३४ वर्षपछि ९७७ नयाँ दरबन्दी थप्ने तयारीमा स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवामा ९७७ नयाँ दरबन्दी थप्ने भएको छ । स्वास्थ्य मन्त्री निशा मेहताको पहलमा स्वास्थ्य सेवा प्राविधिक तथा विशेषज्ञ स्थायी दरबन्दी सिर्जना गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साढे तीन दशकपछि स्वास्थ्य सेवामा दरबन्दी थपको पहलले स्वास्थ्य सेवाका लागि ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्वास्थ्यमन्त्रीको प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेकाले अब मन्त्रिपरिषदबाट अन्तिम निर्णयमा पुग्ने जनाइएको छ । नेपालको स्वास्थ्य संरचना तथा दरबन्दी अन्तिमपटक विसं २०४८ मा निर्धारण गरिएको थियो । त्यो बेला नेपालको जनसंख्या करिब एक करोड ८० लाख रहेकोमा अहिले बढेर करिब तीन करोड पुगेको छ । तर, स्वास्थ्य सेवाको स्थायी जनशक्ति संरचना भने पुरानै ढाँचामा सीमित रहँदा अस्पताल, स्वास्थ्य संस्था तथा विशेषज्ञ सेवामा जनशक्ति अभाव रहँदै आएको छ । स्वास्थ्य क्षेत्रमा चासो राख्नेहरू लामो समयदेखि दरबन्दी थप हुनुपर्ने माग राख्दै आएका थिए ।
१२ अर्बमा सिएमसी काठमाडौं र साढे २ अर्बमा सिएमसी हेटौंडा बन्दै
काठमाडौं । चितवन मेडिकल कलेज (सिएमसी) ले संघीय राजधानी काठमाडौंको तीनकुने र बागमती प्रदेश राजधानी मकवानपुरको हेटौंडामा अति विशिष्टिकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ । यसका लागि काठमाडौंमा अत्याधुनिक अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौंडामा भने भवन निर्माण गर्न हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाडौंको नामबाट आगामी दशैँको घटस्थापनादेखि अस्पताल सञ्चालन हुने जानकारी दिए । १७ रोपनी जमिनमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालन गर्न लागिएको हो । सञ्चालनको सुरुआतमा नै भारतको मेदान्त अस्पतालले यसको व्यवस्थापन गर्ने उनले बताए । अस्पतालमा क्यान्सरसहित अति विशिष्टिकृत सेवा हुने छ । प्रा.डा. न्यौपानेले भने, ‘विश्वका सुविधा सम्पन्न अस्पतालले दिन सक्ने सेवा दिने गरी ठूलो लगानीमा अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालन गर्दैछौँ ।’ ३ सय शय्याको यस अस्पतालले प्रमुख रुपमा क्यान्सरको उपचार गर्ने छ भने यससँगै सबै खालका विशेषज्ञ सेवा अस्पतालले दिने छ । अनुभवी विशेषज्ञ चिकित्सकहरूले अस्पतालबाट सेवा दिने छन् । नेपाली लगानीको निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल हुने उनले दावि समेत गरे । यस अस्पताल सञ्चालनमा आएसँगै भारत लगायतका देशहरू जाने बिरामीले सोही अनुरुपको सेवा स्वदेशमा पाउने प्रा.डा न्यौपानेले बताए । उनका अनुसार सिएमसी हेटौंडा अस्पतालको निर्माण थालिएको छ । हेटौंडा उपमहानगरपालिका-४ मा अवस्थित, राजमार्गसँगै १९ कट्ठा जमिनमा निर्माण थालिएको हो । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रताप देवकोटाले वि.सं २०८४ को दशैँबाट सेवा सुरु गर्ने गरी १ सय शय्या अति विशिष्टिकृत अस्पताल सञ्चालन गर्न लागिएको जानकारी दिए । २ अर्ब ५० करोड रुपैयाँ हाराहारी लगानी हुने अनुमान गरिएको छ । सिएमसीको नेतृत्वमा स्थानीय समेत साझेदार रहेको यस अस्पताल सुरु भएसँगै मकवानपुर र आसपासका जिल्लाका बासिन्दा लाभान्वित हुने उनको भनाइ छ । सँगै स्थानीयले रोजगारीको अवसर पाउने भएका छन् । हाल ती क्षेत्रका बिरामी विशिष्टिकृत सेवाका लागि भरतपुर, काठमाडौं र भारतसमेत जानुपर्ने बाध्यता रहेको छ । २० वर्षअघि भरतपुर महानगरपालिका-१० मा स्थापना भएको चितवन मेडिकल कलेजले ७ सय शय्याबाट सेवा दिँदै आएको छ । नेपालका मेडिकल कलेजहरूमा धेरै बिरामी हुनेमध्येको यस अस्पतालले त्रिभुवन विश्वविद्यालयका स्वास्थ्यका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सेवा प्रवाह सुधार्न मातहतका निकायलाई शिक्षामन्त्री पोखरेलको निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनतालाई आशातीत तुल्याउने गरी सेवा प्रवाह चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् । बुधबार (आज) मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सेवाग्राहीका समस्या नागरिकका सरोकार र आम जनतालाई केन्द्रमा राखेर सेवा प्रणालीलाई सरल, सहज र परिणाममुखी बनाउन जोड दिएका हुन् । सरकारको प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले वर्तमान सरकारले नीतिगत तथा संरचनागत सुधारमार्फत सुशासन प्रवद्र्धन गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा काम गरिरहेको बताए । उनले सबै निकायलाई वार्षिक योजना तथा कार्यक्रम लक्ष्यअनुसार सम्पन्न गरी विकास र आर्थिक समृद्धिको लक्ष्यमा योगदान पुर्याउन आग्रह गरे । बैठकमा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्षको नौ महिनामा ६४ प्रतिशत वित्तीय प्रगती हासिल भएको छ भने भौतिक प्रगती ७० प्रतिशत भन्दामाथि पुगेको छ । समीक्षा अवधिमा सञ्चालनमा रहेका कार्यक्रमहरुको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र निर्धारित समयभित्र लक्ष्य हासिल हुने अपेक्षा गरिएको निष्कर्ष निकालिएको छ । मन्त्रालयका योजना तथा अनुगमन महाशाका प्रमुख एवं सहसचिव शिवकुमार सापकोटाले प्रगति विवरण प्रस्तुत गरेका थिए भने विभिन्न निकायका प्रमुखहरुले आ-आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए । तीन महिनामा लक्षित कार्यक्रमहरुको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र आर्थिक वर्षभित्र वार्षिक रुपमा लक्षित कार्यक्रम पुरा हुनेक्रममा रहेको बैठकले निष्कर्ष निकालेको छ । बैठकमा राष्ट्रिय योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका अधिकारी तथा मन्त्रालय मातह विभिन्न निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।