ग्लोबल आइएमई बैंकले जित्यो अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि
भैरहवा । बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैंक बिजयी भएको हो । बिजयी हुँदै ग्लोबल आइएमईले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको एनएमबि बैकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । २९ टिमबिच भएको तिनदिने प्रतियोगिताको अन्तिमदिन आज १६ टिमबिच क्वाटर, सेमी र फाईनल खेल भएको थियो । यस्तै प्रतियोगितामा ग्लोबल आइएमई बैंकका बमबहादुर भुजेल सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भने ग्लोबल आइएमई बैंककै दुर्गा ओलीले १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए । यस्तै सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैंकका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैंकका दुर्गा ओली बन्न सफल भएको आयोजकले जानकारी दिएको छ । उपाधि बिजेता, उपविजेता तथा खेलाडिहरूलाइ नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गरे । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले खेलको उद्धाटन गरेका थिए ।
खेल पर्यटनको माध्यमबाट नेपाल-चीन सम्बन्ध प्रगाढ बनाउनुपर्ने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खेल पर्यटनको माध्यमबाट नेपाल-चीन सम्बन्ध थप प्रगाढ बनाउँदै विकासको गतिमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपाकिला, चिनियाँ दूतावास र हिमालयन टुरिज्म फोरमद्वारा आज पोखरामा आयोजित तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिताको उद्घाटन गर्दै उनले प्रकृति र संस्कृतिको धनी नेपालमा चिनियाँ पर्यटक आएर यहाँका प्रकृति र संस्कृतिसँग रमाउने विश्वास व्यक्त गरे । नेपाल सरकारले सन् २०२५ लाई नेपाल-चीन पर्यटन वर्षका रुपमा मनाउन लागेको जानकारी दिँदै मन्त्री पाण्डेले पर्यटन वर्षमा धेरैभन्दा धेरै चिनियाँ नेपाल आउने र नेपालीहरूसमेत चीनका विभिन्न ठाउँमा घुम्न जाने बताए । नेपाली र चिनियाँ नागरिक एकापसमा घुलमिल हुनु आवश्यक भएको बताउँदै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न र कोरला नाका व्यवस्थित रुपमा सञ्चालन गर्न पहल भइरहेको बताए । नेपाल धार्मिक पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण गन्तव्य भएको बताउँदै उनले मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी र जानकी मन्दिर जस्ता प्रसिद्ध स्थल रहेको बताए । नेपाल-चीन कूटनीतिक सम्बन्ध भएको ७० वर्ष पुग्न एक वर्ष बाँकी रहेको बताउँदै मन्त्री पाण्डेले यो लामो सम्बन्धलाई प्रगाढ बनाउँदै नेपालले अगाडि बढ्न चाहेको उल्लेख गरे । