ब्रिटिस लाहुरेको सपना छोडेर खेलाडी बने दीपक

सुर्खेत । चाहना ब्रिटिस आर्मीमा भर्ती हुने र धेरै पैसा कमाउने भए पनि समय र परिस्थितिले दीपक हमाललाई त्यसो हुन दिएन । आफू र आफ्नो घरपरिवारको आर्थिक अवस्थाका कारण पनि दीपक लाहुरे हुन चाहन्थे। लाहुरे भएपछि धेरै पैसा कमाउने र घरको आर्थिक अवस्थालाई बलियो बनाउने योजना थियो । तर सबैका सबै योजना पूरा कहाँ हुन्छन् अनि सबै सपनाहरु विपनामा साकार पनि त हुँदैनन् । सायद त्यसैले होला दीपकको त्यो सपना सपनामै सीमित हुने रहेछ र उनी खेलाडी दीपकका रुपमा अगाडि बढे। विसं २०४९ असोज १५ गते सुर्खेतको छिञ्चुमा जन्मिएका दीपक आफ्नो सपनालाई त्यागेर उसु खेलतर्फ मोडिनु पनि समयको चक्र नै मान्नुपर्छ । विभिन्न समयमा भएका खेलहरुमा स्वर्ण र कास्य पदकको विजेता बनेका थिए सायद । १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता दीपक ‘प्लस टू’को अध्ययन सकेपछि मात्रै पूर्ण रुपमा खेल क्षेत्रमा होमिने अवसर प्राप्त गरेका हुन्। सुरुमा फिटनेसका लागि खेलकुद रोजेका उसु खेलाडी दीपक पछिल्लो समय राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनिन्छन् । खेलजगत्ले नै उनलाई दीपक बनाएको छ । दीपकले २०६८ सालमा फिटनेसका लागि सेन्सन केन्द्रीय खेलकुद परिषद्बाट उसु खेललाई रोजेका थिए । प्रकाश लामाबाट प्रशिक्षण लिएका उनले दुई वर्षपछि २०७० सालमा नेसनल च्याम्पियन सुरु गरेका थिए । त्यसलगत्तै उनले २०७० मा नवौँ राष्ट्रिय उसु च्याम्पियनसिपमा प्रतिस्पर्धा गरे । आफ्नो डेब्यु प्रतियोगितामा उनले पदक त जित्न सकेनन् तर पनि सम्भावनाको यात्रामा पछि हटेनन् । लगातारको मिहेनत र निरन्तरको प्रयासले नै सम्भावनाको ढोका खोल्न भने सफल भए उनी । डेब्यु प्रतियोगितामा चौथो भएका उनले २०७३ सालमा विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुदमा मध्यपश्चिमबाट खेलेका उनले थाइल्यान्डमा स्वर्ण पदकसमेत जितेका थिए । यसले एकातिर हौसला र अर्कोतिर अझ दृढ भएर लाग्ने प्रेरणा मिलेको थियो उनलाई । आफ्नो दोस्रो सहभागितामै स्वर्ण जित्न सफल हमालले रसियामा सन् २०१८ मा भएको १४औँ वल्र्ड उसु च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भए । पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता खेलेका उनले खासै पदवी नै हात पार्न नसके पनि ६८ राष्ट्रमध्ये आफूलाई २०औँ स्थानमा उभ्याउन सफल भए । त्यस्तै, सन् २०१९ मा चीनको सङ्घाइमा भएको १५औँ वल्र्ड उसु च्याम्पियनसिपमा पनि उनी उत्कृष्ट खेलाडी २० भित्र पर्न सफल भए । त्यसपछि स्वदेशमै आयोजना भएको १३औँ सागमा स्वर्ण जित्दै हमालले इतिहास रच्न सफल भए । विश्वलाई हलचल बनाउने कोभिड–१९ का कारण २ वर्ष अन्तरराष्ट्रिय सहभागिता जनाउन नपाएका उनले गत वर्ष चीनको हाङचाओमा आयोजना भएको १९औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा सहभागी २० मध्ये उनले १२औँ स्थान हासिल गरे । हालै चीनको जिङज्याङ सहरमा आयोजना भएको वल्र्ड कपको छनोटमा उनले दुई कास्य पदक हात पारेका थिए । उनले नानछ्वान र तुइलिनमा तेस्रो स्थान हात पारे । यसले उनलाई अझै मिहेनतको खाँचो छ भन्ने कुरा आफैँले महसुस गराएको छ । यससँगै उनी आगामी अक्टोबरमा जापानमा हुने प्रतियोगितामा छनोट हुन पनि सफल बने । यसमा सफलता हात पार्ने मात्र होइन, आफूप्रतिको खेलको क्षेत्रको विश्वाससमेत दिलाउने गरी मिहेनत गरिरहेका छन्। यतिबेला उसु वल्र्डकपलगायतका प्रतियोगिताका लागि खेलाडीहरूले तयारी गरिरहेका छन् । ‘उसु वल्र्डकप लगायतका प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित प्रकाश महर्जन गुरुले प्रशिक्षण गराइराखेको उनले बताए । उनले भने, ‘नेपाल उसु महासङ्घले पनि वैदेशिक प्रशिक्षण गराउने आश्वासन दिएको छ । यसले गर्दा ममा अझै पनि हौसला थपिएको छ’, उनी भन्छन्, ‘वैदेशिक प्रशिक्षण राम्रो भएमा अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन धेरै नै मद्दत पुर्याउँछ ।’ एउटै खेलको दुईवटा महासङ्घ हुँदा समस्या भएको बताउँछन्, दीपक । ‘दुईवटा महासङ्घ हुँदा खेलाडीले दुःख भोग्नु परिरहेको छ । कुन कामका लागि कुन महासङ्घमा जाने भन्ने समस्या छ,’ उनी भन्छन्, ‘अन्तरराष्ट्रिय मान्यता प्राप्त महासङ्घले भने खेलाडीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । तर, पनि दुईवटा सङ्घ हुँदा समस्या त भइहाल्छ । एउटाले एउटा विषयको उठान गरिरहेको बेलामा अर्कोले अर्कै विषयवस्तुको उठान गरिदिन्छ ।’ पछिल्लो समय उसुका दुई महासङ्घ छन् । जनक बर्तौला नेतृत्व महासङ्घलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छभने वीरबहादुर लामा नेतृत्वको महासङ्घलाई नेपाल ओलम्पिक कमिटी र अन्तरराष्ट्रिय उसु महासङ्घको मान्यता छ । ‘कर्णालीको हुँभन्दा गर्व लाग्छ’ दीपकले राष्ट्रिय प्रतियोगिताहरू कर्णाली प्रदेशबाट खेल्दै आएको छ । कर्णालीबाट खेल्दा आफूलाई गर्व लाग्ने दीपक बताउँछन् । ‘आफू जन्मिएको ठाउँ चिनाउन पाउँदा गर्व लाग्दो रहेछ । मलाई विभागीय टोलीबाट धेरैपटक ‘अफर’ आयो । तर मैले विभागका नामबाट भन्दा आफ्नै प्रदेशबाट खेल्ने निर्णय लिएर अहिलेसम्म अघि बढिरहेको छु’, उनले भने, ‘कुनै पनि विभागमा गइनँ तर, विभाग बाहिरका खेलाडीका लागि समस्या नै समस्या छन् । सबैभन्दा ठूलो समस्या त आर्थिककै छ ।’ खेल जीवनबाट आफू सन्तुष्ट भए पनि राज्यबाट पाउनुपर्ने सेवासुविधा नपाउँदा भने निकै नै गाह्रो हुने दीपकको अनुभव पनि छ । सरकारले आश्वासन मात्र दिन्छ खेलाडीका लागि पछिसम्मको भविष्य सोचेर सेवा सुविधा दिनएको भए खेललाई अगाडि बढाउन सकिने उनको भनाइ छ । कर्णाली आफैँमा दुर्गम जिल्ला हो, त्यसमा पनि खेललाई अगाडि लैजानमा निकै चुनौतीपूर्ण रहेको उनी बताउँछन् । उनी राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको विशेष प्रशिक्षणमा सहभागी भएको छ । परिषद्ले बिहानको खाजा खर्च मात्रै दिँदै आएको छ । आफ्नो घर छोडेर बाहिर बस्नुको पीडासँगै खाजा खर्चले काठमाडौँमा बसेर प्रशिक्षण गर्न निकै समस्या हुने गरेको उनको गुनासो छ । यसले उनलाई खेलबाटै अघि बढेर भविष्यका लागि