त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित एक विदेशी पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजा र भाङको तेल जस्तो देखिने तरल पदार्थ रहेको एक दशमलव २५ लिटरको पाँच थान बोतलसहित एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागरिक राहदानी नम्बर ए ८३४८८४८७ वाहक ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । उनले भने, 'एअर इण्डियाको उडान नम्बर एआइ २१८ मा काठमाडौंबाट दिल्ली जान लागेका निजले लिई आएको लगेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा शङ्कास्पद देखिएपछि खोल्न लगाई हेर्दा गाँजा/भाङको जस्तो देखिने तेल एक दशमवल २५ लिटरको बोतल पाँच थान फेला पारिएको हो । पक्राउ परेका निज अमेरिकी नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोबाट विमानस्थलमा खटिएको प्रहरी टोलीको जिम्मा लगाइएको प्रवक्ता सिलवालले बताए ।
पनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न ‘फुड–बैंक’
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित पनौतीमा प्रविधिको प्रयोगद्वारा तरकारी तथा फलफूलका विषादीको अवशेष न्यूनीकरण गर्न फुड बैंक सञ्चालनमा ल्याइएको छ । पनौती नगरपालिका–४ स्थित ठाडोबाटोमा राष्ट्रिय कृषि कम्पनी नेपालको सहायक कम्पनी आरकेसिएनएल फुड बैंक लिमिटेडले सो ‘फुड बैंक’ सञ्चालनमा ल्याएको हो । कम्पनीले ‘ओजोन वास’ प्रविधिद्वारा तरकारी तथा फलफूलको बाहिरी भागमा रहेको विषादीको अवशेषलाई ९९ प्रतिशतसम्म कम गर्ने जनाएको छ । उक्त प्रविधियुक्त फुड बैंकमा स्थानीयस्तरमै उत्पादन भएको तरकारी–फलफूललाई ‘ओजोन वास’ गरी उपभोक्तालाई उपलब्ध गराइने फुड बैंकका अध्यक्ष विशाल हुमागाईँले बताए । 'फुड बैंकमार्फत कृषक र उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्य राखेका छौँ, यसले बिचौलियालाई समावेश हुन दिँदैन', उनले भने । लिमिटेडले शनिबार औपचारिक कार्यक्रमका बीच फुड बैंकको शुभारम्भ गरेको हो । विशेषगरी काभ्रेपलाञ्चोकको तीन स्थानीय तह पनौती, बेथानचोक र बनेपाका कृषकलाई समेटेर पहिलो चरणमा कार्यक्रम सुरु गरिएको अध्यक्ष हुमागाईले जानकारी दिए । उनका अनुसार क्रमशः जिल्लाका करिब ६० हजार कृषकसम्म यो कार्यक्रम विस्तार गर्ने लक्ष्य राखिएको छ । उक्त फुड बैंकमा ताजा तरकारी र फलफूल सङ्कलन गर्दै ओजोन वास गरी बिक्री वितरणका लागि राखिनेछ । बैंकमा पाँच हजार केजी क्षमताका दुई शीत भण्डारकोसमेत व्यवस्था गरिएको छ । कम्पनीले प्रयोगमा ल्याएको ओजोन वास प्रविधिअन्तर्गत ओजोनयुक्त पानी प्रयोग गरी तरकारी तथा फलफूलमा रहेका विषादी अवेष न्यूनीकरण गर्दै जीवाणुसमेत नष्ट गरिन्छ । यसले कीटनाशक अवशेष हटाउने, दुर्गन्ध तथा हानिकारक तत्व हटाउने, साथै खाद्य पदार्थको ‘सेल्फ लाइफ’ बढाउने काम जनाइएको छ । यस प्रविधिबाट उपभोक्ताले सुरक्षित र स्वास्थ्यकर खाद्य पदार्थ उपभोग गर्न पाउने विश्वास गरिएको छ । यस्तो प्रविधि जिल्लामै पहिलोपटक सञ्चालनमा ल्याइएको हो । रासस
अन्नपूर्ण आधार शिविर : प्रकृति र आत्मचिनारीको संगम (फोटो फिचर)
काठमाडौं । विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यमध्येको एक अन्नपूर्ण आधार शिविर यतिबेला पदयात्रीहरूको रोजाइमा परेको छ । समुन्द्री सतहदेखि ४ हजार १ सय ३० मिटरको उचाईमा अवस्थित यो क्षेत्र प्राकृतिक सौन्दर्य र हिमाली दृश्यका लागि प्रख्यात छ । यात्राको शुरुवात र सौन्दर्य यात्राको प्रवेशद्वार पोखराको फेवातालको मनमोहक रात्रिकालीन दृश्यबाट शुरु हुने यो यात्रा, पदयात्रीहरूका लागि एउटा सपनाको यात्रा जस्तै बन्दछ । उकाली–ओराली, ढुङ्गे खुड्किलाहरू, र कतै गहिरा खोँचहरू पार गर्दै जाँदा देखिने कलकल बग्ने झरना र नीलो कञ्चन पानीका खोलाहरूले यात्राको थकान मेटाइदिन्छन् । हिमालको काखमा रमाउँदा अन्नपूर्ण र माछापुच्छ्रे जस्ता विश्व प्रसिद्ध हिमालहरूलाई आँखा अगाडि देख्दा पदयात्रीहरू मन्त्रमुग्ध हुन्छन् । ४,०६० मिटर उचाईमा रहेको ‘कागभुसुन्डी डाँडा’ जस्ता बिन्दुहरूबाट देखिने दृश्यहरू अतुलनीय छन् । हिउँले ढाकिएका चुचुराहरू, बादलले छोपिएका पहाडहरू र चिसो सिरेटोका बीच हिउँका मानव बनाएर रमाउने पदयात्रीहरूको संख्या पनि उल्लेख्य छ । वनस्पति र वन्यजन्तुको सान्निध्य यस क्षेत्रमा पाइने अल्पाइन फूलहरू, लेकाली रुखहरू र ढुङ्गाका कापमा उम्रिएका लेउहरूले यस क्षेत्रको जैविक विविधतालाई झल्काउँछन् । हिउँमा रमाउने स्थानीय भोटे कुकुरहरू र रंगीचंगी लुङ्ता (प्रार्थना झण्डाहरू) ले यस पदयात्रालाई सांस्कृतिक र प्राकृतिक रूपमा थप समृद्ध बनाएका छन् । पदयात्रीहरूको उत्साह पदयात्राका क्रममा भेटिने क्याम्पिङ साइटहरूमा रङ्गीबिरङ्गी टेन्टहरूमा बसेर रात बिताउनुको छुट्टै आनन्द छ । अग्ला चट्टानी पहाडहरू र छाँगाहरूबाट झरेका झरनाहरूले यो क्षेत्रलाई पृथ्वीको एउटा सानो स्वर्गको रूपमा चिनाएका छन् । अन्नपूर्ण पदयात्रा केवल एक हिँडाइ मात्र नभएर प्रकृतिको नजिक पुग्ने र आफैँलाई चिन्न पाउने एक महत्वपूर्ण अवसर हो भन्नेकुरा यहाँ पुग्ने जो कोहीले महशुस गर्दछन् ।