कैलाशले ५ वटा हेलिकप्टर उडाउने, पुँजी वृद्धि गर्न सर्वसाधारणमा सेयर निष्काशन गर्ने

काठमाडौं । कैलाश हेलिकप्टरले थप हेलिकप्टर किन्न पुँजी वृद्धि गर्ने भएको छ । हाल ३ वटा हेलिकप्टर उडान गर्दै आएको यस कम्पनीले थप २ वटा हेलिकप्टर किन्ने योजनासहित पुँजी वृद्धि गर्न लागेको छ । हाल ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो कम्पनीले १० प्रतिशत पुँजी वृद्धि गर्न लागेको छ । १० प्रतिशत सेयर सर्वसाधारणलाई बेचेर पुँजी वृद्धि गर्न लागेको कम्पनीले जनाएको छ । विगतमा प्राइभेट कम्पनीको रुपमा सेवा सञ्चालन गर्दै आएको यो कम्पनीलाई कम्पनी रजिष्ट्रार कार्यालयले असोज ८ गते पब्लिक लिमिटेडमा रुपान्तरित हुन स्वीकृति दिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । पुँजी वृद्धिसँगै कम्पनीले हेलिकप्टर पनि थप्ने तयारी गरेको कम्पनीका प्रबन्ध सञ्चालक प्रताव जंग पाण्डेले बताए । हाल कम्पनीसँग ३ वटा हेलिकप्टर रहेको छ । दुई वर्षभित्र थप २ हेलिकप्टर किन्ने योजनासहित कम्पनी अगाडि बढेको उनले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ वर्षमा ५ वटा हेलिकप्टर हुनु पर्ने नियम बनाएकोले त्यसको परिपालना गर्दै कम्पनीले पुँजी वृद्धि र हेलिकप्टर थप्ने योजना अगाडि सारेको समेत उनले बताए ।

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक, एनआइसी एसियाको सर्वाधिक कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ४५ अङ्कले बढेर दुई हजार २२ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका दुई सय ८६ कम्पनीको ८७ लाख चार हजार चार सय ७७ कित्ता शेयर ७८ हजार छ सय १६ पटक खरिदबिक्री हुँदा दुई अर्ब नौ करोड ३८ लाख नौ हजार पाँच सय १८ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव नौ प्रतिशत र वित्त समूहको उपसूचक एक दशमलव ४४ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रोपावर लिमिटेड र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, शुभम् पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मूल्य घट्नेमा भने हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड छ । कम्पनीको शेयर मूल्य पाँच दशमलव ८७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको आठ करोड ३४ लाख ६६ हजार दुई सय २४ रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको चार लाख १४ हजार आठ सय ५० कित्ता शेयर खरिदबिक्री भएको छ ।

मौद्रिक नीतिले ब्याज बढाउने काम मात्रै गर्यो : अम्बिका पौडेल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथा सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलले मौद्रिक नीतिले ब्याज बढाउने काम मात्रै गरेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘मौद्रिक नीतिले गर्दा ब्याज बढिरहेको छ, र कालोसुचीको संख्या पनि मौद्रिक नीतिकै कारणले बढेको हो,’ उनले भने । उनले कर भुतप्रवाही हुनु नहुने बताएका छन् । ‘मर्जर भएका कम्पनी र एफपीओमा कर लाग्ने विषयले निजी क्षेत्रले समस्या भएको छ, कर कानुनको अस्पष्टता नै अहिलेको मुख्य समस्या हो, यसले गर्दा नै अर्थतन्त्रमा समस्या देखिएको हो,’ उनले बताए । सरकारले सेयर बजारलाई अहिलेसम्म मान्यता नदिएको गुनासो गर्दै लगानीकर्ता पौडेलले नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको १२ करोडको सीमा तत्काल हटाउनु पर्ने बताएका छन् । राष्ट्र बैंकको संकुचनकारी मौद्रिक नीतिले समस्या देखिएको बताउँदै उनले राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति गर्न बाहेकको काम गर्न नसकेको बताएका छन् । साथै, राष्ट्र बैंकले हालको नीतिलाई हेरफेर नगरेमा आगामी दिनमा थप समस्या आउन सक्ने र आगामी दिन थप चुनौतीपूर्ण हुन सक्ने उनको भनाई छ । ‘विदेशीने विद्यार्थीको संख्या बढिरहेको छ, सीएहरुको डरलाग्दो पलायनले पनि समस्या आउन सक्छ,’ उनले भने ।