खेलाडी उत्पादन गर्ने र आफू कोचका रुपमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जागेको छ । सन् २०१७ मा पहिलोपल्ट रसियाका लागि नेपालबाट खेल खेल्न जाँदा प्रशिक्षकहरु साथमा नहुँदा आफूहरु एक्लो भएको महसुस भएको त्यो दिनलाई उनले अहिले पनि भुल्न सकेको छैन । रसिया खेल खेलियो तर आफ्नो समर्थनमा कोही नहुँदा ‘नर्भस’ भएर पनि खेल हारिएको हो कि जस्तो लाग्छ उनलाई । अन्य देशका खेलाडीहरुको उत्साहका लागि गरिएका व्यवस्थापनको व्याख्या गर्ने हो भने एउटा बनावटी कहानी जस्तो लाग्न सक्छ धेरैलाई । त्यो खेलसँगै आफ्नो प्रशिक्षकहरुको पनि साथ भएको भए सायद खेल जित्न पनि सकिन्थ्यो जस्तो उहाँलाई अहिले पनि लाग्दछ । बाल्यकालसँगै लाहुरेको सपना सानैदेखि निकै चकचके स्वभावका उहाँ पढ्नमा भन्दा खेल्नमा बढी समय खर्चिन चाहन्थे । दीपकको बाल्यकाल भेरीगङ्गामा नै बित्यो । १–५ कक्षासम्म उनी घर नजिकैको अमिलाचौर प्राथमिक विद्यालयमा अध्ययन गरेको थियो । त्यसपछि उनले छिञ्चु बजारमा रहेको शारदा माध्यमिक विद्यालयबाट १० कक्षा पास गरेपछि अभिभावकले छोराले राम्रोसँग पढोस् र भविष्यमा आफ्नो सहारा बनोस् भन्ने लागेर आफूले सकेको दुःखजिलो गर्दै उनलाई काठमाडौँ पढ्न पठाएको थियो । सानै उमेरबाट खेल्न मन पराउने उनमा खेललाई नै जीवन बनाउने सोच भने थिएन । उनी भन्छन्, ‘पहिले मेरो सपना भनेको लाहुरे हुने देश र जनताका निम्ति केही गर्छु भन्ने सोचेर २०७७ सालमा ब्रिटिस लाहुरे हुन गएको थिएँ ।’ ब्रिटिसमा भर्ती हुन नसकेपछि शरीरलाई राम्रो बनाउन खेलमा प्रवेश गरेका थियो दीपक । उनी अहिले पनि खेल क्षेत्रलाई अघि बढाउने र कर्णाली देशव्यापी रुपमा कसरी चिनाउने भन्ने चिन्तामै छन् । उनले १३ वर्ष खेल क्षेत्रमै बिताइसकेका छन् । खेलकुदबाट देशका सातै प्रदेश तथा चीन, रसिया, थाइल्यान्ड, साउथ कोरिया जापानलगायतका देशमा भएका प्रतियोगिताहरुमा सहभागी भइसकेका छन् । रासस

महाशिवरात्रिमा आकर्षक बनाइँदै पशुपति क्षेत्र, झन्डा आकारमा सजाइए बत्ती

काठमाडौं । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ । बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ । विभिन्न स्थानमा नेपालको झन्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई थप आकर्षित गरिरहेको छ । भुवनेश्वरीमार्गदेखि नै बत्ती र फूलले आकर्षक सजावट गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए । बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि अन्तिम चरणमा पुगेको छ । रङरोगनले पशुपति क्षेत्र आकर्षक बेनेको छ । नेपालको झन्डा आकारमा सजाइएका बत्ती र फूलले आकर्षक देखिएको बालाजुबाट पशुपति क्षेत्र आएका दीपकप्रसाद घिमिरेले बताए । महाशिवरात्रिको तयारीका लागि कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समिति अन्तर्गत नौ उपसमिति छन् । कोषका सदस्य सचिव थापाको संयोजकत्वमा सुरक्षा व्यवस्था उपसमिति, कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा अनुगमन तथा तथ्याङ्क सङ्कलन व्यवस्था