सरकारी वेबसाइटमा नयाँ पहुँच सुविधा, सबैका लागि प्रयोगमैत्री बनाइँदै

काठमाडौं । सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ । सरकारी एकीकृत बेवसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस पहलले विशेषगरी अपांगता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए । विभागका अनुसार अब सरकारी वेबसाइटहरू किबोर्डको प्रयोगबाट मात्र पनि सहज रूपमा सञ्चालन गर्न सकिनेछ । यसअन्तर्गत प्रयोगकर्ताले माउस प्रयोग नगरीकनै वेबसाइटको सम्पूर्ण भागमा पहुँच पाउन सक्नेछन् । साथै, ‘स्किप नेभिगेसन’ लिंकको व्यवस्था गरिएकाले किबोर्ड तथा स्क्रिन रिडर प्रयोग गर्ने व्यक्तिहरूले सबै नेभिगेसन सामग्री छोडेर सिधै मुख्य विषयवस्तुमा जान सक्ने सुविधा प्राप्त गर्नेछन् । वेबसाइटमा राखिएका सबै महत्वपूर्ण तस्वीर, लोगो, चिह्न तथा सेवा सम्बन्धी तस्बिरहरूमा ‘अल्ट टेक्स्ट’ राखिएको विभागले जनाएको छ । जसले स्क्रिन रिडर प्रयोगकर्तालाई सामग्री बुझ्न सहज बनाउनेछ । त्यस्तै, फाराम भर्ने क्रममा आउने त्रुटि सन्देश र सुझावहरू पनि अब सजिलै सुन्न र बुझ्न सकिने गरी तयार पारिएको छ ।   सर्च, सम्पर्क फारामजस्ता सबै इनपुट क्षेत्रमा स्पष्ट नाम र चिन्ह राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई सजिलै प्रयोग गर्न मद्दत पुर्याउने विभागले जनाएको छ । त्यस्तै, किबोर्ड प्रयोगकर्ताका लागि वेबसाइटभित्र आफू कुन स्थानमा छु भन्ने कुरा स्पष्ट देखिने गरी दृश्य संकेतहरू पनि समावेश गरिएको छ । यसैगरी, फाराम पेश गरेपछि प्राप्त हुने सन्देशहरू पनि स्क्रिन रिडर प्रयोगकर्ताले सजिलै थाहा पाउने गरी व्यवस्था गरिएको छ । यी सुधारहरू सामान्य प्रयोगकर्ताका लागि प्रत्यक्ष रूपमा धेरै देखिने परिवर्तन नदेखिए पनि सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि भने अत्यन्त उपयोगी हुने विभागको भनाइ छ । यस्ता पहुँचमैत्री सुधारहरूले सबै नागरिकलाई समान रूपमा डिजिटल सेवामा पहुँच पुर्याउने लक्ष्यलाई थप मजबुत बनाउने विश्वास गरिएको महानिर्देशक साहले बताए । साथै, यसले समावेशी र प्रविधिमैत्री शासन प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उनको भनाई छ ।  

सात सय महिला सगरमाथामा

काठमाडौं । पछिल्लो समय सगरमाथाको चुचुरोमा पुग्ने महिलाहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । पर्यटन विभागले सार्वजनिक गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एण्ड फिगर-२०२५’ अनुसार हालसम्म सगरमाथा आरोहण गर्ने महिलाको संख्या ७०४ पुगेको छ । सन् १९७५ मे १६ मा जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर सगरमाथा आरोहण गर्ने पहिलो महिलाको उपमा पाएकी थिइन् । नेपालबाट भने पासाङल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो महिला हुन् । पछिल्लो एक दशकमा सगरमाथा आरोहण गर्ने महिलाको संख्या ४२५ जना रहेको छ । विभागको तथ्यांकअनुसार सन् २०१६ मा ४४ जना महिलाले सगरमाथामा पाइला टेकेकी थिइन् । सन् २०१५ मा भने एक जनाले पनि सगरमाथा चढेनन् । २०१५ मा नेपालमा भूकम्प जाँदा हिमाल आरोहण सिजन नै प्रभावित हुन पुगेको थियो । भूकम्पका कारण सगरमाथा बेस क्याम्पमा हिमपहिरो जाँदा कम्तीमा २२ जनाको ज्यान गुमाएका थिए । जुन सगरमाथा इतिहासकै एक दुःखद घटना मानिन्छ । सन् २०१६ मा ४४ जना महिलाले सगरमाथा आरोहण गरेका छन् । २०१७ मा सगरमाथा चढ्ने महिलाको संख्यामा केही कमी देखिएपनि १०१८ मा फेरि बढेको देखिन्छ । २०१७ मा ३३ जना महिलाले सगरमाथा आरोहण गरेकोमा २०१८ मा ५१ जनाले आरोहण गरेको देखिन्छ । त्यस्तै, २०१८ मा ५१ जनाले र २०१९ मा ६५ जनाले सगरमाथा आरोहण गरेका छन् । २०२० मा एक जनाले पनि सगरमाथा चढेका छैनन् । उक्त वर्ष विश्वर फैलिएको कोभिड–१९ महामारीको कारण आरोहण बन्द हुन पुगेको थियो । २०२१ मा ४४ जना, २०२२ मा ६९ जना, २०२३ मा ६६ जना र २०२४ मा ६३ जना महिलाले सगरमाथामा पाइला टेकेका छन् ।  विदेशी तथा नेपाली महिलाहरू पछिल्लो समय हिमाल आरोहणमा उत्साहका साथ सहभागी हुन थालेका छन् । पर्वतारोहण व्यवसायीहरूका अनुसार पुरुषको तुलनामा महिलाको संख्या अझै कम भए पनि उनीहरूको सक्रियता र आत्मविश्वास उल्लेखनीय रूपमा बढ्दो छ । विदेशी महिला आरोहीहरूले सहयोगीका रूपमा नेपाली महिलालाई नै प्राथमिकता दिन थालेपछि महिला गाइडहरूको संख्या पनि उल्लेखनीय रूपमा बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।  पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पाले अन्तर्राष्ट्रिय महिला आरोहीहरू प्रायः महिला गाइड वा सहायक खोज्ने गरेको जानकारी दिए । ‘अन्तर्राष्ट्रिय महिला आरोहीहरू आउँछन् र उनीहरू प्रायः महिला गाइड वा सहायक नै खोजिरहेका हुन्छन्,’ उनले भने । महिलाहरू विदेशमा सामान्य रोजगारीका लागि जानू नपरोस् र आफ्नै देशमै सम्मानजनक कामको अवसर सिर्जना होस् भन्ने उद्देश्यले पनि हिमाल आरोहण क्षेत्रमा महिलाको सहभागिता बढाउने प्रयास भइरहेको उनले बताए ।  उनका अनुसार हिमाल आरोहण इज्जतको काम हो, जसले व्यक्तिलाई शीर ठाडो पारेर हिँड्न सक्ने आत्मविश्वास दिन्छ । यस क्षेत्रमा नाम र दाम दुवै कमाउने सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘महिलाहरू पहिलेभन्दा अगाडि बढेका छन्, तर यो पर्याप्त भने होइन । अझै उनीहरूलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ । अहिले अवसरहरू पनि प्रशस्तै छन्, तर समाजलाई अझै सचेत गराउनुपर्ने देखिन्छ।’ विशेषगरी सुदूरपश्चिम क्षेत्रका मानिसहरू पर्यटन क्षेत्रमा कम संलग्न रहेको उल्लेख गर्दै उनले त्यहाँका महिलाहरूलाई पनि यस क्षेत्रमा आकर्षित गर्न पहल गर्नुपर्ने आवश्यकता औंल्याए । चुनौतीका हिसाबले महिलाहरूले विभिन्न अवरोधहरूको सामना गर्नुपरेको उनको भनाइ छ । समाजमा रहेका परम्परागत सोचले पनि महिलालाई पछाडि पार्ने गरेको उनको भनाइ छ । तर आरोहण क्षेत्रमा महिलाहरू पुरुषभन्दा कमजोर हुन्छन् भन्ने धारणा सही नभएको उनले स्पष्ट पारे । उनका अनुसार सबैभन्दा ठूलो चुनौती नै सोच हो, जसले महिलालाई सीमित बनाउने र दबाउने काम गर्छ । उनले भने, ‘महिलाहरूले पुरुषसरह काम गर्न सक्छन्, उनीहरू सक्षम र सबल छन्,महिलाहरू पुरुष बराबर होइनन् भन्ने सोच समाजको कुरीति हो, जसलाई अब तोड्नैपर्छ ।’  अहिलेसम्म यस क्षेत्रमा संलग्न महिला दिदीबहिनीहरूले आफू पुरुषसरह काम गर्न सक्षम रहेको प्रमाणित भइसकेको उनको धारणा छ । उनका अनुसार यदि यस्तो सोच परिवर्तन गर्न सकियो भने निकट भविष्यमा महिलाहरूले पुरुषभन्दा अझै बढी योगदान दिन सक्ने सम्भावना पनि छ । महिलाहरूको सहभागिता बढाउन तालिम (ट्रेनिङ) को भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उनले बताए । तालिमले ट्रेकिङ तथा आरोहणसम्बन्धी अनुभवलाई व्यवस्थित र प्रभावकारी बनाउँछ । साथै यसले यात्रालाई सुरक्षित बनाउने काम गर्छ । ‘ज्ञान र तालिमको अभावमा धेरै गल्ती हुन सक्छन्, जसले ज्यान नै जोखिममा पार्न सक्छ । त्यसैले तालिमले आफूलाई मात्र होइन, अरूलाई पनि सुरक्षित बनाउँछ,’ उनले भने । एक दशकमा साढे ४ हजारले टेके सगरमाथा २०१५ देखि २०२४ सम्म कुल ४ हजार ६ सय ४९ जनाले सफल आरोहण गरेका छन् । यस अवधिमा १ हजार ९२७ जना विदेशी तथा स्वदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् भने २ हजार ७२२ जना सहयोगी (शेर्पा तथा अन्य सहयोगी टोली) ले पनि सफलतापूर्वक आरोहण सम्पन्न गरेका छन् । पर्यटन विभागका अनुसार पछिल्ला वर्षहरूमा सगरमाथा आरोहणमा व्यावसायिक गतिविधि बढेसँगै सहयोगी समूहको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ । २०१६ मा ४५१ जनाले सगरमाथा चढेका छन् । जसमध्ये १९७ जना आरोही र २५४ जना सहयोगी छन् । त्यस्तै, २०१७ मा  आरोही तथा सहयोगी शेर्पा समूह गरी ४२६ जनाले जना सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेका छन् । जसमा १९९ आरोही र २२७ जना सहयोगी छन् । २०१८ मा ५६० जनाले सगरमाथा चढेका छन् । जसमध्ये २६२ आरोही र २९८ जना सहयोगी छन् । २०२३ मा २६८ जना आरोही र ३९१ सहयोगी समूह गरी कुल ६५९ जनाले सगरमाथा चढेको तथ्यांक छ । त्यस्तै, २०२४ मा २९८ आरोही र ४९४ जना सहयोगी गरी कुल ७९२ जनाले सगरमाथामा पाइला टेकेका छन् । एक दशकमा सगरमाथा चढ्ने आरोही र सहयोगीको तथ्यांक सगरमाथामा पहिलोपटक सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्ड नागरिक एडमण्ड हिलारीले पाइला राखेका थिए । सगरमाथा आरोहणको इतिहासमा हालसम्म ९ हजार ७७ स्वदेशी तथा विदेशी आरोहीले सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेका छन् ।  