ग्लोबल आइएमई र जनता बैंकको सेयर कारोबार रोक्का

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार भईरहेको ग्लोबल आइएमई बैंकको सेयर कारोबार रोक्का भएको छ । बैंकको यही असार २० गतेको निर्णय अनुसार ग्लोबल आइएई बैंक र जनता बैंकका बीचमा गाभिने सहमति भएकाले मर्जर कार्य सम्पन्न नहुँदासम्म कारोबार रोक्का गरिएको छ । मर्जरका लागि दुई वटै बैंकले नेपल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दिएका छन् । यस्तै जनता बैंकको समेत सेयर कारोबार रोक्का भएको छ । यता, कैलाश विकास बैंकको पनि आजदेखि शेयर कारोबार रोक्का भएको छ । गत शुक्रबार प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो । यी बैंकहरुको मर्जर तथा एक्विजिशन प्रक्रिया पूरा भएर एकिकृत कारोबार भएपछि नयाँ बन्ने बैंकको नाममा सेयर कारोबार खुला हुने नेप्सेले जनाएको छ ।

एनसीसी बैंकले १५.८९ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । एनसीसी बैंकले आफ्ना शेयरधनीलाई १५.८९ प्रतिशत सेयर लाभांश दिने भएको छ । त्यस्तै उक्त लाभांशमा लाग्ने कर प्रयोजनाका लागि ०.८३ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको नाफाबाट सेयरधनीलाई उक्त परिमाणमा लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने बैंकका कम्पनी सचिव कपिल ज्ञवालीले जानकारी दिए ।

४.४५ अंकले घट्यो नेप्से, कारोबारका आधारमा सिभिल बैंक शीर्ष स्थानमा

काठमाडौँ । साताको पहिलो दिन नै आज सेयर बजारमा कारोवारमापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४५ बिन्दुले घटेर एक हजार २५६.०४ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.११ बिन्दुले घटेर २७०.३५ बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेपनि आज कारोवार रकम भने औसत नै देखिएको छ । कूल १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता शेयर रु ५४ करोड पाँच लाख २९ हजार ४६५ मा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर घटेको छ । बैंकिङ ६.७, व्यापार १.३५, जलविद्युत् ३.१६, अन्य ०.४६, लघुवित्त ९.०७, जीवन बीमा ५०.२४ बिन्दुले घटेका छन् । यस्तै होटल ६.८४, विकास बैङ्क ३.१५, वित्त २.६९, निर्जीवन बीमा ३८.३२, उत्पादन ११.०७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज सिभिल बैङ्क शीर्ष स्थानमा पुगेको छ । सो बैंकको रु पाँच करोड ७९ लाख ८० हजार ७४८, मेगा बैंकको रु चार करोड ६९ लाख एक हजार ८८७, नेपाल बैंकको रु चार करोड १० लाख ६३ हजार २२, सेञ्चुरी बैंक रु तीन करोड २६ लाख सात हजार ६२, कुमारी बैंक दुई करोड ५४ लाख १९ हजार २५३ र प्रभु बैंक रु दुई करोड ११ लाख ४९ हजार ३०८ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ९.८६, दिव्यश्वेरी हाइड्रो पावरको ९.२३, रैराङ हाइड्रो पावर ४.६३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४.३७, वेस्ट फाइनान्स कम्पनी ३.९६ र सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले ३.९५ प्रतिशतले कमाए । यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ११.३०, स्वरोजगार लघुवित्त विकास बैंक ४.७४, मिथिला लघुवित्त वित्तीय संस्था ४.७३, खानीखोला हाइड्रो पावर ४.०५ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६१ प्रतिशतले गुमाए ।