लुम्बिनी फाइनान्स एण्ड लिजिङको ३६ प्रतिशत लाभांशलाई राष्ट्र बैंकको स्वीकृति
काठमाडौं, ३ पुस । लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको सेयरधनीलाई ३६ दशमलब ७९ प्रतिशत लाभांश दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले ३५ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब ७९ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश वितरण गर्ने प्रस्ताव राखेको थियो । नेपाल राष्ट्र बैंकद्धारा स्वीकृत उक्त प्रस्तावलाई अब कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । उक्त सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
वोमी माइक्रोफाइनान्सको २१ प्रतिशत लाभांश पारित, निर्देशकमा चार जना नियुक्त
काठमाडौं, ३ पुस । वोमी माइक्रोफाइनान्सको २१ प्रतिशत लाभांश पारित भएको छ । वोमीको सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र एक दशमलब ११ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)लाई मंसिर ३० गते बसेको बैंकको वार्षिक साधारणसभाले पारित गरेको हो । साथै, उक्त सभाले बैंकको निर्देशकमा बिन्दिया प्रदान, विमला उपाध्याय घिमिरे र किशोरी थापालाई नियुक्त गरेकोे छ । ३ करोड ६० लाख चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक बर्षमा एक करोड ७७ लाख नाफा कमाएको थियो ।
सप्तकोशी डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस सेयर
काठमाडौं, ३ पुस । सप्तकोशी डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले आफ्नो चुक्ता पुँजी १० करोडको ११ प्रतिशतले हुन आउने एक करोड १० लाख रुपैैंयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको छ । सो सम्बन्धि प्रस्ताव बैंक सञ्चालक समितिले पास गरिसकेको छ भने आगामी पुस २८ गतेका लागि डाकिएको चौथो साधारण सभामा पेश गरिनेछ । त्यस्तै, बैंकले एक बराबर एक दशमलब ३ प्रतिशतका दरले हकप्रद सेयर पनि निष्काशन गर्ने भएको छ । सो सम्बन्धि प्रस्ताव पनि बैंक सञ्चालक समितिले पास गरेर साधारण सभामा पठाइएको छ । बैंकले पुस ८ गतेदेखि २८ गतेसम्मका लागि बुक क्लोजको घोषणा समेत गरिसकेको छ । हाल बैंकको सेयर प्रति कित्ता ४४६ रुपैंयाँमा कारोबार भैरहेको छ ।