विज्ञान तथा प्रविधि मन्त्रालय अब छुट्टै बनाइने

काठमाडौं । शिक्षा मन्त्रालयले विज्ञान तथा प्रविधि मन्त्रालयलाई अलगै मन्त्रालय बनाउने भएको छ । शिक्षा मन्त्री महावीर पुनले विज्ञान तथा प्रविधिलाई छुट्टै मन्त्रालय बनाउने योजना बनाएका छन् । यो विषयमा मन्त्रालयले अब काम अगाडि बढाउने योजना बनाएको जनाइएको छ ।  मन्त्रीले गरेको निर्णयमा विज्ञान प्रविधि मन्त्रालयले नवप्रर्वतन, सूचना प्रविधि, जल तथा मौसम विज्ञान सम्बन्धी कामहरू गर्ने छ ।  यस्तै मन्त्री पुनले विश्वविद्यालय रिक्त पदमा निष्पक्ष तरिका योग्य व्यक्ति छनोट हुने बताएका छन् । उनले अघिल्ला सरकार जस्तो राजनैतिक भागबण्डा नमिलेर रिक्त रहेका पदमा योग्यताको आधारमा कर्मचारी छनोट गर्ने बताका छन् । समाजिक सञ्जाल फेसबुकमा मन्त्री पुनले लेखेका छन्,‘ निष्पक्ष तरिकाले यो पदाधिकारी छान्ने काम अगाडि बढेको छ यसमा कुनै भनसुन लाग्दैन ।’ मन्त्री पुनका अनुसार नेपाल खुला विश्वविद्यालयमा रिक्त १० जना र शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सिनेटर पद रिक्त रहेको छ ।  

