एक कित्ता सेयर पनि कारोबार हुने, क्लीयरिङ बैंक थप्ने कार्य अगाडी बढेको नेप्सेको भनाई
काठमाडौं, २६ मंसिर । अवदेखि एक कित्ता सेयरको पनि कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले १० कित्ता भन्दा कम सेयर किनवेच हुन सक्नेगरी एक महिनाभित्र व्यवस्था गर्न लागेको छ । सो व्यवस्था लागु भएपछि सर्वसाधरणहरुले एक कित्ता सेयर पनि किनवेच गर्न मिल्ने छ । नेप्सेले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी १० कित्ता भन्दा कम सेयर किनबेच हुन सक्ने गरी व्यवस्था मिलाउनको लागि सिस्टम निर्माता कम्पनीलाई निर्देशन दिइसकेको जनाएको छ । नेप्सेले सेयर कारोबार पश्चात राफराफ तथा फछ्यौटलाई थप चुस्त र दुरुस्त बनाउन क्यिरिङ बैंक थप्ने कार्य पनि अगाडी बढाएको जनाएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आफ्नो सिस्टममा आवश्यक मोडिफिकेसनको कार्य पनि सम्पन्न गरीसकेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ,—‘ नेप्सेले काम नगरेको भन्ने हल्ला बाहिर आएको छ त्यो असत्य हो, हामीले काम गरिरहेका छौ परिणाम आउन समय लागेको मात्र हो । ’नेप्सेले विज्ञप्तिमा भनेको छ, ‘धितोपत्रको दोस्रो बजार विस्तारका लागि नेपाल धितोपत्रबोर्डको निर्देशनमा पुँजी बजार सम्बद्ध सरोकारवालाहरुको प्रतिनिधित्व हुने गरी एक अध्ययन कार्यदल गठन भएको थियो । सो कार्यदलले सदस्य दलालतको संख्या थप गर्ने, बाणिज्य बैंकलाई धितोपत्र दलाल अनुमित प्रदान गर्ने, विद्यमान सदस्य दलालहरुको आरडव्लुएस विस्तार गर्नेबारेमा सुझावा पेस गर्नको लागि अध्ययन गरीरहेको छ ।’ कार्यदलको सुझाव आएपछि सम्पुर्ण कार्य अघि बढ्ने पनि नेप्सेले जनाएको छ ।
सिद्धार्थ डेभलपमेण्ट बैंकको २४ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित
काठमाडौं, २४ मंसिर । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई शुक्रबार बसेको बैंकको १७ औं बार्षिक साधारणसभाले पारित गरेको हो । साथै, उक्त सभाले बैंकको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गरेको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तूत भएको आ.ब. २०७२/७३ को प्रतिवेदन वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण, सो संग सम्बन्धित अनूसुचीहरु समेत पारित गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीती अनुसार २०७४ साल आषाढ मसान्तसम्म विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउँदै लैजाने क्रममा मर्जरलाई प्राथमिकता दिदैं सो मात्रामा हकप्रद शेयर जारी गर्नेे प्रस्ताव पारित गरेको छ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडमा, एकता विकास बैंक लिमिटेड बुटवल, नेपाल सरकारको स्वामित्व समेत रहेको नेपाल आवास फाइनान्स लिमिटेड काठमाण्डौं एक आपसमा गाभिई सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट २०७३ साल जेष्ठ २८ गतेबाट एकिकृत कारोबार गरेको थियो । यस साधारण सभा मर्जर पश्चातको पहिलो साधारण सभा हो । सभाले समितिमा संस्थापक शेयरधनीको तर्फबाट राम बहादुर भण्डारी, डा. ध्रुव प्रसाद ढकाल, रतनलाल अग्रवाल र डि.बि इन्भेष्टमेण्ट प्रा. लि. गरी ४ जना निर्विरोध चयन गरेको छ । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट बद्री खनाल, मिलन कुमार कार्की र एन.पि.सि.एम इन्भेष्टमेण्ट गरी ३ जना संचालकको निर्विरोध चयन गरेको छ । हाल बैंकको चुक्ता पूँजी एक अर्ब ४१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
एसबिआई बैंकले घटायो एफपिओको मूल्य, प्रतिकित्ता ९७१ रुपैयाँ मात्र
काठमाडौं, २४ मंसिर । नेपाल एसबिआई बैंकले प्रस्तावित एफपिओकोे मूल्य प्रतिकित्ता १३ रुपैयाँले घटाएको छ । मूल्य घटाएपछि बैंकको एफपिओकोे मूल्य प्रतिकित्ता ९७१ रुपैयाँ रहेको छ । यस अघि बैंकले एफपिओकोे मूल्य प्रतिकित्ता ९८४ रुपैयाँ तोकेको थियो । बैंकले ६७ हजार ७६७ दशमलब ८७ कित्ता एफपिओ जारी गर्न लागेको छ । शुक्रबार बसेको बैंकको ४०१ औँ बैंक सञ्चालक समितिको बैठक अनुसार गत १८० दिन अघिदेखि बजारमा बैंकको सेयर मूल्य घटेको कारणले यसको मूल्य घट्न गएको हो । नेपाल धितोपत्र बार्डको निर्देशन अनुसार बैंकले जारी एफपिओको मूल्य घटाएको हो । बोर्डले गत मंसिर २१ गते नै बैंकलाई एफपिओको मूल्य घटाउन निर्देशन दिएको थियो ।