फोनपेको साधारण सभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तिय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ । सभामा फोनपेका सेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने र स्वतन्त्र सञ्चालकमा पुनः सशीन जोशीलाई नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै आव २०८२/८३ का लागि एनबिएसएम एसोसिएटस चार्ट्ड एकाउन्टेन्सलाई पुनः लेखापरिक्षकमा नियुक्त गर्ने निर्णय भएको छ । साथै, विशेष प्रस्ताव अनुरुप फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई सेयर निष्कासन गर्ने समेत निर्णय भएको छ ।

१७ प्रतिशत लाभांश बाँड्ने एनएमबिको घोषणा

काठमाडौं । एनएमबि क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई करसहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले मंसिर १७ गते दिउँसो साढे ३ बजे काठमाडौंमा १५औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालकहरूको बैठक भत्ता, भ्रमण खर्च तथा दैनिक भत्ता वृद्धि सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।  कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण र चालु आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

बढ्यो सेयर बजार, ५ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.२१ अंकले बढेर २५६५ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२७ कम्पनीको ७९ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस उर्जाको भएको छ । साहसको ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै राधी विद्युतको ३२ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २६ करोड, शिवम् सिमेन्टको १६ करोड र इस्ट्रन हाइड्रोपावरको ९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साइन रेसुंगा डिभेन्चर, बन्दीपुर केबलकार, माबिलुङ इनर्जी, सागर डिस्टीलरीको सेयर मूल्य १० प्रतिशत र बुंगल हाइड्रोको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । मंगलबारको कारोबारमा सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० तथा व्यापार ०.६९ प्रतिशतले बढेका छन् । अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ तथा विकास बैंक ०.४७ प्रतिशतले घटेका छन् ।