बडादसैँको नवौँ दिनः आश्विन शुक्ल अष्टमी ‘महागौरी देवी’को पूजाआराधना गरिँदै

काठमाडौं । बडादसैँ एवं नवरात्रको नवौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिन महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।   किंवदन्तीअनुसार महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान शिवले एकदिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको हो । दोस्रो दिन असोज ७ गते मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन असोज ८ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो । चौँथो दिन बिहीबार र पाँचौँ दिन शुक्रबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । पाँचौँ दिन पनि सूर्योदयकालमा चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीको पूजाआराधना गरिएको हो । यस वर्ष नवरात्रको छैटौँ दिन परेको आश्विन शुक्ल पञ्चमीका अवसरमा शनिबार स्कन्दमाताको पूजाआराधना गरिएको थियो । आश्विन शुक्ल षष्ठीका दिन आइतबार कात्यायनी देवी, आश्विन शुक्ल सप्तमीका दिन सोमबार कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । यसै दिन दसैँघर वा पूजाकोठामा फूलपाती पनि भित्र्याइएको थियो । आश्विन शुक्ल अष्टमीका दिन आज महागौरी देवीको पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको घुइँचो बढ्ने गरेको छ । नवरात्रको सातौँ दिन अर्थात् फूलपातीका दिनदेखि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड बढ्ने गर्छ । यसै दिनदेखि बडादसैँको विशेष रौनक सुरु हुन्छ ।

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा सोमबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टर र ड्रोनबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा दुर्गा बन्दना प्रस्तुत गरिएको थियो ।  फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगको प्रमुख तथा प्रतिनिधि सहभागी थिए । बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो । 

दलहरू निर्वाचनमा जाँदैनन्, मुलुक बहुपक्षीय द्वन्द्वमा फस्दैछ : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले शीर्ष नेताहरू नेतृत्वमा रहिरहन बहानाबाजी गर्न थालेको आरोप लगाएका छन् । जेनजी आन्दोलनको माग नेतृत्व परिवर्तन भए पनि संकटको बेला नेतृत्वलाई जोगाउनुपर्ने भन्दै पुराना नेताहरूले कार्यकर्ताको भावना दोहन गर्न थालेको उनले बताए । महासचिव भुसालका अनुसार मुलुकलाई संकटमा पुर्‍याउने शक्तिहरू नै अहिले आफूलाई बचाउन भाष्य खडा गरिरहेका छन् । 'वास्तवमा यो सारा संकट तिनीहरूले नै ल्याएका हुन्, मुलुकलाई आज यहाँ डुबाउने यिनीहरू नै हुन्,' उनले भने । भुसालले दलका नेताहरू पुनः सत्तामा रहन बहानाबाजी गर्न थालेको दाबी गर्दै यस्तो परिपाटीले दलहरूलाई जनतासामु लैजानै नसक्ने बताए । उनका अनुसार आगामी निर्वाचन गराउन नसक्दा मुलुक अर्कै दिशामा जानेछ । 'चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिहरू सक्रिय छन्। प्रत्यक्ष कार्यकारी राष्ट्रपति लगायत पपुलिस्ट नाराहरू उठाउँदैछन्,' भुसालले भने, 'समाजका पुराना, परम्परागत र राष्ट्रवादी भनिने शक्तिहरूले पनि संविधानविरुद्ध गतिविधि गर्ने संकेत देखिएका छन् ।' अर्थतन्त्रमा ठूलो धक्का लागिसकेको उल्लेख गर्दै उनले यस्ता गतिविधिले मुलुकलाई बहुपक्षीय द्वन्द्वमा फसाउने चेतावनी दिए ।