तेह्रथुम पावरको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । तेह्रथुम पावर कम्पनीले आज (असार १६ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।  कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ४ गतेसम्मनेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा, कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् । 

२६ अंकले बढ्यो नप्से, ७ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले बढेर २६२२ बिन्दुमा पुगेको छ ।  आज १८५ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार ३२८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस उर्जाको भएको छ । साहसको ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ३४ करोड, युनियन हाइड्रोपावरको २४ करोड, न्यादी गुप्रको २३ करोड र राधी विद्युत कम्पनीको २१ करोड रुपैयाँको कारोबार भएको छ । आज उत्पादन तथा प्रशोधन समूह बाहेक अरूमा हरियाली छाएको छ । बैंकिङ सेक्टर सबैभन्दा धेरै २.०० प्रतिशत बढेको छ । विकास बैंक १.६१, फाइनान्स ०.६४, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.५४, लगानी ०.३२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा ०.४२, अन्य १.३५ र व्यापार समूह ०.२७ प्रतिशतले बढेको छ ।  सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

माबिलुङ्ग इनर्जीले असार २२ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । माबिलुङ्ग इनर्जीले असार २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला  गर्ने भएकाे हाे । कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १८ लाख ९० हजार ५३० कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ३ करोड ८५ लाख ८२ हजार रुपैयाँको ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभाको मादी नगरपालिका वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिका वडा नम्बर २, ३, ७, ८, ९ का स्थानीय बासिन्दालाई छुट्याएको छ ।  साथै, सर्वसाधारणलाई छुट्याइएको १५ करोड ४ लाख ७० हजार रुपैयाँको १० प्रतिशत अर्थात् १ लाख ५० हजार ४७१ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याइएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन ४ गते गतेसम्म आवेदन दिनुपर्नेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय साउन १९ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसँगै माबिलुङ्ग इनर्जीको वेवसाइट, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, हिमालयन बैंकको मादि नगरपालिका शाखा, लक्ष्मी सनराइज बैंकको खाँदबारी शाखा र आयोजनाको पावरहाउस रहेको संखुवासभाको मादि नगरपालिका-७ बाट समेत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।