विभागको तथ्यांक अनुसार २०१० अघि २ हजार ७ सय सात जनाले सगरमाथामा पाइला राखेका छन् । ८ हजारभन्दा माथिका कुन हिमालमा कति आरोही ? सगरमाथापछि सबैभन्दा बढी मनास्लु हिमालमा आरोहीले पाइला टेकेका छन् । उक्त हिमालमा २०२४ सम्ममा ३ हजार ६४३ जना आरोहीले सफलतापूर्वक पाइला टेकेका छन् । त्यसपछि ल्होत्से हिमालमा १ हजार २९६ जनाले सफलतापूर्वक हिमाल आरोहण गरेका छन् । विश्वको दोस्रो अग्लो शिखर हो कञ्चनजङ्घा । यो हिमाल ८ हजार ८५६ मिटर अग्लो छ । कञ्चनजङ्घामा १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । विश्वकै तेस्रो अग्लो शिखर भनेर सूचीकृत भएपनि कञ्चनजङ्घा क्षेत्रमा अपेक्षित रूपमा पर्यटकको संख्या बढाउन सकेको छैन । यो हिमालमा चढ्ने आरोहीको संख्या पनि अरू हिमालको तुलनामा न्यून छ । पर्यटन विभागको २०२४ सम्मको तथ्यांकअनुसार ५९६ जनाले कञ्चनजङ्घा हिमाल चढेका छन् । मकालुमा ८२७, धौलागिरि हिमालमा ६८८, अन्नपूर्णमा १ मा ५२४, यालुङमा ५३ र चोयुमा २१ जना आरोहीले सफलतापूर्वक पाइला टेकेका छन् ।

पाँचथरको फालोट क्षेत्रस्थित ‘गोठ–बास’मा पर्यटक आकर्षित हुँदै

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पुर्याएको छ । विसं २०७४ सालदेखि समुन्द्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवद्र्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तरराष्ट्रिय बजार पाएको छ । चौँरीपालकका गोठहरु नै अहिले पर्यटक बस्ने स्थल बनेका छन् भने यहाँ पूर्वाधार विकास पनि बढ्दै गएको छ । फालोट याक गोठबासका सञ्चालक एवम् अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार महोत्सव आयोजना हुन थालेपछि चौँरी गोठालाहरुमै उत्साह बढेको छ । फालोट क्षेत्रमा ०७४ सालअघि १८ वटा चौँरी गोठ रहेकामा अहिले ३१ वटा गोठ रहेका छन् । ‘पेसाप्रति युवा र महिलाहरु आकर्षित छन् । पहिले पुरुषहरु मात्रै गोठमा बस्ने चलन थियो’, उनले भने, ‘गोठहरु पहिलेभन्दा धेरै सुधार भएका छन् । अहिले गोठमै पर्यटकलाई राख्ने प्रबन्ध भएको छ।’ जसलाई ‘गोठ–बास’ (गोठ–स्टे) भनिन्छ । गोठालाहरु नै पर्यटनतर्फ आकर्षित भएका छन् । तर सबै गोठमा गोठबास कार्यान्वयन हुन सकेको छैन । अहिले १०–१२ वटा गोठले मात्रै पर्यटक राख्न सक्छन् । सन्दकपुर आहालदेखि फालोटसम्म रहेका यी गोठमा गरेर करिब १५० मानिस यहाँ बास बस्न सक्दछन् ।  वार्षिक रुपमा कम्तीमा पाँच हजार पर्यटक आउने गरेको नेपालको भनाइ छ । असार, साउन र भदौमा अत्यधिक वर्षाका कारण गोठहरु गाउँतर्फ झारिने हुँदा पर्यटकहरुलाई पुग्न र बास बस्न कठिन पर्ने गरेको छ । पहिले यहाँ चौँरीको घ्यू र छुर्पी मात्रै उत्पादन हुने गरेकामा अहिले चिज उत्पादन गरी बिक्री हुँदै आएको छ । महोत्सवकै कारण चौँरीजन्य सामग्रीले बजार पाएको, सरकारी निकायहरुले सहयोग गर्न थालेका र पर्यटकहरु पुग्न थालेको नेपालको भनाइ छ ।  