनै सर्त तोकी वा सो मुलुकमा स्थायी रुपले बसोबास गर्न पाउने गरी नेपाली नागरिकलाई उपलब्ध गराएको डाइभरसिटी इमिग्रेन्ट प्रवेशाज्ञा (डिभी) परमानेन्ट रेजिडेन्ट प्रवेशाज्ञा (पिआर) वा ग्रीन कार्र्ड सम्झनुपर्ने शिक्षा ऐनको व्याख्या छ । सो शब्दले नेपाली नागरिकलाई विदेशमा स्थायी रुपमा बसोबास गर्न दिइएको जुनसुकै नामको स्थायी आवासीय अनुमतिलाई समेत जनाउँछ । हाल करिब ३४ हजार सामुदायिक विद्यालयमा एक लाख सात हजार शिक्षक कार्यरत छन् । यसमध्ये करिब ३०० ले डिभी र पिआर लिएको आशङ्का छ । शिक्षा मन्त्रालयले प्रवक्ता डा हरि लम्सालको संयोजकत्वमा ऐनबमोजिम शिक्षकको आन्तरिक र खुला विज्ञापन खोल्नेलगायत अन्य व्यवस्थाको कार्यान्वयनका लागि नयाँ नियमावली बनाउन कार्यदल बनाएको छ । संयोजक लम्सालले नियमावली आएपछि ऐनको विस्तृत कार्यान्वयन हुने बताए । शिक्षाको ऐनको संशोधनलाई मूलरुपमा स्वागत गरिसकेको नेपाल शिक्षक महासङ्घको एक घटक नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष बाबुराम थापाले भने “शिक्षा ऐनमा आएको डिभी र पिआर लिएका वा लिन चाहने शिक्षकलाई हटाउने व्यवस्था राष्ट्रियताका दृष्टिले सकारात्मक छ । हामी यसको कार्यान्वयनमा सहयोग गर्छौ ।” रासस

गेट कलेजको पूर्वविद्यार्थी सम्मेलन सम्पन्न

काठमाडौं, २० असार । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज)को पहिलो पूर्वविद्यार्थी सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलानले विवेक पौडलको अध्यक्षतामा गेट आल्मुनाइ फोरम गठन गरेको छ । राजधानीको मण्डिखाटारस्थित रहेको गेट कलेजले विगत नौ वर्षदेखि नेपालमा विश्वस्तरीय होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको छ । “नेपालमै अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापनको डिग्री लिन चाहने हामी युवाका लागि गेट कलेजले एउटा अवसर प्रदान गरिदियो,” हाल गोकर्ण फरेस्ट रिसोर्टका प्रबन्धक रहेका पौडलले सम्मेलनमा भने, “गेट कलेजमा अध्ययन गरेका विद्यार्थीहरू आज हामी नेपालका विभिन्न पाँच तारे होटलदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न निकायहरूका कार्यरत छौं ।” सम्मेलनमा दिइएको जानकारीअनुसार गेट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरू अष्ट्रेलिया, जर्मनी, हङकङ, यूएइए, बहराइन, कतार, मलेसिया र चीनमा अभ्यासरत छन् । सन् २००७ मा सुरु भएको कलेजबाट हालसम्म ३९१ जनाले अध्ययन पूरा गरेका छन् र हाल ३२५ जना विद्यार्थीहरू अध्ययनरत रहेका कलेजले बताएको छ । यसबाहेक गेट कलेजको भातृ संस्था गेट भोकेनसलतर्फ २००० जनाले होटल व्यवस्थापनका विभिन्न आयाममा आवधिक प्रशिक्षण पूरा गरिसकेका छन् । गेट भोकेसनलतर्फ अष्ट्रेलिया सरकारको शैक्षिक प्रतिष्ठान टेफको मान्यताप्राप्त कोर्ष नियमित सञ्चालनमा छ । गेट भोकेसनलको कोर्षलाई सीटीईभीटीद्वारा मान्यता प्रदान गरिएको छ भने त्रिभुवन विश्वविद्यालयले गेटको एकेडेमिक कोर्षलाई मान्यता प्रदान गरेको छ । “गेट कलेजमा हामी नेपाली विद्यार्थीले मात्र नभइ विभिन्न १६ देशका विद्यार्थीले अध्ययन पूरा गरेका छन्,” पौडेलले भने । कार्यक्रममा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले होटल व्यवस्थापन शिक्षाको अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रयोगात्मक पक्षमा बढी ध्यान दिइएको कारणले नै कलेजको शिक्षा विशिष्ट रहेको बताएका छन् । “गेट कलेज मूल्य, मान्यता, नैतिकतायुक्त र स्वच्छ शैक्षिक वातावरणमा विश्वास राख्दछ । हामी यस कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको उज्ज्वल भविष्य र उनीहरूको गुणस्तरीय शैक्षिकस्तरप्रति पूर्ण प्रतिबद्ध छौं,” लकाईंले भने । उनले कलेजले गुणस्तरीय शैक्षिक स्तर कामय गर्नमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्मेलनमा गेट कलेजको पहिलो ब्याचदेखि एघारौं ब्याचसम्मका नेपाल तथा विभिन्न मुलुकमा होटल, रेष्टुराँ, ट्राभल एजेन्सी र अन्य निकायमा संलग्न, आफ्नै स्वःव्यवसायमा संलग्न करिब सयजना विद्यार्थीको सहभागिता थियो । यस्तो सम्मेलन हरेक वर्ष आयोजना गरिने रहेको गेट आल्मुनाइ फोरमका अध्यक्ष विवेक पौडेलले जानकारी दिएका छन् ।