नेप्सेमा साढे ५८ अर्बको सेयर सूचीकृत, बोनस मात्रै २१ अर्ब ८ करोड
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे ५८ अर्ब रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा कुल ५८ अर्ब ४३ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । जसमध्ये २१ अर्ब ८ करोड रुपैयाँ बराबरको बोनस सेयर, २० अर्ब ३८ करोड रुपैयाँ बराबरको साधारण सेयर, ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १० करोड ६९ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर रहेका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १३ अर्ब १९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ११ अर्ब ८० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ६ अर्ब ८२ करोड रुपैयाँ बराबरको डिबेन्चर र २ अर्ब २४ करोड रुपैयाँ बराबरको साधारण सेयर गरी कुल ३४ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । नेप्सेमा वैशाख मसान्तमा सूचीकृत ८ अर्ब ७४ करोड शेयरको चुक्ता मूल्य ८६१ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।
सिवाकोटी प्रतिवेदन सार्वजनिक, नयाँ स्टक एक्सचेञ्ज आवश्यक (पूर्णपाठ)
काठमाडौं । नेपालमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकता रहेको विषय सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गरिएको अध्ययन प्रतिवेदनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँगै नयाँ स्टकको आवश्यकता रहेको निष्कर्ष निकालेको हो । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने÷नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन–२०८१ सार्वजनिक गरिएको छ । सिवाकोटीको संयोजकत्वमा गरिएको अध्ययन प्रतिवेदनमा नेपालको पुँजी बजार तथा धितोपत्र बजारको सुरुदेखि हालसम्मको विकास क्रम, विद्यमान अवस्था, समस्या र चुनौती लगायत विषय समावेश गरिएका छन् । साथै, नेप्सेको पुनर्संरचना गर्नुपर्ने र थप एउटा स्टक एक्सचेञ्जको आवश्यकता रहेको निष्कर्ष समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । उक्त स्टक एक्सचेञ्जलाई निजी क्षेत्रको लगानीमा सञ्चालन गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ । शक्ति सन्तुलन तथा नियमनको आधारभूत सिद्धान्तको आधारमा नियामक निकायकै स्वामित्व भएको संस्थाले बजार संचालन गर्दा स्वार्थ बाझिन गई प्रभावकारी नियमन हुन नसक्ने भएकोले नयाँ स्टक एक्सचेन्जको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ । नयाँ स्टकलाई लाइसेन्स दिँदा अपनाउनु पर्ने मापदण्ड समेत उल्लेख गरि समितिले प्रतिवेदन तयार पारेको छ । धितोपत्र कारोबारको आकार वृद्धि, लगानीकर्ताको सहभागितामा बढोत्तरी, रोजगारी सृजना र सरकारको राजश्व वृद्धिमा पुर्याएको योगदान लगायतको अध्ययनबाट उत्पादनशील क्षेत्रमा मध्यमकालीन तथा दीर्घकालीन पुँजी परिचालन गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउन प्रतिस्पर्धी धितोपत्र बजारको महत्वपूर्ण भूमिका रहने समितिको निष्कर्ष छ ।
सेयर बजारमा १९६ कम्पनीको मूल्य बढ्यो, १० अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ अंकले बढेर २६७९ बिन्दुमा पुगेको छ । आज १९६ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार ३११ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा १० अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको भएको छ । हाइड्रोइलेक्ट्रिसिटीको ५८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, अरुण काबेलीको ५३ करोड, राधी विद्युतको ४६ करोड, सानीमा माइ हाइड्रोको ४४ करोड र न्यादी गुप्रको ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज पीयोर इनर्जी र श्री इन्भेष्टमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।