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल र चीनको सम्बन्ध प्रगाढ बनाउन दुई वर्षदेखि नेपलका विभिन्न सहरमा खेलकुदका गतिविधि सञ्चालन हुँदै आएको बताए । नेपाल-चीन कूटनीतिक सम्बन्ध भएको ७० वर्ष पूरा हुने अर्को वर्ष चीनमा भव्य रुपमा कार्यक्रम गरी मनाउने उनको भनाइ छ । नेपाल र चीनबीच खेलकुद तथा संस्कृतिका पक्षलाई व्यापक बनाउन नेपालमा यस्ता गतिविधि भएको बताउँदै उहाँले यस्ता कार्यले नेपाल र चीनबीचको मित्रतालाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउन यो प्रतियोगिता महत्वपूर्ण बन्ने उल्लेख गर्दै नेपाल र चीनबीचको पर्यटकीय गतिविधिमा पनि यसले महत्वपूर्ण भूमिका खेल्ने बताए । राष्ट्रिय खेदकुद परिषद्का कार्यवाहक महासचिव अञ्जना श्रेष्ठले खेल पर्यटनको सम्भावनालाई यस किसिमका प्रतियोगिताले टेवा पु।्याउने धारणा राख्नुुभयो । प्रतियोगिताअन्तर्गत पोखरास्थित लेकसाइडको बाराहीघाटबाट विभिन्न चार विधामा प्रतिस्पर्धा भएका छन् । प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड आयोजना गरिएको छ । पर्वतीय दौडमा खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइकलिङ र रोइङ (बोटिङ) गर्नुपर्ने हुन्छ । दौडका क्रममा खेलाडीले कूल २ हजार २५८ मिटर उचाइ पार गर्नेछन् । त्यस्तै च्यालेन्ज इण्डिभिजुअल समूहमा ५० किलोमिटरको ट्रेलमा २ हजार ३६६ मिटरको कुल उचाइ पार गर्नेछन् । ५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट पुगेर सम्पन्न हुनेछ । यसका लागि बाराहीचोकदेखि ड्यामसाइडसम्मको मार्ग तय गरिएको छ । ५० किलोमिटर टिम समूहमा प्रथम हुनेले ४ लाख ५८ हजार ४ सय रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुनेले मेडल र प्रमाणपत्रसहित ३ लाख ४३ हजार ८ सय रुपैयाँ र तेस्रो हुनेले २ लाख २९ हजार २ सय रुपैयाँ पाउनेछन् । यस्तै चौथोलाई १ लाख ५२ हजार ८ सय रुपैयाँ र पाचौँलाई ९५ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । यस दौडमा ६४ जना चिनियाँसहित १ हजार २ सय धावक सहभागी बनेका छन् । च्यालेन्ज इन्डिभिजुअल दौड समूहमा शीर्ष १० पुरुष तथा महिलाले नगद, मेडल र प्रमाणपत्र पाउनेछन् । यस प्रतियोगितामा प्रथमका लागि १ लाख ५२ हजार ८ सय रुपैयाँ, दोस्रोका लागि १ लाख १४ हजार ६ सय रुपैयाँ र तेस्रो हुने खेलाडीले ७६ हजार ४ सय रुपैयाँ प्राप्त गर्नेछन् । चौथोदेखि सातौँ हुने खेलाडीका लागि ३८ हजार २ सय रुपैयाँ र आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीका लागि १९ हजार १ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । यस दौडमा एक सय जना नेपाली र ५२ चिनियाँ गरी १५२ जनाले सहभागिता जनाएका छन् । विद्यार्थी दौडमा शीर्ष छ (महिला/पुरुष दुवै) खेलाडीका लागि नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रथम हुनेका लागि ३० हजार रुपैयाँ, दोस्रोका लागि २५ हजार रुपैयाँ र तेस्रोका लागि २० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ । चौथोदेखि छैठौँ हुने खेलाडीले १०/१० हजार रुपैयाँ पाउनेछन् । विद्यार्थी दौडमा पाँच सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन् । यस्तै ह्याप्पी रनमा सहभागी हुने खेलाडीले प्रमाणपत्र मात्र प्राप्त गर्नेछन् । ह्याप्पी रनमा करिब छ सय जनाले सहभागिता जनाएका छन् ।
