आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भएकोमा सरकारले ध्यान दिनुपर्छ : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)का अध्यन गणेश कार्कीले निजी क्षेत्रका आयोजनाहरू समयमा नसकिने अवस्था रहेको बताएका छन् ।  शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भएकोले सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।  'ऊर्जा क्षेत्र अघि नबढ्ने हो कि भन्ने शंका छ । उत्पादन पछि मात्रै आईपीओ जारी गर्न पाउने नियमले यसमा समस्य हुने दखिएको छ । ६१ खर्ब आवश्यक पर्ने भनिएको छ । अहिले ३६५ वटा आयोजनाहरु लाइसेन्स लिएको बसेको अवस्था रहेको,' उनले भने ।  ५६०० मेगावाट आयोजनाहरु लाइसेन्स बसेको र १७ हजार भन्दा बढी मेगावाट क्षमताका आयोजनाहरु रन अफ रिभरमा रहेको उनले बताए ।  'चाहेको अवस्थामा मात्रै विद्युत् किन्ने नियमले उत्पादन हुने विद्युत खपत नहुन सक्छ । खनाल आयोगको सुझाबले पनि केही समस्या रहेको छ,' उनले भने ।

सेयर बजारमा १४८ कम्पनीको मूल्य बढ्यो, ८ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले बढेर २६९३ बिन्दुमा पुगेको छ । आज १४८ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३२३ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादीको १ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । साथै, राधी विद्युत कम्पनीको ६० करोड, युनिभर्सल पावरको ५१ करोड, बुटवल पावर कम्पनीको ३५ करोड र कुमारी बैंकको २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ओम मेगाश्री फर्मा र पीयोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

बैंक र बीमाका लगानीकर्ताको साढे ३ खर्ब रुपैयाँ बन्धक !