उपसमिति, परिषद् सदस्य हरिप्रसाद ढकालको संयोजकत्वमा स्वयंसेवा परिचालन व्यवस्था उपसमिति तथा परिषद् सदस्य शिक्षित पराजुलीको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था उपसमिति गठन गरिएको छ । यसैगरी परिषद् सदस्य डा. भरतप्रसाद बडालको संयोजकत्वमा साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति, परिषद् सदस्य राजुकुमार खत्रीको संयोजकत्वमा प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमिति, परिषद् सदस्य बाबुशरण सुवेदीको संयोजकत्वमा आवास/भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उपसमिति, परिषद् सदस्य रामेश्वर सँगतको संयोजकत्वमा मन्दिर दर्शन, चन्दन वितरण एवं रात्रीकालीन व्यवस्था उपसमिति, परिषद् सदस्य रेणुका पराजुलीको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमिति तथा कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीको संयोकत्वमा महाशिवरात्रि पर्व-२०८१ को सचिवालय गठन गरिएको छ । महाशिवरात्रिको तयारीका लागि गठन भएको मूल समारोह समिति र ९ वटै उपसमितिले आफ्नो कार्य क्षेत्र अनुसारका तयारीलाई अन्तिम चरणमा पुर्‍याएको कोषका सदस्य सचिव थापाले बताए ।

उपन्यासकार घिमिरे सम्मानित

काठमाडौं । नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौडाद्वारा आयोजित ‘दोस्रो नवसर्जक उत्सवमा’ लेखक तथा उपन्यासकार केशव घिमिरेलाई नवसर्जक प्रतिभा सम्मान प्रदान गरिएको छ । नयाँ लेखकहरुलाई हौसला र उनीहरूको साहित्यप्रतिको योगदानको कदर गर्दै दिइने यो पुरस्कार २०८१ मा बागमती प्रदेशबाट उपन्यासकार घिमिरेलाई दिएको हो । अग्रज स्रष्टाका रूपमा प्राध्यापक डाक्टर चुडामणि बन्धु, कोशी प्रदेशबाट चिन्तामणि निरौला, मधेश प्रदेशबाट सरोजप्रसाद शाह, बागमती प्रदेशबाट केशव घिमिरे, गण्डकी प्रदेशबाट रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट निशा पाण्डे, कर्णाली प्रदेशबाट शिवराज शाही र सुदूरपश्चिम प्रदेशबाट सुनिल बुढा ’कछुवा’ सम्मानित भएका छन् । साहित्य क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका घिमिरे नवसर्जक प्रतिभाका उत्कृष्ट नवसर्जकका रूपमा चयन भएका छन । घिमिरे विगतका एक दशकदेखि कलम चलाउँदै आएका छन र उनको तीन वर्ष अगाडि नै ’रुपीका’ नामक उपन्यास बजारमा आइसकेको छ । प्रदेश स्तरीय छनोटमा केशव घिमिरे प्रथम स्थानमा छनोट भएको हुँदा उनलाई ’टिका ईश्वरी स्मृति नवसर्जक प्रतिभा सम्मान २०८१’ द्वारा सम्मान गरिएको हो। यस स्मृतिका संरक्षक गोकर्ण सुवेदी र जयन्ती अर्याल रहेका छन् । केशव घिमिरे विगतका लामो समयदेखि निरन्तर रूपमा लागि परेको र साहित्यलाई एक उचाइमा पु¥याउनको लागि उनले दिएको योगदानको कदर गर्दै यो सम्मान उनलाई अर्पण गरिएको हो । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका र नेपाली साहित्यका विभिन्न साहित्य संस्थाहरु, प्रज्ञा प्रतिष्ठान, वाङ्मय प्रतिष्ठान र अन्य विभिन्न साहित्यिक क्रियाकलापमा सक्रिय रूपमा अनवरत रुपमा लागि पर्दै आएका छन ।