पुस्तक समीक्षाः ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पछ्याउँदा
काठमाडौं । लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैन । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । नेपाल भूगोलमा सानो भए पनि पनि विश्वमा यसको अलग्गै पहिचान बनाउने मुख्य तीन आयाम भूगोल, प्रकृति र संस्कृति नै हो । कुनै पनि राष्ट्रको संस्कृति भनेको त्यस देशको सम्पत्ति हो । त्यसमा पनि लोकसंस्कृतिले जनताका धड्कनलाई बोक्ने हुँदा लोकसमुदायका आँशुहाँसो, सुखदुःख, मिलनबिछोड, जीवनयापनका अनेक उकालीओराली, लोकपरिवेश, लोकमान्यता र लोकविश्वासको प्रतिनिधित्व गर्छ । हाम्रा पहिचान बनेका संस्कृति, वेशभूषा, परम्परा र रीतिरिवाजलाई लोकभाकाका माध्यमबाट जीवन्त राख्ने अनेक लोकभाकामध्ये ठाडो भाकाको आफ्नै वैशिष्ट्य छ । लोकसंस्कृतिको मुहान नै मान्ने गरिएको गण्डकी क्षेत्र, त्यसमा पनि लमजुङ जिल्लामा बढी गाइने यस गीतको महिमा मुलुकमा मात्र सीमित नरहेर विश्वका कुनाकुनामा फैलिँदो छ । यसको लय नेपाली गीतसङ्गीतका स्रोता र पारखीका हृदयमा अमिट छाप छाड्न सफल भएको छ । ठाडो भाकामा सामान्य लोकगीतभन्दा केही फरक शैली र मौलिकपन छ । यसमा गीत गाउने पुरुष उभिएर अर्थात् ठाडै भएर गाउने भएकाले यसलाई ठाडो भाका भनिएको हुनसक्छ । सामान्यतः यसमा महिला नाच्दैनन्, तिनले बसेरै गाउँछन् । ठाडो भाकामा एउटा समूह नेताले पहिला चरणमा अघिल्लो फेद भन्ने र दोस्रो चरणमा अन्त्यानुप्रास मिलाउँदै उही समूह नेताले पछिल्लो टुक्का भनी समूहले छोप्ने गरिन्छ । अघिल्लाका तुलनामा पछिल्लो चरणको टुक्का लामो हुन्छ । पश्चिमा संस्कृति र सूचना प्रविधिको बढ्दो प्रभावसँगै पछिल्लो समय ठाडो भाका पनि अन्य लोकसंस्कृतिसँगै ओझेलमा पर्दै गएको छ । यसरी ओझेलमा परेको अमूल्य सम्पदालाई संरक्षण गर्दै यसको ऐतिहासिक पक्षदेखि अहिलेको अवस्थासम्मको विषयवस्तुलाई गहन ढङ्गबाट खोजी लमजुङ दुराडाँडा निवासी लालबहादुर भुजेलले पुस्तकका रूपमा ल्याएर भावी पुस्तालाई ठूलो गुन लगाएका छन् । भुजेलको ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पुस्तकले ठाडो भाकाका बारेमा जान्न, बुझ्न मात्र होइन, थप अध्ययन अनुसन्धान गर्नेहरूका लागि पनि बाटो नै खोलिदिएको छ । पुस्तक पढेपछि ठाडो भाकामा जो कोहीले पनि आफूलाई घुलन गराएरै छाड्छ । ठाडो भाकामा केटा पक्ष र केटी पक्षबीच तत्कालै ठाडै सवालजवाफ नगरी अनुनयविनय पारामा घुमाएर शालीन ढङ्गले उत्तर दिइन्छ । आफ्नो गीतिधारबाट गाउँदा, भट्टयाउँदा अर्को पक्षको