कानुनी अपराधमा कान्ति बाल, निजी ल्याबको रिपोर्ट आफ्नो भन्दै हस्ताक्षर

काठमाडौं । कान्ति बाल अस्पतालमा गम्भीर प्रशासनिक कमजोरी तथा पेशागत आचारसंहिता उल्लंघन भएको सार्वजनिक भएको छ । अस्पतालले बाहिरका निजी प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टलाई प्रतिलिपि गरी आफ्नै प्रयोगशालाबाट जारी भएको जस्तो देखाउँदै बिरामीलाई वितरण गरेको प्रमाण फेला परेको हो । विकासन्युजलाई प्राप्त कागजात र प्रमाणअनुसार अस्पतालले खरिद गरेको एकीकृत प्रयोगशाला प्रणाली प्रभावकारी रूपमा सञ्चालन हुन नसकेपछि समस्या ढाकछोप गर्न यस्तो अभ्यास अपनाइएको देखिएको हो । अस्पतालले सेरो डाइग्नोष्टिक कम्पनीसँग ८ करोड ५५ लाख ६७ हजार ९५७ रुपैयाँमा प्रयोगशाला उपकरण तथा सेवा खरिद गरेको थियो । तर, उक्त प्रणालीले अपेक्षित रूपमा काम नगरेपछि परीक्षण सेवा प्रभावित बनेको स्रोतहरूको दाबी छ । प्राप्त विवरणअनुसार अस्पतालले बिरामीका नमुना संकलन गरी बाहिरी प्रयोगशालामा पठाउने र त्यहाँबाट आएको रिपोर्टलाई आफ्नै प्रयोगशालाको प्रतिवेदनका रूपमा प्रस्तुत गर्ने गरेको भेटिएको छ । यस क्रममा वास्तविक परीक्षण गर्ने संस्थाको विवरण लुकाइँदै अस्पतालका कर्मचारीले हस्ताक्षर गरेर रिपोर्ट प्रमाणित गर्ने गरिएको पाइएको छ । जसले संस्थाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको जानकारहरूले बताएका छन् । विशेषगरी नेपाल स्वास्थ्य व्यवसायी परिषदको आचारसंहिताअनुसार स्वास्थ्यकर्मीले आफूले गरेको कामप्रति व्यक्तिगत रूपमा जिम्मेवार हुनुपर्ने व्यवस्था छ । नियम १३ (च) ले स्वास्थ्य सेवा प्रदायकले आफूले सम्पन्न नगरेको कार्यको जिम्मेवारी लिन नमिल्ने स्पष्ट उल्लेख गरेको छ । तर, कान्तिमा भने बाहिरी ल्याबमा गरिएको परीक्षणमा आफ्नै प्राविधिकको हस्ताक्षर गरेर अस्पतालकै रिपोर्टका रूपमा वितरण गरिएको पाइएको छ । अस्पताल स्रोतका अनुसार नमुनाहरू निदान अस्पताल हुँदै रिलाएबल डाइग्नोष्टिकमा पठाइने र त्यहाँ परीक्षणपछि पुनः कान्तिमा फर्काइने गरेको छ । तर, अन्तिम रिपोर्टमा बाहिरी संस्थाको संलग्नता उल्लेख नगरी कान्तिकै प्रतिवेदनका रूपमा प्रस्तुत गरिएको भेटिएको हो । उदाहरणका रूपमा वैशाख ४ गते एक ४ वर्षीय बालकको नमुना कान्तिबाट निदान पठाइएको र त्यहाँबाट रिलाएबलमा परीक्षणपछि आएको रिपोर्टलाई कान्तिका प्राविधिकले हस्ताक्षर गरी वितरण गरेको प्रमाण भेटिएको छ । यस्ता सयौं नमुनामा बाहिरी विशेषज्ञहरूको हस्ताक्षर भए पनि अन्तिम रूपमा कान्तिकै कर्मचारीले प्रमाणीकरण गरेको कागजात सुरक्षित रहेका छन् । यस विषयमा प्रतिक्रिया दिँदै परिषद्का सूचना अधिकारी शितल बस्नेतले एउटा प्रयोगशालामा गरिएको परीक्षण अर्को संस्थाले आफ्नै भन्दै प्रस्तुत गर्नु गैरकानुनी र आचारसंहिता विपरीतको कार्य भएको स्पष्ट पारे । ‘यसले बिरामीको उपचार प्रक्रियामा प्रत्यक्ष असर पार्न सक्छ,’ उनले भने । बस्नेतका अनुसार यस्तो अभ्यासले गलत वा अप्रमाणित रिपोर्टका आधारमा उपचार हुने जोखिम बढाउँछ । जसले बिरामीको ज्यानसमेत जोखिममा पार्न सक्ने बस्नेतले जानकारी दिए । कान्तिकै एक पूर्व प्रयोगशाला प्रमुखले भने, ‘यस्तो संवेदनशील क्षेत्रमा तथ्य लुकाएर रिपोर्ट जारी गर्नु अत्यन्त गम्भीर र लज्जास्पद विषय हो ।’  अस्पताल प्रशासन भने यस विषयमा स्पष्ट रूपमा जवाफ दिन तयार देखिएको छैन । अस्पतालका प्रमुख डा. पंकज रायले प्रयोगशालासम्बन्धी विषय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे । उनले भने, ‘प्रयोगशालाको क्षेत्रको प्रतिक्रिया विभागीय प्रमुख डा.मोनी सुवेदीसँग लिनूहोला ।’ तर, डा. सुवेदीले भने औपचारिक छलफलपछि मात्रै धारणा सार्वजनिक गर्ने बताइन् ।  यस विषयमा हामीले अस्पताल विकास समितिका अध्यक्ष श्रीराम सुवेदीलाई साेध्दा आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘म त्यति जानकार त होइन तर त्यसरी एउटा ल्याबको रिपोर्ट कान्तिले ल्याएर कपी गरेको रहेछ भने त्यो ठीक भएन ।’ स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीका अनुसार एक ल्याबको रिपोर्ट अर्को ल्याबले आफ्नो भनेर बिरामीलाई दिनु मेडिकल अभ्यासमा राम्रो मानिँदैन । अस्पतालकै केही प्राविधिक कर्मचारीहरूले भने आफूहरूले माथिल्लो तहको निर्देशनअनुसार बाहिरी रिपोर्ट प्रतिलिपि गरी हस्ताक्षर गरेको स्वीकार गरेका छन् । ‘हामीले आदेशअनुसार काम गरेका हौं,’ एक कर्मचारीले भने। यस घटनाले सरकारी स्वास्थ्य संस्थामा पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय सेवा प्रवाहमाथि गम्भीर प्रश्न खडा गरेको छ । सम्बन्धित निकायबाट छानबिन र जिम्मेवार व्यक्तिमाथि कारबाहीको माग बढ्दो छ । सम्बन्धित सामग्री :  बदमासी ढाकछोप गर्न कर्मचारीको सातो खाँदै प्रशासन कान्ति बाल अस्पतालमा बदमासी : अत्याधुनिक मेसिन थन्क्याएर निजी ल्याबमा परीक्षण

