दरमखोला हाइड्रो इनर्जीले पायो आईपीओ निष्काशन गर्न स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनका लागि विवरणपत्र प्रकाशनको स्वीकृति दिएको हो । धितोपत्र ऐन, २०६३ को दफा ३० को उपदफा (१) बमोजिम प्राप्त स्वीकृतिपछि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो । यस आईपीओको विक्रि प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ भने आईपीओ निष्काशन, आवेदन संकलन र बाँडफाँडको सम्पूर्ण कार्यको व्यवस्थापन गर्नेछ । धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि, कम्पनीले नियमानुसार आगामी केही दिनमै शेयर निष्काशनको मिति, आवेदन प्रक्रिया, फर्म वितरण, बाँडफाँड विधि लगायतका विवरण सार्वजनिक सूचनामार्फत जानकारी गराउनेछ ।
ट्रेड टावरको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ १४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आज जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८।६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार ४३३ कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
डिजिटल युगमा पनि हराइरहेका फ्याक्सन सेयर
नेपाल स्टक एक्सचेन्स लि.को पूर्ण स्वामित्वमा रहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को स्थापना भए पश्चात भौतिक रूपमा कारोबार भइरहेको सेयर तथा डिवेञ्चरहरूलाई अभौतिक अर्थात डिजिटल रूपमा रेकर्ड गरी राख्ने र सोको बिक्री वितरण पनि अनलाइन मार्फत हुने व्यवस्था भए बमोजिम सेयर कारोबारमा वृद्धि, कारोबारमा सहजता तथा भुक्तानी समेत टी प्लस टु दिनमा हुने व्यवस्थाले करिब ६७.६६ लाख सर्वसाधारणले सेयर बजारमा पहुँच पुर्याउन सफल भएका छन् । करिब ४० लाख सक्रिय सेयर लगानीकर्ता मेरो सेयर प्रयोगकर्ता र करिब १० लाख सक्रिय कारोबारी रहेको तथ्याङ्कले पनि सर्वसाधारणमा सेयर सम्बन्धी जानकारी पुगेको विश्वास गर्न सकिन्छ । यसरी सीडीएससीको डिजिटलाइज्ड कारोबारमा ठूलो भुमिका भएको तथ्य नकार्न सकिन्नँ । तथापि सेयर लगानीकर्ताको फ्याक्सन सेयर (दशमलव पछिको सेयर) को हिसाब भने देखिँदैन । हाल पूर्ण अंकको मात्र सेयर कारोबार हुने व्यवस्थाले होला यतातिर सीडीएससीको ध्यान पुग्न सकेको छैन । यसले गर्दा लगानीकर्ताहरू आफ्नो लगानीको वास्तविक जानकारी पाउन सकिरहेका छैनन् । सेयर जारी गर्ने सम्बन्धित कम्पनीहरू आफ्नो लगानीकर्ताहरूको सेयर लगानी विवरण म्यानुयल रूपमा राख्न बाध्य छन् । उदाहरणको लागि कुनै ‘ए’ कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्यो र कुनै व्यक्तिलाई १० कित्ता सेयर बाँडफाँड भयो । उक्त कम्पनीले साधारण सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर प्रस्ताव गर्यो र पारित पनि भयो । अब उक्त व्यक्तिको ‘ए’ कम्पनीको सेयर १०.