अत्यधिक हाइपले एआई बजार अस्थिर बन्दै

काठमाडौं । पूर्व मेटा कार्यकारी तथा बेलायती राजनीतिज्ञ निक क्लेगले बुधबार कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बजार समायोजन (मार्केट करेक्सन) हुने सम्भावना ‘धेरै उच्च’  रहेको चेतावनी दिएका छन् । उनले कृत्रिम सुपर–इन्टेलिजेन्सको अवधारणामा पनि आपत्ति जनाएका छन् । बेलायतका पूर्व उपप्रधानमन्त्री रहेका क्लेगले पछि अमेरिकाको प्रविधि कम्पनी मेटामा नीति निर्माणको जिम्मेवारी सम्हालेका थिए । उनले भने, ‘एआईको बूमका कारण अहिले ‘क्रेजी भेलुएसन’ देखिएका छन् ।’ सीएनबीसीको अन्तर्वार्ताका क्रममा उनले भने, ‘अहिले लगभग दैनिक वा घण्टैपिच्छे सम्झौता हुने अति तीव्र लहर चलेको छ । तपाईंले सोच्नैपर्छ — यो बजार अब कुनै न कुनै समय समायोजनतर्फ जाँदैछ ।’ उनका अनुसार यस्तो बजार सुधार हुने सम्भावना ‘धेरै उच्च’ छ । सामान्यतया बजारमा ‘बबल’ भन्नाले कम्पनीको वास्तविक आर्थिक आधार (फण्डामेन्टल) भन्दा धेरै बढेर मूल्याङ्कन हुने अवस्थालाई जनाइन्छ । क्लेगका अनुसार बजार सुधार यस कुरामाथि निर्भर गर्छ — ठूला टेक कम्पनीहरू जसले सयौं अर्ब डलर लगानी गरेर विशाल डेटा सेन्टरहरू बनाइरहेका छन्, ती लगानीहरू फिर्ता गर्न र आफ्नो व्यापार मोडललाई दिगो सावित गर्न सक्षम हुनेछन् कि हुँदैनन् । ‘यसले केही चुनौतीहरू अवश्य ल्याउनेछ,’ क्लेगले भने, ‘विशेषगरी त्यो आधारभूत ढाँचा जसमा यो सम्पूर्ण उद्योग आधारित छ — अर्थात् ठूला भाषा मोडेलमा आधारित एआई प्रणालीहरू ।’ क्लेगका अनुसार यो ‘प्याराडाइम’ भनेको कृत्रिम सुपर–इन्टेलिजेन्स हो — जसमा एआईले मानव बौद्धिकताभन्दा माथि पुग्ने अवस्था जनाइन्छ । यसलाई प्रायः ‘पवित्र लक्ष्य’ का रूपमा हेरिन्छ । यसको विपरीत, कृत्रिम साधारण बौद्धिकता (एजीआई) ले मानव–स्तरको क्षमतासम्म सीमित रहने बुझिन्छ । धेरै ठूला प्रविधि नेताहरू र लगानीकर्ताहरू जस्तै सोफ्टबैंकका संस्थापक मासायोसी सोन र मेटाका सीइओ मार्क जुकरबर्ग, सुपर–इन्टेलिजेन्सको पक्षमा छन् । जुकरबर्गले यस वर्षकै सुरुमा सो प्रविधिको विकासका लागि विशेष एआई प्रयोगशाला पनि स्थापना गरेका छन् । तर क्लेग भन्छन्, ‘मलाई लाग्छ एआई प्रविधिको केही सीमाहरू छन् जसकारण यो सबैले सोचेजस्तो अद्भूत वा सर्वशक्तिशाली हुन सक्दैन । तर यसको अर्थ यो होइन कि यो प्रविधि हराउनेछ, यो अझै बढ्नेछ र संसारमा ठूलो प्रभाव पार्नेछ ।’ क्लेगले भनेजस्तै मेटा स्वयं ‘डटकम बबल’ फुटेपछि पनि जीवित रह्यो र अहिले विश्वकै ठूला कम्पनीहरूमध्ये एक बनेको छ । अमेजन र गुगल पनि त्यस्तै यात्राबाट गुज्रिएका थिए — जसले देखाउँछ, बजार बबल फुट्दा पनि सबै कम्पनीहरूको अन्त्य हुँदैन । भेन्चर क्यापिटल क्षेत्रमा प्रायः भनिन्छ, ‘सबैभन्दा सफल कम्पनीहरू कठिन आर्थिक अवस्थामा जन्मिन्छन् ।’ किनभने त्यतिबेला लगानीकर्ताहरूले नाफा–नोक्सानीमा बढी ध्यान दिन्छन् र विवेकपूर्ण लगानी मात्र गर्छन् । यसले व्यवसायीहरूलाई कम स्रोतमै दक्षतापूर्वक काम गर्न बाध्य बनाउँछ जसले दीर्घकालमा तिनै कम्पनीहरूलाई जीवित राख्छ । क्लेगको धारणा अरू धेरै लगानीकर्ता र प्रविधि नेताहरूसँग मिल्दोजुल्दो छ — उनीहरू मान्छन् कि एआई क्षेत्रमा बबल बनेको छ, तर यसको अर्थ एआई हराउँदैछ भन्ने होइन । अमेजनका संस्थापक जेफ बेजोसले समेत केही हप्ता अघि इटालियन टेक वीकमा भनेका थिए, ‘अहिले एउटा औद्योगिक बबल बनेको छ, तर एआई साँच्चिकै वास्तविक हो — यसले प्रत्येक उद्योग परिवर्तन गर्नेछ ।’ क्लेगका अनुसार एआई तत्काल लागू गर्न सकिने धेरै क्षेत्र छन्, तर समग्र समाजले यो प्रविधि विस्तारमा अपनाउन केही समय लाग्नेछ । ‘सिलिकन भ्यालीमा धेरै हाइप छ,’ उनले भने, ‘त्यहाँका मानिसहरू भन्छन्, मंगलबार प्रविधि बनायौं भने बिहीबार सबैले प्रयोग गर्छन् । तर वास्तविकता त्यस्तो होइन ।’ ‘डेस्कटप कम्प्युटिङ प्राविधिक रूपमा सम्भव भएपछि हामी सबैले त्यसमा पुग्न २० वर्ष लाग्यो,’ उनले थपे । त्यसैले यहाँ गति (पेस) नै मुख्य कुरा हो । यो क्षेत्रअनुसार देशअनुसार फरक पर्न सक्छ, तर अहिलेका प्रविधिविद्हरूले अनुमान गरेजस्तो तीव्र गतिमा एआई फैलिने सम्भावना त्यति धेरै नरहेको उनको निष्कर्ष छ । ट्रम्पको बयानले ऊर्जा बजारमा हलचलल, भारतले अब रूसको तेल नकिन्ने ! टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो  

आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् ।  स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा रहेकी उनले आन्दोलनको विषय बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन् ।      देशमा रहेका दक्ष जनशक्तिलाई अत्यन्तै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने प्रधानमन्त्री कार्कीले बताइन् ।       स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा छन् । मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेको थियो ।