न्यु इयर इभमा द क्लिफमा प्रकाश सपुतको लाइभ प्रस्तुति हुने

काठमाडौं । आगामी ३१ डिसेम्बरका दिन कुष्माको द क्लिफमा प्रकाश सपुतले सङ्गीतिक प्रस्तुति दिने भएका छन् । सो अवसरमा द क्लिफ रिसोर्टमा बस्न २० प्रतिशत छुटमा बुकिङ भइरहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । न्यु इयर इभ कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपुतको प्रस्तुतिसँगै, फायर डान्स र लाइभ म्युजिकको मज्जा लिन पाइनेछ । नयाँ वर्षमा क्लिफमा जाने अतिथि र आसपासका स्थानीयलाई समेत लक्षित गर्दै उनीहरूको मनोरञ्जनका लागि सपुतलाई निम्त्याइएको हो । कार्यक्रम साँझ ६ बजे सुरू हुने क्लिफले जनाएको छ । सो कार्यक्रममा सहभागि हुनका लागि पहिल्यै अर्ली बर्ड टिकट लिँदा ३‌ सय‌ रुपैयाँ तोकिएको छ । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । पछिल्लो समय एडभेञ्चर हबको रुपमा बिकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् । क्लिफले नयाँ वर्षको अवसरमा यसअघि नाइट बन्जीजम्प लगायतका कार्यक्रमहरु गरेको थियो ।

बुधबार हायात रिजेन्सीमा सोनु निगमको प्रस्तुति : टिकट एक लाखसम्म, १० हजार दर्शकबाट ५ करोड उठाउने तयारी

काठमाडौं । बलिउडका चर्चित गायक सोनु निगमको बुधबार काठमाडौंमा कन्सर्ट हुने भएको छ । क्रिसमस डेको अवसरमा पुस १० गते बुधबार हायात रिजेन्सी होटलको मैदानमा ‘सोनु निगम लाइभ इन नेपाल’ हुन लागेको हो । नेपाली टच नेपालले आयोजना गर्न लागेको कन्सर्टका लागि टिकट बिक्री भइरहेको छ । आयोजकले ७० प्रतिशत टिकट बिक्री भइसकेको जानकारी दिएको छ । आयोजकले न्यूनतम ५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म टिकट शुल्क तोकेको छ । कन्सर्टमा प्रवेश गर्नका लागि जर्नल लागि पाँच हजार, प्लाटिनम टिकटको ७ हजार, भीआईपीको लागि १८ हजार र भीभीआईपीको लागि एक लाख रुपैयाँ शुल्क तोकेको छ । कन्सर्टमा सोनुले भारतीयसहित उनले स्वर दिएका ’उकाली ओराली गर्दै’, ’फूलको डाली–डालीमा’ जस्ता नेपाली गाउने बताइएको छ । कन्सर्टमा १० हजार दर्शकको उपस्थिति रहने आयोजकले जानकारी दिएकाे छ । सोनु निगम कन्सर्टकै दिन काठमाडौं आउने तयारी छ। उनको बसाइँ कति दिनको हुने आयोजकले खुलाएको छैन । अहिले कन्सर्टका लागि स्टेज निर्माणको काम धमाधम चलिरहेको छ । टिकटबाटै आयोजकले ५ हरोड रुपैयाँ असुल गर्ने योजना बनाएको छ । सोनुलाई कति शुल्क तिरेर नेपाल ल्याइँदैछ भन्ने विषय भने खुलाएको छैन । यो कन्सर्टको मुख्य प्रायोजक दिपल गाडी रहेकाे छ ।

नेपाल भलिबल लिगको मुख्य प्रायोजक केडिया ग्रुप

  काठमाडौं । नेपाल भलिबल संघ (एनभीएल)ले आगामी फागुनमा आयोजना गर्ने नेपाल भलिबल लिग २०२४ को मुख्य प्रायोजकको रूपमा केडिया ग्रुप आवद्ध भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमको आयोजना गरी केडिया ग्रुपले नेपाल भलिबल लिगको मुख्य प्रायोजकका लागि एनभीएलसँग सहकार्य गरेको हो । खेलमा ७ टिम रहनेछन् । प्रत्येक टिममा नेपाली खेलाडी ९/९ जना  र ३/३ जना विदेशी खेलाडी रहनेछ्न् । कुल १५ लिग खेल र एउटा फाइनल गरी १६ वटा खेल खेलाइने आयोजकले जनाएको छ । खेल ९ दिनसम्म चल्नेछ । यसैगरी, कार्यक्रममा १५ जना भलिबल खेलाडीलाई पुरस्कारसहित सम्मान गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल भलिबल लिग २०२४ को लोगो अनावरण गरे । यस्तै, मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा ‘उचाइको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे । यो स्लोगनको अर्थ नेपालको सबै ठाउँमा खेलिने खेल भलिबललाई झन् व्यवस्थित तथा व्यावसायिक बनाइ नयाँ स्थान स्थापित गर्नु हो। केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप उचाइमा पुर्‍याउने लक्ष्यका साथ उचाइको उडान स्लोगन राखिएको बताए । कार्यक्रममा केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमारले आउने दिनमा कभर्डहल निर्माणका लागि सबै मिलेर सरकारलाई पहल गर्नुपर्ने बताए । पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच गत जेठमा ७ वर्षको लागि सम्झौता भइसकेको छ ।सम्झौताअनुसार केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँ प्रदान गर्नेछ । बिमल केडिया । लिग सम्पन्न गर्न लाग्ने सम्पूर्ण खर्च केडिया ग्रुपले बेहोर्ने जनाइएको छ । प्रतियोगिताको पहिलो संस्करण काठमाडौंमा हुनेछ भने अन्य संस्करणहरू होम एन्ड अवेका आधारमा अन्य सहरहरूमा खेलाइने संघको योजना छ । कार्यक्रममा नेपाल खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंक घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दलगायत पनि सहभागी थिए ।