एनसेलले ल्यायो नाईट डेटा प्याक, १० पैसामा प्रति एमबि ईन्टरनेट
काठमाडौं, १४ असार । एनसेलका ग्राहकले अब रातको समयमा अझै सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्ने भएका छन् । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ईन्टरनेट सेवा कर बाहेक १० पैसा प्रति एमबि सम्म प्रयोग गर्न सकिने गरी ‘नाईट डेटा प्याक’ ल्याएको छ । यही बुधबार (असार १५, २०७३) बाट सुचारु हुने यो योजनामा ग्राहकले आफ्नो आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा मासिक नाईट डेटा प्याक खरिद गरी रातको १० बजे देखि बिहान ६ बजे सम्म अझ सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्छन् । ४० एमवि डेटा रहेको दैनिक नाईट डेटा प्याक ग्राहकले रु ८ मा खरिद गर्न सक्छन् । यो प्याकको समयावधि २४ घण्टा रहेको छ । साथै २५० एमबि डेटा भोल्युम भएको सातदिन सम्म मान्य हुने साप्ताहिक नाईट डेटा प्याकको मूल्य रु ४० रेहको छ भने ग्राहकले १००० एमबि डेटा भोल्युम रहेको मासिक नाईट डेटा प्याक मात्र रु १०० मा खरिद गर्न सक्छन् । अर्थात् मासिक नाइट डेटा प्याक खरिद गर्दा ग्राहकले अब मात्र १० पैसा प्रति एमबिमा ईन्टरनेट चलाउन सक्छन् । यी नाईट डेटा प्याकका मुल्यहरु कर बाहेकका हुन् । ग्राहकले यी नाईट प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सक्छन् । साथै आफूले लिन चाहेको प्याकको भोल्युम टाईप गरी स्पेस राखेर अंग्रजीमा ‘एन’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ । उदाहरणका लागि एक दिने नाईट डेटा प्याक लिन चाहने ग्राहकले अंग्रजीमा ४० लेखी स्पेस दिएर अंग्रजीमा एन टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक सुचारु गर्न सक्छन् । “सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता बमोजिम आफ्ना ग्राहकका लागि नाइट डेटा प्याक ल्याउन पाउँदा हामी हर्षित छौं । यसले रातको समयमा डेटा उपयोग गर्ने ग्राहकलाई विशेष लाभ प्रदान गर्ने विश्वास छ ।” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । आफ्नो आवश्यकता अनुसार ग्राहकले यी प्याकहरु जति पटक पनि लिन सक्छन् । प्याकको समयावधि रहँदै डेटा भोल्युम उपभोग भएमा ग्राहकले बाँकी अवधिको राति १० बजे देखि बिहान ६ बजे सम्म ५० पैसा प्रति एमबिका दरले डेटा सेवा प्रगोग गर्न सक्नेछन् । यो योजना १५ दिनसम्म संचालनमा रहने छ ।
राजधानीमा पुर्वाञ्चल युनिभर्सीटी एजुकेशन फेयर हुने
काठमाडौं, १४ असार । राजधानीमा पूर्वाञ्चल विश्वविद्यालय एजुकेशन फेयर २०१६ हुने भएकको छ । पुर्वाञ्चल विश्वविद्यालयले आयोजना गर्ने फेयर त्रिपुरेश्वरस्थित वल्र्ट ट्रेड सेन्टरमा असार १७ देखि २० गतेसम्म सञ्चालन हुनेछ । फेयरमा विश्वविद्यालयमा सञ्चालित इन्जिनियरिङ, जेनरल साइन्स, हेल्थ साइन्स, मेनेजमेन्ट, फेसन डिजाइन, वायोमेडिकल इन्जिनियरिङ, एग्रिकल्चर भेटनरी, कम्प्यूटर, मास कम्यूनिकसेन, ल र लिभरल आर्टस लगायतका विषय अध्यापन गराइरहेका ६० भन्दा बढी कलेजहरुको सहभागिता रहनेछ । फेयरमा फेसन सो र फुड स्टल पनि समावेश गरिने आयोजकले जनाएका छन । फेयरमा शैक्षिक परामर्श, प्रेजेन्टेसन र सेमिनारहरुमा पनि विद्यार्थीहरु सहभागीता जनाउने अवसर पाउनेछन् ।अवलोकनमा आउने विद्यार्थीलाई विभिन्न शिर्षकमा छात्रवृद्धि, एजुकेसन लोनसहितको सुबिधा प्रदान गरिने आयोजकले जनाएका छन् ।
पोखरामा असारे रोपाइँ महोत्सव बुधबार
पोखरा, १४ असार । पोखरा पर्यटन परिषद्को आयोजनामा यही असार १५ गते यहाँ १३ औँ असारे रोपाइँ महोत्सव हुँदैछ । महोत्सव मूल आयोजक समितिका संयोजक डम्बरबहादुर केसीले महोत्सवमा विभिन्न नौ प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, असारे खाजाको कक्ष लगायत रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । महोत्सवमा स्वदेशी पर्यटकका साथै विदेशी पर्यटक सहभागी हुने छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा, महासचिव रामु गौतम, परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई, पर्यटन व्यवसायी वासु त्रिपाठी लगायतले परम्परागत कृषिको महत्वको बोध गराउनाका साथै कृषिप्रतिको बढ्दो अनाकर्षण घटाउँदै खेती गर्नुपर्छ भन्ने भावना जागृत गराउन महोत्सव उपयोगी बन्ने विश्वास व्यक्त गरे । बाह्र वर्षयता लागातार रुपमा सञ्चालन गरिँदै आएको यो महोत्सव यस पटक पोखरा उपमहानरपालिका–१७ महतगौँडामा हुने छ । रासस