महासंघको नयाँ कार्यसमितिमा स्वास्थ्य क्षेत्रका चार सदस्य निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा स्वास्थ्य क्षेत्रबाट चारजना प्रतिनिधि निर्वाचित भएका छन् ।  एसोसिएटतर्फ ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी,फर्च्यूना हेल्थ केयरका बाबुकाजी कार्की निर्वाचित भएका छन् भने वस्तुगततर्फ रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान)का अध्यक्ष भक्तबहादुर हमाल र नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी निर्वाचित भएका छन् ।  निर्वाचन समितिका अनुसार भण्डारीले १ हजार ४३ मत प्राप्त गर्दै जित हात पारेका हुन् भने कार्कीले १ हजार ६ मत प्राप्त गर्दै जितेका हुन् । अधिकारी र उनका प्रतिस्पर्धीबीच समान मत आएपछि दुवैले आधा–आधा कार्यकाल सम्हाल्ने सहमति गरेका छन् ।    

पर्यटन बोर्डको निमित्त सीईओको जिम्मेवारी हिक्मत सिंह ऐरलाई

काठमाडौं। नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सोमबार गरेको निर्णय अनुसार ऐरलाई कार्यालय प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने गरी जिम्मेवारी तोकिएको हो । सरकारले अध्यादेश ल्याएपछि  बोर्डका सीईओ दीपकराज जोशीलाई पदमुक्त भएका थिए । अध्यादेशपछि बोर्डको नेतृत्व रिक्त बनेको थियो । सोही रिक्तता पूर्ति गर्न तत्कालका लागि वरिष्ठताको आधारमा ऐरलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो । मन्त्रालयले परिपत्र जारी गर्दै ऐरले बोर्डको दैनिक प्रशासन, नीति कार्यान्वयन, कार्यक्रम समन्वय तथा पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधिहरू सञ्चालन गर्नेछन् । बोर्डका नियमित कार्यहरू अवरुद्ध नहुने गरी व्यवस्थापनलाई निरन्तरता दिन उनलाई यो जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ। बोर्डभित्र लामो समयदेखि कार्यरत ऐर पर्यटन क्षेत्रको प्रशासनिक तथा व्यवस्थापकीय अनुभव भएका वरिष्ठ निर्देशक हुन् । उनले यसअघि विभिन्न परियोजना तथा बोर्डका कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । पर्यटन क्षेत्रका सरोकारवालाहरूले बोर्ड नेतृत्वमा आएको परिवर्तनले नीतिगत निरन्तरता र कार्यक्रम कार्यान्वयनमा नियमितरुपमा सञ्चालन हुने प्रतिक्रिया दिएका छन् ।‌ हाल ऐरको नेतृत्वमा बोर्डले पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजारमा नेपालको उपस्थितिलाई मजबुत बनाउने तथा आन्तरिक व्यवस्थापनलाई चुस्त बनाउने कार्यलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।