काठमाडौं । ‘गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साधारण (पब्लिक) सेयरको बजार पुँजीकरण ३५ खर्ब रुपैयाँ थियो भने संस्थापक (प्रमोटर) सेयरको ५ खर्ब २५ अर्ब रुपैयाँ थियो । ३५ खर्बको साधारण सेयरमा ३५ खर्बकै कारोबार भयो तर, संस्थापक सेयरको १५ अर्बको मात्रै कारोबार भयो । जुन साधारणको सेयर कारोबारको तुलनामा ३ प्रतिशत मात्रै हो,’ एनआईसी एशिया क्यापिटलका रिसर्च हेड कृष्ण दनुवारले भने । उनका अनुसार स्टक एक्सचेञ्ज भन्ने बित्तिकै एक्सचेञ्ज अर्थात् एक ठाउँबाट अर्काेमा सर्नु हो । तर, सहज व्यवस्था नहुँदा संस्थापक सेयर कारोबार थोरै मात्रै खरिद बिक्री हुने गरेको उनी बताउँछन् । जबकी साधारण सेयर खरिदकर्ता र बिक्रीमा कुनै कठिनाइ वा कडाइ छैन । नेप्सेमा साधारण सेयर बिक्रेता र खरिदकर्ता भएपनि संस्थापक सेयरका लागि भने छैनन् । किनभने संस्थापक सेयर खरिद बिक्रीका लागि प्रणाली नै बनिसकेको छैन । जस्तो नेप्सेमा एनआईसी एशिया बैंकको एनआईसीए साधारण सेयर हो भने एनआईसीएपीओ संस्थापक सेयर । बैंकको साधारण सेयर दैनिक कारोबार भइरहेको हुन्छ भने संस्थापक सेयर कारोबारका लागि कुनै प्लेटफर्म नै छैन । संस्थापक सेयर खरिद बिक्री प्रक्रियामा फिट एण्ड पर्पर टेस्टदेखि नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरणको स्वीकृतिदेखि अन्य थुप्रै नियम पालना गर्नुपर्ने हुन्छ । २०८१ चैतसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७० पुगेको छ । जसमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका छन् ।  सूचीकृत कम्पनीको ८ अर्ब ७२ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ५९ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । जसमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको ६ खर्ब ३१ अर्ब ३६ करोड रुपैयाँ बराबरको ६ अर्ब ३१ करोड ३६ लाख कित्ता सेयर रहेको छ । जसमा संस्थापकको ३ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँको ३ अर्ब ६७ करोड ४ लाख कित्ता र सर्वसाधारणको २ खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँको २ अर्ब ६४ करोड ३२ लाख कित्ता सेयर रहेको छ  तर, संस्थापक सेयर बन्धकजस्तै बनेको छ । संस्थापक समूहको सेयर कारोबार गर्न निकै झन्झटिलो प्रक्रिया रहेको र चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक सेयरमा गरिएको लगानी ‘फ्रिज’ भएर बसेको दनुवारको भनाइ छ ।  कुन क्षेत्रको कति सेयर ? नेप्सेको पछिल्लो तथ्याङ्क अनुसार सूचीकृत १९ वाणिज्य बैंकको ३ खर्ब ६४ अर्ब २५ करोड रुपैयाँको ३ अर्ब ६४ करोड २५ लाख ७१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छन् । जसमध्ये संस्थापक समूहको २ खर्ब १ अर्ब १४ करोड रुपैयाँको २ अर्ब १ करोड १४ लाख ४४ हजार कित्ता र सर्वसाधारण समूहको १ खर्ब ६३ अर्ब ११ करोड रुपैयाँको १ अर्ब ६३ करोड ११ लाख २६ हजार कित्ता सेयर छन् ।  नेप्सेमा सूचीकृत विकास बैंकहरूको ४२ अर्ब २० करोड १९ लाख रुपैयाँको ४२ करोड २० लाख १९ हजार कित्ता सेयर छन् । जसमध्ये संस्थापकको २१ अर्ब ७९ करोड ६३ लाख रुपैयाँको २१ करोड ७९ लाख ६३ हजार कित्ता र सर्वसाधारणको २० अर्ब ४० करोड ५५ लाख रुपैयाँको २० करोड ४० लाख ५५ हजार कित्ता सेयर रहेका छन् ।  फाइनान्स कम्पनीहरूको १४ अर्ब २१ करोड ९२ लाख रुपैयाँको १४ करोड २१ लाख ९२ हजार कित्ता सेयर सूचीकृत छन् । जसमध्ये संस्थापकको ७ अर्ब ३८ करोड ९५ लाख रुपैयाँको ७ करोड ३८ लाख ९५ हजार कित्ता र सर्वसाधारणको ६ अर्ब ८२ करोड ९६ लाख रुपैयाँको ६ करोड ८२ लाख ९६ हजार कित्ता सेयर रहेका छन् । नेप्सेमा ५२ लघुवित्त संस्थाको ३८ अर्ब ३७ करोड ५० लाख रुपैयाँको ३८ करोड ३७ लाख ५० हजार कित्ता सेयर सूचीकृत छन् । जसमध्ये संस्थापकको २३ अर्ब ७३ करोड ३ लाख रुपैयाँको २३ करोड ७३ लाख ३ हजार कित्ता र सर्वसाधारणको १४ अर्ब ६४ करोड ४६ लाख रुपैयाँको १४ करोड ६४ लाख ४६ हजार कित्ता सेयर रहेका छन् । नेप्सेका अनुसार सूचीकृत जीवन बीमा कम्पनीहरूको ६७ अर्ब ७० करोड ७६ लाख रुपैयाँको ६७ करोड ७० लाख ७६ हजार कित्ता सेयर सूचीकृत छन् । जसमध्ये संस्थापकको ४१ अर्ब ५ करोड ३० लाख रुपैयाँको ४१ करोड ५ लाख ३० हजार कित्ता र सर्वसाधारणको २६ अर्ब ६५ करोड ४६ लाख रुपैयाँको २६ करोड ६५ लाख ४६ हजार कित्ता सेयर छन् । निर्जीवन बीमा कम्पनीहरूको २७ अर्ब ६७ करोड २३ लाख रुपैयाँको २७ करोड ६७ लाख २३ हजार कित्ता सेयर सूचीकृत छन् । जसमध्ये संस्थापकको १४ अर्ब ८९ करोड ५२ लाख रुपैयाँको १४ करोड ८९ लाख ५२ हजार कित्ता र सर्वसाधारणको १२ अर्ब ७७ करोड ७१ लाख रुपैयाँको १२ करोड ७७ लाख ७१ हजार कित्ता सेयर रहेका छन् । यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नागरिक लगानी कोष र एचआईडीसीएलको ७६ अर्ब ९३ करोड १७ लाख रुपैयाँको ७६ करोड ९३ लाख १७ हजार कित्ता सेयर सूचीकृत छन् । जसमध्ये संस्थापकको ५७ अर्ब ३ करोड २२ लाख रुपैयाँको ५७ करोड ३ लाख २२ हजार कित्ता र सर्वसाधारणको १९ अर्ब ८९ करोड ९४ लाख रुपैयाँको १९ करोड ८९ लाख ९४ हजार कित्ता सेयर रहेका छन् । माथि उल्लेखित समूहका कम्पनीबाहेक अन्य क्षेत्रका कम्पनीहरूको संस्थापक र सर्वसाधारण सेयर भनेर छुट्याइएको छ । तर, एउटै संकेत (सिम्बोल) नम्बरमा कारोबार भइरहेका छन् भने मूल्य पनि एउटै रहेको छ । तर, संस्थापक सेयरको लागि निश्चित समय लकइन अवधि तोकिएको हुन्छ ।  बैंक विज्ञ अनलराज भट्टराई संस्थापक बन्धक बनाएर राख्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताउँछन् । संस्थापक सेयरधनीले आफूसँग रहेको सेयर सम्पत्ति देखाउँदा पनि सहज रुपमा कर्जा नपाउने गरेको उनको भनाइ छ । उनका अनुसार यदि कसैले १५ प्रतिशत साधारण सेयर लिएको छ भने उसले जति पनि कर्जा लिन पाउँछ । तर, २ प्रतिशत संस्थापक सेयर छ भने कर्जा लिन पाउँदैन । ‘कुनै पनि सम्पत्तिलाई चलायमान बनाउनुपर्छ, बन्धक बनाएर राख्नु हुँदैन । संस्थापक सेयर सहज रुपमा कारोबार नै हुन पाइएन । सबै संस्थापक सेयरधनीले व्यवस्थापनमा नियन्त्रण गर्दैनन् । तर, संस्थापक सेयरलाई नियन्त्रण कायमै राख्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन,’ उनले भने ।