गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा पूजा महतो ब्रान्ड एम्बेसडर नियुक्त
काठमाडौं । नेपाल ल्युब आयलले हालै पोखरामा आयोजित वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ । रेडीफाइन योर लिमिटस भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा देशभरका ३३ भन्दा बढी व्यवसायिक पार्टनर, कम्पनी सञ्चालक समिति तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समग्र समीक्षा तथा आगामी वर्षका लागि रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो । त्यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने पार्टनरलाई विभिन्न विधामा सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ । सोही अवसरमा नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फ लुब्रिकेन्ट्सको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गर्यो । महतोले हालै आईसीसी यू–१९ महिला विश्वकप २०२५ को टिम अफ द टुर्नामेन्ट मा स्थान बनाउन सफल हुँदै एसोसिएट राष्ट्रबाट यो सम्मान पाउने एकमात्र खेलाडीको रूपमा इतिहास रचेकी थिइन् । कम्पनीका अनुसार महतोको लगनशीलता र अथक मेहनतले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याइरहेको छ र यो सहकार्यले कम्पनीसँगै सम्पूर्ण नेपाली महिला क्रिकेटलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ । ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि महतोले गल्फजस्तो विश्वव्यापी प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले आफूलाई मात्र होइन, भविष्यका महिला क्रिकेटरलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।
टीसीएलको दशैँ–तिहार अफर : लाखौंको छुट र उपहार
काठमाडौं । नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ‘ग्रेटनेस इन एभरी मुभमेन्ट, इन्स्पाएर एभरी सेलिब्रेशन’ नामक दशैँ–तिहार अभियान सुरु गरेको छ । नेपालभरिका ग्राहकलाई उत्सवको रौनक थप गर्ने उद्देश्यले ल्याइएको यो योजनामार्फत टीसीएलले चाडपर्वमा उपभोक्तालाई आकर्षक नगद छुट र पक्का उपहार उपलब्ध गराउने जनाएको छ । अभियान अन्तर्गत ग्राहकहरूले २ लाख ८ हजार २०० रुपैयाँसम्मको नगद छुटसहित विभिन्न उपहार पाउनेछन् । योजनाअनुसार टीसीएल साइड बाइ साइड रेफ्रिजरेटर खरिदमा निःशुल्क वाटर डिस्पेन्सर, कुनै पनि वासिङ मेसिन खरिदमा ६ केजी एरियल डिटरजेन्स, एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा र ४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टेलिभिजन खरिदमा ९ महिनाको नेट टिभी सदस्यता निःशुल्क उपलब्ध हुनेछ । भाद्र १९ देखि सीमित अवधिसम्म लागू हुने यो योजना नेपालभरका सम्पूर्ण आधिकारिक शोरूम र विक्रेतामार्फत कार्यान्वयन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अभियानमार्फत दशैँ–तिहारलाई अझ उत्सवमय बनाउने र ग्राहकलाई उत्कृष्ट प्रविधि तथा विशेष अनुभव प्रदान गर्ने लक्ष्य लिइएको छ।
निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित
काठमाडौं । जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ । निजामती सेवा दिवस २०८२ का आवसरमा आइतबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उनलाई प्रमाणपत्रसहित सो पुरस्कार अर्पण गरेका हुन् । सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मुख्यसचिव एकनारायण अर्याल, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव रविलाल पन्थ उपस्थित रहेको थियो । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज निजामती सेवा दिवस मनाइँदै छ । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको समयमा २०१३ साल भदौ १३ पहिलोपटक निजामती सेवा ऐन जारी भएको स्मरणमा २०६१ सालदेखि सरकारले विविध कार्यक्रम आयोजना गरी निजामती सेवा दिवस मनाउँदै आएको छ ।