श्री इन्भेष्टमेन्टको ११ प्रतिशत लाभांश दिने निर्णय राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं, २३ भदौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ११ प्रतिशत लाभांश दिने निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । बैंकले सेयरधनीलाई १० दशमलब ५ प्रतिशत बोनस सेयर र शून्य दशमलब ५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव राखेको थियो । बैंकको सो प्रस्ताव कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिने छ ।

यति डेभलपमेन्ट बैंक र एनसिएमबिच सेयर निष्काशन सम्झौता

काठमाडौं, २१ भदौ । यति डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशन एनसिएम मर्चेण्ट बैंकिङले निष्काशन गर्ने भएको छ । सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा यति डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र एनसिएम मर्चेण्ट बैंकिङ्गका प्रबन्ध संचालक बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । इति डेभलपमेन्ट बैंकले १४औं वार्षिक साधारणसभाबाट २ बराबर एक कित्ता अर्थात ५० प्रतिशत हकप्रद सेयर जारीी गर्ने निर्णय गरेको थियो । बैंकले ६९ लाख ३१ हजार एक सय ६६ दशमलब ७२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद सेयर निष्काशनपछि बैंकको २ अर्ब ७ करोड ९३ लाख ५० हजार १६ रुपैंयाँ पुग्नेछ ।

सिद्धार्थ म्युचुअल फण्डले पहिलो पटक सेयर धनीकै एकाउण्टमा नगद लाभांश दिने

काठमाडौं, २१ भदौ । सिद्धार्थ म्युचुअल फण्ड लगानी कर्ताको बैंक खातामै नगद लाभांश जम्मा गर्ने पहिलो कम्पनी बन्ने भएको छ । सिद्धार्थ म्युचुअल फण्डद्धारा प्रवद्र्धित सिद्धार्थ लगानी वृद्धि योजना १ र सिद्धार्थ इक्विटी ओरियन्टड स्किमले सबै भन्दा पहिले लगानी कर्ताको बैंक खातामै नगद लाभांश जम्मा हुने व्यवस्था कार्यान्वयन गराउन लागेका हुन् । नेपाल धितोपत्र बोर्डले भदौ ७ गते लगानी कर्ताको नगद लाभांश उनीहरुको बैंक खातामै जम्मा हुने व्यवस्था कार्यान्वयन गराउन नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुलाई निर्देशन दिएको थियो । सिद्धार्थ म्युचुअल फण्डले भदौ २१ गते सार्वजनिक सूचना प्रकाशित गर्दै नगद लाभांशका लागि बैंक खाता उपलब्ध गराउन लगानी कर्तालाई आग्रह गरेको हो । फण्डले असोज ४ गते भित्र बैंक खाता उपलब्ध गराईसक्न लगानी कर्तालाई अनुरोध गरेको छ । फण्डले सिद्धार्थ लगानी वृद्धि योजना १ का लगानी कर्तालाई ३० प्रतिशत र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमका लगानी कर्तालाई १६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले नगद लाभांश बैंक खातामै जम्मा हुने व्यवस्था कार्यान्वयन हुनु सुखद कुरा भएको बताए । उनले नगद लाभांश लिनका लागि लगानी कर्ताले व्यहोर्नु पर्ने झण्झटको अन्त्य भएको समेत बताए । सेयर बजार विश्लेषक भट्टराईले नगद लाभांश बैंक खातामै उपलब्ध गराउन नियामक निकाय र कम्पनीहरुले एकिकृत पहल गर्नुपर्नेमा जोड दिए ।  भट्टराईले डिम्याट खातासँगै लगानी कर्ताले बैंक खाता समेत उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्ने तर्फ नियामक निकायको ध्यान जानुपर्ने पनि बताए ।