फालेलुङको चारराते, तीन सिमानालगायत क्षेत्रका चौँरीपालकहरुको समूह कञ्चनजङ्घा याक चिज उत्पादक समूहका अध्यक्ष रामचन्द्र गुरुङका अनुसार पछिल्ला वर्षहरुमा चौँरीको सङ्ख्यामा अत्यधिक वृद्धि हुँदै गएको छ । चौँरीपालनमै आधारित भएर जीविकोपार्जन गर्नेको सङ्ख्या पनि बढेको छ भने पर्यापर्यटनको विकासमा धेरै ठूलो मद्दत पुगेको छ। यसको मुख्य कारण पर्यटकको सङ्ख्या बढ्दै जानु हो । चौँरी महोत्सवले पर्यटक भित्र्याएपछि चौँरीका सामग्रीले राम्रो मूल्य पाउन थालेका छन् ।  गुरुङकाअनुसार चौँरीको हाडखोर पनि बिक्री हुन्छ । सिङ, पुच्छर पनि बिक्री हुन्छ । चौँरीका धेरै सामग्री धार्मिक/सांस्कृतिक कार्यमा प्रयोग गरिने हुँदा धेरै माध्यमबाट गोठालाहरुले आम्दानी गर्ने गरेका छन् । पछिल्लो समय नयाँ याकहरु ल्याएर चौँरीका नयाँ प्रजातिको विकासको प्रयास भइरहेको छ, जसले चौँरीको सङ्ख्या बढाउँदै लगेको छ । ताप्लेजुङका हिमाली भेग र भूटानबाट याक ल्याएर उन्नत प्रजाति उत्पादनको प्रयास चलिरहेको छ, जसमा अहिलेसम्म ४० बढी चौँरी हुर्किएको गुरुङको भनाइ छ । अब सरकारले चौँरीमा कृत्रिम गर्भाधानमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।  चौँरीजन्य सामग्रीको बजार पनि सहजै रहेको अध्यक्ष गुरुङले बताए । ‘छुर्पीको निर्यातमा कहिलेकाहीँ समस्या आउने गरेको छ। तर बिक्री राम्रै भइरहेको छ’, उनले भने, ‘अहिले याक चिज उत्पादन भइरहेको छ। यसको बजार पनि राम्रै छ। तर मूल्य वृद्धि हुनुपर्छ।’ याक चिज काठमाडौँमा धेरै निर्यात हुन्छ । अहिले चिज प्रतिकिलो रु ८०० देखि रु एक हजारसम्ममा बिक्री भइरहेको छ भने चौँरीको घ्यू रु ८०० छ ।  उत्पादित सामग्रीको मूल्य भने कम भएको अध्यक्ष गुरुङको गुनासो छ । ‘गाई र चौँरीका दुग्धजन्य सामग्रीमा धेरै अन्तर छ। चौँरी त जडीबुटी चरेर दूध दिने जनावर हो’, गुरुङले भने, ‘तर गाई र चौँरीका दुग्धजन्य सामग्रीको मूल्य करिब बराबर छ। यसले त उत्पादन लागत पनि उठ्न गाह्रो हुन्छ ।’ यस पटक पाँचथरकै याङरुमा उत्पादित भेडाको घ्यूसमेत महोत्सवमा राखिएको थियो । असाध्यै मेहनत पर्ने भएकाले भेडाको घीउ प्रतिकिलो रु १२ हजार पर्ने गरेको बिक्रेता लोकेश गुरुङको भनाइ छ । ‘भेडाको व्यावसायिक पालन घट्दै गएको अवस्था छ । माग अत्यधिक छ तर, घीउ उत्पादन गर्न कठिन पर्ने गरेको छ’, उनले भने, ‘यसमा राज्यले पनि केही सहयोग गरे हामीलाई सहज हुन्थ्यो ।’ विगत नौ वर्षदेखि नयाँ वर्षको दिन चाररातेमा चौँरी महोत्सव आयोजना हुने गरेको छ। महोत्सवमा नेपालका विभिन्न जिल्लासहित भारत, भूटान, बङ्गलादेशबाट पर्यटक आउने गर्दछन् । महोत्सवका अवसरमा भेला पारिने सयौँ चौँरीको बथान हेर्ने, यहाँबाट नेपाल, भारत र भूटानका हिमशृङ्खलाको दृश्यावलोकन गर्ने, ढकमक्क फुलेको गुराँस र चिमलको रङ्गमा हराउनमै धेरै पर्यटक व्यस्त हुन्छन् । हिमाली संस्कृतिको जीवन्त प्रस्तुतिसँग साक्षात्कार गर्न पाउँदा सबैले यस नेपाल–भारत सीमावर्ती उच्च पहाडले आकर्षित गर्ने गरेको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूको भनाइ छ । रासस