चैत्र कृष्ण औँसीः आज परम्परागत घोडेजात्रा पर्व मनाइँदै
काठमाडौं । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।
शनिबार भैरहवामा नेपाल पुलिस र आर्मी भिड्दै
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबी प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीका कप्तानले आफूहरू फाइनलका लागि सम्पूर्ण रूपमा तयार रहेको बताएका छन् । आज भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कपअन्तर्गत सम्पूर्ण खेलहरू पहिलो पटक उपत्यका बाहिर खेल्न पाउनु अभूतपूर्व रहेको टिप्पणी गरे । उपत्यका बाहिर पहिलो पटक खेलिने फाइनल खेलका लागि तयार रहेको भन्दै भोलि सौहार्दपूर्ण वातावरणमा खेल सकिने उनले बताए । भण्डारीले मुलुकभित्र क्रिकेट खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता देशभरि आयोजना गर्नुपर्ने बताए । उपत्यका बाहिर पनि स्तरीय खेल मैदानहरू निर्माण भइसहेकाले अब काठमाडौंमा केन्द्रित हुन आवश्यक नभएको कप्तानद्वयको भनाइ छ । सबै स्थानमा खेल मैदान भएकाले यसले क्रिकेटको विकासमा टेवा पुर्याउने भन्दै उपत्यका बाहिर यो वर्षदेखि खेल खेलाएर क्रिकेटमा विकेन्द्रीकरणको सुरुवात भएको नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले बताए । प्रधानमन्त्री कप क्रिकेटमा राष्ट्रिय टोलीका खेलाडीभन्दा प्रदेशस्तरीय खेलाडीले उल्लेख्य प्रदर्शन गरेका छन् । कप्तानद्वयले विभागीय खेलाडीको प्रदर्शनभन्दा कसरी उदियमान खेलाडीको प्रदर्शन उच्च भएको बताउँदै प्रधानमन्त्री कपको उद्देश्य लुकेका प्रतिभालाई सबैको सामु ल्याउनु रहेको उल्लेख गरे । जारी प्रतियोगितामा ९ खेल खेलेको नेपाल पुलिस आठमा जितसहित प्रतियोगिताको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो भने ९ खेल खेलेको आर्मी पनि ८ मा जित निकाल्दै दोस्रो स्थानसहित फाइनल पुगेको छ । लिग चरणको अन्तिम खेलमा भने त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४ विकेटले हराएको थियो । विसं २०१७ देखि सुरु प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुईपटक उपाधि जितेको छ । आर्मीले एकपटक मात्रै उपाधि हात पारेको छ । गत वर्षको फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो । आर्मी यसपटक जित निकाल्ने योजनामा छ भने राम्रो गतिमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने योजनामा छ । फाइनलमा पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ । पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशमा भएका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट मैदान खेल भएका छन् । कूल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम उपाधिका लागि भोलि प्रतिस्पर्धा हुँदैछ । गत फागुन २५ देखि सुरु खेल भोलि समापन हुनेछ । उपाधि रक्षाका लागि दुवै टिमले आन्तरिक रणनीति बनाएका छन् । भोलि बिहान भैरहवास्थित सिद्धार्थ रङ्गशालामा बिहान ९ बजेदेखि फाइनल खेल हुँदैछ ।
राजावादी बानेश्वरतर्फ जान खोज्दा झडप, प्रहरीले बल प्रयोग गरेपछि फर्किए
काठमाडौं । राजावादी र सुरक्षाकर्मीबीच धकेलधाकल भएको छ । राजावादीले काठमाडौंको तीनकुनेबाट बानेश्वरतर्फ जान खोज्दा प्रहरी र राजावादीबीच धकेलधाकल भएको हो । उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको थियो । अहिले सो झडप रोकिएको छ । प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका छन् ।