वसन्तपञ्चमी पर्वः केशोर र बयरको बजार जम्दै
काठमाडौं । वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरीसहित मधेसका बजारमा केशोर (माटोमुनि फल्ने फलविशेष) र बयर (रूखमा फल्ने फलविशेष) उत्पादक किसानको व्यस्तता बढेको छ । मधेसको पनि खासगरी प्राचीन मिथिला क्षेत्रमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरिने वसन्तपञ्चमी पर्वमा केशोर र बयर मुख्य प्रसाद सामग्री बन्ने परम्पराले अहिले यी फसलका बजार जम्दै गएका हुन् । यसपालि आउने सोमबार यो पर्व परेको छ । मिथिलामा श्रीपञ्चमी पनि भनिने यो पर्वमा बस्तीबस्तीका शिक्षण संस्थामा विशेष उत्सवका रूपमा सरस्वती पूजनोत्सवको अनुष्ठान आयोजना गरिने परम्परा छ । कतिपय घरघरमा पनि वसन्तोत्सव मनाइने परम्पराले यो पर्वविशेषमा केशोर र बयरको माग हुनेहुँदा अहिले यी फसलका उत्पादक किसानलाई भ्याइ नभ्याइ परेको हो । महोत्तरीमा उत्तरी क्षेत्रका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा केशोरको व्यावसायिक खेती गरिँदै आइएको छ । बालुमिश्रित खुकुलो माटोमा केशोरखेती फस्टाउने हुँदा जिल्लाका उत्तरी क्षेत्र यो खेतीको उर्वर ठाउँ हो । केशोर खनिएको ७८ दिनसम्म ताजै रहने हुँदा यो खेतीका किसानलाई पर्वको एक साता पहिलेदेखि नै खन्ने, धुने र बजार पुर्याउने तल्लिनताले छोप्छ । महोत्तरीको केशोर जिल्ला बाहिरका बजारमा लगिने हुँदा अहिले व्यापारी किसानका खेतखेतमै पुगेर पनि लिने गरेका छन् । गुलियो स्वादमा अत्यन्त रसिलो हुने यो फल स्वास्थ्यवद्र्धक मानिन्छ । माघ नै यसको फसल लिने समय भएका हुँदा सरस्वती पूजनोत्सवमा मौसमी फलका रूपमा यसको प्रयोग परम्परा बसेको हुनसक्ने पाका मैथिल बताउँछन् । ‘केशोर माघमै उत्पादन लिइने फसल र वसन्तपञ्चमी पनि यसै महिनामा पर्नेहुँदा यो पर्वमा मौसमी फलका रूपमा प्रयोग गरिने परम्परा चलेको हुनपर्छ,’ मैथिल परम्पराका ज्ञाता गौशाला–११ का ७५ वर्षीय लक्ष्मीप्रसाद महतो भन्छन् । यहाँका किसानले केशोर नजिकका ढल्केबर, लालबन्दी र बर्दिबाससहितका कृषि थोकबजारमा पुर्याउँछन् । अहिले खुद्रामा प्रतिकिलोग्राम रू ५० सम्म बिक्ने केशोर सप्रिदा प्रतिकठ्ठा २० मन (४० किलोको एक मन हुन्छ) सम्म फल्ने हुँदा यो नगदेखेतीका रूपमा लगाइने गरिएको बर्दिबास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादव बताउँछन् । रोपिएको एक सय दिनभित्रै उत्पादन लिन सकिने यो खेती नगद जोहोको मुख्य फसल भएको यादवको भनाइ छ । जिल्लामा केशोरको व्यावसायिक खेती लगभग एक हजार हेक्टरमाथि हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा केशोरको व्यावसायिक खेती हुँदै आए पनि माघमै पाक्ने बयरको भने खेती हुनसकेको छैन । जिल्लामा बयर बाक्लै फस्टाउन सक्ने माटो भए पनि यो खेतीमा किसान लागेका देखिँदैनन् । तर खेतबारी र पाखामा बाक्लै भेटिने स्थानीय जातका बयर श्रीपञ्चमी नजिकिएपछि किसानले टिपेर बजार पुर्याउने गरेका छन् । पर्वमा बयरको प्रयोग परम्परा रहेको र यहाँ उत्पादित बयरले माग धान्न नसकेपछि अहिले यहाँका बजारमा उन्नत जातका ठुल्ठूला बयर फल भारतबाट आउने गरेका पाइएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत राजकिशोर यादव बताउँछन् । यहाँको माटोमा बयर फस्टाउने हुँदा किसानले उत्साह देखाए उन्नत जातका बयरका बिरूवा ल्याउन सकिने यादवको भनाइ छ ।
बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ । आज बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो । मेला भर्न नेपालका विभिन्न स्थान र भारतको विहार तथा उत्तर प्रदेशबाट भक्तजन आएका छन् । माघे औँसीका दिन नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणीधाममा स्नान गरेर सूर्यको आराधना गरेमा चिताएका पूरा हुने तथा पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास छ । मेलालाई व्यवस्थित गर्न विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहको संयोजकत्वमा गठित उपसमितिले आवश्यक व्यवस्था गरेको तथा सशस्त्र प्रहरी बलसहितको सुरक्षाकर्मीको टोली परिचालन गरेको छ । ‘स्वर्ण भद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीका घाटहरू स्नानका लागि व्यवस्थित बनाइएको छ,’ वडाध्यक्ष शाहले भने, ‘नारायणी नदीमा डुङ्गा तरेर चितवन निकुञ्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को लागेको छ ।’ श्रद्धालुहरु गएराति जागा भएर आज स्नानपछि पूजाअर्चना गरेर गन्तव्यतर्फ लागेका छन् ।
डीएभी कलेजको ‘उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता हुँदै, विजेतालाई ३ लाख नगद
काठमाडौं । ललितपुरको जावलाखेलस्थित डीएभी कलेज (प्लस टु) ले १६ माघमा ‘उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता २०८१’ आयोजना गर्ने भएको छ । देशकै सर्वाधिक धनराशिको भनेर दाबी गरिएको उक्त प्रतियोगिता खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बताइएको छ । कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता टिमले ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ । ऐतिहासिक रूपमा सञ्चालन गरिने उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ४० वटा टिमलाई मात्र सहभागी गराइने बताइएको छ ।