५ हुने भयो । तर, उक्त व्यक्तिको डिम्याट खातामा १० कित्ता मात्र सेयर देखिने भयो । जसले गर्दा ‘ए’ कम्पनीको शेयरधनीको विवरण पूर्ण अंक हुने विवरण सीडीएससीमा रहने भयो भने फ्याक्सन सेयर कम्पनीले छुट्टै हिसाब राख्नु पर्यो । १० कित्ताको न्यूनतम १० प्रतिशत बोनस सेयर वितरण गरेपछि मात्रै एक कित्ता सेयर पुग्छ । १० प्रतिशतभन्दा कम बोनस सेयर वितरण भएमा एक कित्ता पनि पुग्दैन । १० प्रतिशतभन्दा कम बोनस सेयर लाभांश घोषणा गर्ने कम्पनीको सेयर लगानीकर्ताको डिम्याट खातामा नआई त्यतिकै कम्पनीको अनडिस्ट्रीब्युटेड फ्याक्सन सेयरको रुपमा बसेको हुन्छ । खण्डित सेयर पछि जम्मा हुँदै जाँदा १ कित्ता पु गेपछि मात्रै सेयरधनीको खातामा पठाउने अभ्यास छ । यथार्थमा यस्तो फ्याक्सन सेयर कम्पनीमा धेरै हुने, हिसाब म्यानुअल राख्नुपर्ने हुँदा शेयरधनीलाई आफ्नो सेयरको वास्तविक जानकारी नहुने भयो भने हिसाब म्यानुअल राख्दा बिग्रने, कर्मचारीले बदमासी गर्न सक्ने सम्भावना पनि भयो किनभने यस्तो फ्याक्सन सेयरको भेरिफिकेशन नहुने र कम्पनीले लेखामा समेत असर नपार्ने हुन्छ । कम्पनीहरूले आफ्नो सेयर डिजिटल रूपमा सीडीएससीमा राखेका हुन्छन र यस बापत कम्पनीहरूले नियमित रूपमा वार्षिक शुल्क पनि बुझाउनु पर्ने हुन्छ । यसरी शुल्क लिए पश्चात् पनि उक्त कम्पनीको सम्पूर्ण सेयरको विवरण राख्न नसक्नु, राख्ने व्यवस्था नगर्नु भनेको आफुले दिनु पर्ने सुविधा नदिएको हो । अमेरिकन स्टक मार्केट, केही युरोपियन मार्केटहरूमा फ्याक्सन सेयरको कारोबार गर्न सक्ने व्यवस्था भैसकेको र अहिले डिजिटल युगमा समेत हामीले अडलटको कारोबारमा समेत समस्या भोग्दै आइरेहका छौं भने आफ्नो सेयर अभौतिकरण भए पश्चात पनि सेयरको वास्तविक रेकर्ड राख्न र हेर्न असमर्थ छौं । साथै सीडीएससीले बैंक, ब्रोकर, क्यापिटल मार्केटस् मार्फÞत तिनीहरूका देश भरिका कुनै पनि शाखाबाट डिम्याट खाता खोल्न सक्ने वयवस्था गरेको छ भने मेरो सेयरबाट आफ्नो पोर्टफोलियो पनि हेर्न मिल्छ । तर, उक्त पोर्टफोलियो विदेश जाने प्रयोजनका लागि सर्टिफÞाई गराउन सीडीएससीको पुतलीसड़क अफिसमैं पुग्नु पर्ने व्यवस्था अव्यवहारिक छ । आजको डिजिटल युगमा सम्बन्धित मम्यिाट खोलेको ठाउँबाट उपलब्ध गराउने व्यवस्था गर्न आवश्यक छ किनभने डिपीसँग सेयर विवरणको पहुँच पनि हुने हुँदा सीडीएससीले एउटा पोर्टल विकास गरी डिपीलाई दिनु उपयुक्त हुन्छ भने शुल्कको हकमा नेपाल राष्ट्र बैंकले वर्षमा एक पटक बैंकबाट ब्यालेन्स सर्टिफिकेट लिँदा निःशुल्क गरेजस्तै धितोपत्र बोर्डले समेत डिम्याट खाताको ब्यालेन्स पोर्टफोलियो सर्टिफिकेट लिँदा वर्षमा एक पटक निःशुल्क गर्ने व्यवस्था गर्न जरूरी छ । यसमा सम्बन्धित निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्स र सीडीएसएण्ड क्लियरिङ लिमिटेडले विशेष ध्यान पुर्याउन र आवश्यक व्यवस्था गर्नुपर्ने देखिन्छ । (लेखक पन्थी नेक्सजेन म्यानेजमेन्ट कम्पनीमा आवद्ध छन् ।)