इज्जत, आमोद एवं मान–मर्यादा–प्रतिष्ठामा आघात नपरोस् भन्ने हेतुले शिष्टता र नैतिकताको खुबै ख्याल गरिन्छ । लेखकले भने जस्तै यसमा छेडछाड गर्ने, होच्याउने, हुर्मत लिने, रिस–रागले नाङ्गेझार पार्ने मनसुवा भए पनि आफू तलै परी नम्र र सहिष्णुता अवलम्बन गरेर सुसंस्कारयुक्त र अनुशासित ढङ्गले व्यङ्ग्य गरी छेड हानिन्छ । यसमा तितो, टर्रो, छाडा, अश्लील र उच्छृङ्खल शब्दहरूको प्रयोग स्वीकाययोग्य हुँदैन, तिखो व्यङ्ग्यवाण प्रहार गर्ने सन्दर्भमा स्थानीय रैथाने बोलीचालीका भाषामा कूटनीतिक पाराले व्यवहार गरिन्छ । अरूलाई पेच पर्ने गरी कटु शब्दको प्रयोग गर्नु अव्यावहारिक र कुसंस्कारयुक्त ठानिन्छ । मौलिक संस्कृतिका प्रतिपादक एवं प्रवद्र्धक देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङले सुरुमा यस भाकाको श्रीगणेश गरेका थिए। यसमा बौद्धसिं गुरुङ र उहाँका उत्तराधिकारीका रूपमा मोतीलाल गुरुङले ठूलो योगदान गरे । मोतीलालका शिष्यका रूपमा पञ्चसुब्बाले लमजुङ र कास्कीमा यसलाई विस्तार गरे । सुरुमा ठाडो भाका केटाकेटाबीच गाउने गरिन्थ्यो, यसो गर्दा रौनक नभएपछि महिलाले पनि गाउन थाले र यसप्रति जनमानसको आकर्षण बढ्दै गयो । विसं २००७ अगाडि, शास्त्रीय सङ्गीतको पाश्चात्य र पूर्वीय जगत्मा ठूलो बाहुल्य थियो भने विसं १९७० का दशकदेखि २०३० का दशकसम्म गण्डकी प्रदेशको भूभागमा ठाडो भाकाले बजार पिटेको राष्ट्रकवि माधव घिमिरेले पुस्तकका भूमिकामा लेखेका छन् । कृतिमा शुभकामना मन्तव्य भनिए पनि ठाडो भाकाका सम्बन्धमा घिमिरेबाहेक वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, संस्कृतिविद् डा जगमान गुरुङका अमूल्य विचार पनि पठनीय मात्र छैनन्, नेपाली लोकसाहित्य र लोकसंस्कृतिका बारेमा पाइने थुप्रै जानकारीले यसको गरिमालाई अझ उजिल्याएको छ । राष्ट्रकवि घिमिरेले आफ्नो भूमिका लेखनका क्रममा गण्डकी भेगमा कुनै बेला ठाडो भाका गायकगायिकालाई मात्र लोकदोहोरीका कलाकार ठानिने गरेकामा पछि यो सांस्कृतिक सम्पदा स्वदेशमा मात्रै नभएर विदेशमा समेत नेपालीको हृदयको ढुकढुकी साबित भएको प्रसङ्ग उल्लेख गरेका छन् । ठाडो भाकालाई दोहोरी गीतको जननी मानिन्थ्यो र गायकगायिका र ठाडोभाकाका पारखीहरू गाएर, नाचेर, सुनेर र हेरेर कहिल्यै नथाक्ने प्रसङ्ग उल्लेख गर्दै डा गुरुङले ठाडो भाका लोकसांस्कृतिक अलौकिक धरोहर, आफ्नै व्याकरण भएको विनयशील, शिष्ट विधा भएर पनि विलयका सङ्घारमा पुगेको भनी चिन्ता व्यक्त गरेका छन् । संस्कृतिविद् जोशीले आफू लमजुङमा औद्योगिक सर्वेक्षणका काममा खटिएर जाँदा ठाडो भाकासँग परिचित हुन पाएको र जनस्तरबाट औधि रुचाइएको लोकगीतका रूपमा पाएको उल्लेख गरेका छन् । २५४ पृष्ठको प्रस्तुत अनुसन्धानात्मक ग्रन्थमा भुजेलले नेपाली लोकगीतका क्षेत्रमा चर्चा बटुलेको ठाडो भाकाका बारेमा छ अध्यायमा विस्तृत