राजनीति गर्न र चलचित्र निर्माणका लागि तयार छैन्, अभिनयका लागि प्रस्ताव गर्नुहोस्: मनिषा

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिइन् । उनले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गरिन् । बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन महसुस गरिन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौंमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उनले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताइन् । उनले भनिन्, ‘म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ । पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु ।’ त्यसो त उनले ‘करिअर’ को सुरुआती समयमै नेपाली चलचित्रकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गरिन् । विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उनको बुझाइ छ । उनले अन्तरक्रियाको क्रममा पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका चलचित्रले पाइरहेको सफलताको चर्चा गरिन् । ‘मैले सुरुवाती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन् । म निकै खुसी छु, किनकि अहिले कलात्मक चलचित्रले हामीलाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ किर्तिमान बनाइरहेको छ । यो एउटा चलचित्रकर्मीका लागि सुखद खबर हो,’ अभिनेत्री कोइरालाले भनिन् । कोइरालाद्वारा अभिनित पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ले निकै चर्चा प्राप्त गर्‍यो । भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गरेको सो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो । अभिनेत्री कोइरालाले निर्देशक भन्सालीसँग चलचित्र ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि दोस्रो सहकार्य गरेकी थिइन् । भन्सालीले आफूलाई दिएको भूमिकाका लागि कुनै कसर बाँकी नराखी अभिनय गरेको उनले बताइन् । उर्दु बोल्नु पर्ने भएकाले भाषा विज्ञ राखेर लवज सिकेर काम गरेको स्मरण अभिनेत्री कोइरालाले गरिन् । ‘मैले आफ्नो पात्रलाई जीवन्त बनाउने कोसिस गरेकी थिएँ, सायद सोही कारण उक्त पात्रको चर्चा भयो । अहिले पनि मैले केही काम गरेकी छु, ती मन खुसी भएर इमान्दारीपूर्वक गरिएको काम हो,’ उनले भनिन् । अन्तरक्रियाकै क्रममा अभिनेत्री कोइरालाले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको बताइन् । उनले हाल एउटा पुस्तकमा काम गरिरहेको जानकारी दिइन् ।

नेपालमा लगानी गर्न आउने चलचित्र उद्योगीलाई सहज वातावरण छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मौलिक संस्कृति र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी निर्माण हुने चलचित्रलाई सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने बताएका छन् । आठौँ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आज उनले सांस्कृतिक र पर्यटन प्रवर्द्धन हुने गरी चलचित्र निर्माण गर्ने योजना लिएर आए मन्त्रालयले सहयोग र सहजीकरण गर्ने बताए । गुणस्तरीय चलचित्र निर्माण गर्न सकेको अवस्थामा विदेशीभन्दा स्वदेशी चलचित्रप्रतिको दर्शकको आकर्षण बढी हुने भन्दै मन्त्री पाण्डेले चलचित्र उद्योग भौतिक र अभौतिक सुन्दरता बोक्नेतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । ‘चलचित्र बनाउने विषय निर्माताको विषय मात्रै होइन, एउटा चलचित्र सफल भएको अवस्थामा निर्माता, निर्देशक र कलाकारसहित समग्र मुलुकले त्यसबाट फाइदा लिनसक्छ । निराशाको बढी प्रचार भइरहेका बेला आशाको सञ्चार गर्न पनि चलचित्र प्रभावकारी माध्यम बन्नसक्छ । यसतर्फ ध्यान दिन आवश्यक छ,’ उनले भने । मन्त्रालयअन्तर्गतका ८ वटा धरोहर विश्वसम्पदा सूचीमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसलाई समेटेर चलचित्र उद्योगी अघि बढेको अवस्थामा मन्त्रालयको पनि सहयोग रहने धारणा राखे । ‘यसबाट नेपालले पर्यटन क्षेत्रबाट लाभ लिनसक्छ । चलचित्रकर्मीले विगतका विषयवस्तु र साँघुरो मानसिकताभन्दा माथि उठेर विश्वव्यापीकरणको सोच राख्नुपर्ने आवश्यकता छ । स्वदेशमा लगानी गर्न आउने उद्योगीलाई सहज वातावरण बनाउनुपर्छ । नेपाली चलचित्र बाहिर खिच्नुपर्ने अभ्यासलाई निरुत्साहित गर्नुपर्छ,’ उनले भने । मन्त्री पाण्डेले राष्ट्रिय एकता, सहिष्णुता, धार्मिक एकतासहितको सन्देशसमेत चलचित्रले दिने भएकाले यस क्षेत्रको प्रवर्द्धन गर्न सरकारले काम गरिरहेको बताए । चलचित्रकै माध्यमबाट सांस्कृतिक स्थलहरू पशुपति, लुम्बिनी, जनकपुरजस्ता क्षेत्रको विश्वमा प्रवर्द्धन गर्न सकिने उनको भनाई छ ।

त्रिवि क्रिकेट रङ्गशालाको दिनरात धमाधम काम हुँदै, ५० हजार दर्शक अटाउन सक्ने

काठमाडौं । सरकारको लक्ष्यअनुरुप आगामी वैशाख २४ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट बनाइनसक्न र फ्लड लाइट स्थापना गर्ने कामको गतिलाई तीनवटै सत्रमा तीव्रता दिन थालिएको छ । कामको प्रगति अनुगमन गर्न आज राति ९ बजे प्रधानमन्त्रीको सचिवालयका अधिकृत टोली जनसम्पर्क सल्लाहकार किरण पौडेल, प्रधानमन्त्रीको निजी सचिव विनोद कुँवरसहितको टोली साइटमा पुगेको थियो । टोलीलाई यसबारे जानकारी दिँदै भवन निर्माण मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले अहिले मैदानको चोभार इन्डतर्फ दायाँ र बायाँतर्फ अन्तरराष्ट्रियस्तरका दुईतले प्यारापिट बनाइने बताए । यसका लागि हामी अहिले जग खन्ने काम भइरहेको जनाएको छ । यसैगरी, रङ्गशालाका छ स्थानमा फ्लडलाइट जडान गर्ने काम भइरहेको उनले बताए । यसका लागि अहिले जमिनको सतहमुनि रहने पाइल बनाउने काम भइरहेको जानकारी पनि उनले दिए । कामलाई निर्धारित समयभित्र सम्पन्न गर्न तीनवटै प्रहरमा काम भइरहेका छन् । दिनमा १ सय र राति करिब ६० जना जनशक्ति खटिइरहेका छन् । अहिले करिब १० हजार दर्शक अट्नेगरी ३५ प्रतिशत जमिनमा काम भइरहेको पनि उनको भनाइ छ । सबैतर्फ काम सम्पन्न भएपछि भने ५० हजार जना दर्शक अटाउन सक्ने उनले बताए । निरीक्षणपश्चात विकास निर्माणलाई तीव्रता दिने कुरामा प्रधानमन्त्रीको समेत चासो रहेकाले काममा तीव्रता दिन टोलीले निर्देशन दिएको थियो ।