शिव श्री हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज असोज २३ गते अन्तिम दिन रहेको छ । भदौ १९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाा अंकित मूल्य दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुक क्लोज गरेको थियो । त्यसैले साउन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंकको कुमारी पाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

सेयर धितो कर्जामा २५ करोड रुपैयाँको सीमा हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा हटाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन जारी गर्दै सेयर धितो कर्जाको सीमा हटाएको हो । यसअघि सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड रुपैयाँ थियो । यस्तै, संगठित संस्थाको शेयर, डिबेञ्चर तथा अन्य लगानीमा राष्ट्र बैंकले ६ महिना भन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था गरेको हो । यस्तै, खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्थालाई हटाएको छ । 

सेयर बजारमा ४५ अंकको गिरावट, ५ अर्ब ७६ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा बुधबार पनि उच्च अंकको गिरावट आएको छ । बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.३६ अंकले घटेर २५५९.५९ बिन्दुमा झरेको छ । मंगलबार पनि नेप्से ५८.५५ अंकले घटेर २६०४.९६ बिन्दुमा खुम्चिएको थियो । बुधबार नेप्सेमा कुल ५ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार भने साढे ४ अर्ब माथिको कारोबार भएको थियो । बुधबार कारोबारमा आएकामध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा २३२ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।