र गहन अध्ययन गरेका छन् । पहिलो अध्यायमा गण्डकी क्षेत्रको परिचयदेखि ठाडो भाकाको उत्पत्ति, विकासक्रममा विशिष्ट योगदान पु¥याएका बौद्धसिं, मोतीलाल, बखतबहादुर गुरुङ, पञ्चसुब्बा, देउबहादुर दुरा, मनिराम दुरा, आफली घर्तिनीदेखि भेडीखर्के साइँला भनिने दीर्घराज अधिकारीसम्मको व्यक्तित्व र उनीहरूले ठाडो भाकामा पु¥याएको योगदानको चर्चा छ । दोस्रो अध्यायमा विभिन्न भेगमा गाइएका फरक शैलीमा ठाडो भाकाको चर्चा छ भने यसको पृष्ठभूमि र परिभाषा केलाइएको छ । तेस्रो अध्यायमा विभिन्न शीर्षकका ठाडो भाका छ, जसमा जनजीवनका अनेक पक्षदेखि सामाजिक कुरीति चिर्न गरिएका प्रयत्न र जीवनका सुखदुःखको लय छ । सो अध्यायमा लेखकले भूकम्प र बाढीपहिरो, जुजु धौ, वैदेशिक रोजगारी, मानव बेचबिखन, खेलकुद, छुवाछुत प्रथा, अपाङ्गता, भ्रष्टाचार, नारी, आभूषण, ज्येष्ठ नागरिक, भौगोलिक अवस्था, कृषि तथा पशुपालन, पर्यटन व्यवसाय, प्रौढ शिक्षालगायत विषयवस्तुमा विभिन्न समूहले गाएका ठाडो भाकाका गीतलाई जस्ताको तस्तै उतारिएको छ । चौथो अध्यायमा पहिलो अध्यायमा सामान्य चर्चा गरिएका ठाडो भाकाका स्रष्टाहरूको पूर्ण परिचय र नालीबेलीको विवरण छ भने पाँचौंँ अध्यायमा ठाडो भाकाका रचनाहरूको विभिन्न कोणबाट विश्लेषण गरिएको छ । यसमा ठाडो भाकाका हस्ती मानिएका देउबहादुर र पञ्चसुब्बा तथा अन्य स्रष्टाका ठाडो भाका गीतको समीक्षात्मक विश्लेषण दिन खोजिएको छ । छैटौँ अध्यायमा ठाडो भाका कसरी जगेर्ना गर्न सकिन्छ र यसको महत्त्व के छ भनेर प्रकाश पारिएको छ । चार परिशिष्ट समेटिएको पुस्तकमा पहिलामा ठाडो भाकाको रानो भेडीखर्के साइँलासित शीर्षक दिएर लिइएको अन्तर्वार्ताको मूल अंश प्रस्तुत गरिएको छ भने परिशिष्ट–२ मा दुराडाँडाको अन्तर्य शीर्षक दिइएको छ । यसमा दुराडाँडाको परिचय, राजनीतिक सीमाङ्कन र जातीय स्थितिदेखि लिएर लमजुङको चर्चित हलो क्रान्तिसम्मको चर्चा गरिएको छ । परिशिष्ट–३ मा नेपालको पुरानो र ऐतिहासिक साहित्यिक पत्रिका ‘शारदा’ को २००४ माघमा प्रकाशित सत्यमोहन जोशीको पञ्चसुब्बा शीर्षकको लेख समाविष्ट गरिएको छ । परिशिष्ट–४ मा केही सुन्दर तस्बिरसमेत समावेश गरिएको छ । लेखक भुजेलले यस ग्रन्थमा ठाडो भाकाका गायनका सन्दर्भमा गेयात्मक शैलीमा बङ्ग्याइएका शब्दहरूको टिपोट गर्नुभएको छ भने विशेष गरी ठाडो भाकामा गाइने मौलिक शब्दहरूको अर्थसमेत उल्लेख गरेका छन् । ठाडो भाकाको लोक सांस्कृतिक इतिहासजस्तो गहन अनुसन्धानात्मक ग्रन्थ प्रकाशन गरी लेखक भुजेलले नेपाली लोकसाहित्य, लोकसंस्कृति र ठाडो भाकाको प्रवद्र्धनमा इँटा थपेर गुन लगाउने काम गरेका छन् । ठाडो भाकामा अन्तर्निहित भाषिक संरचनादेखि यसले समेटेको ग्रामीण जनजीवनका अनेक विषयवस्तु पनि केलाइएको छ । जे होस् खोजमूलक अनुसन्धान र साधना हेर्दा बिदावारिधि उपाधिका लागि तयार पारेजस्तो देखिने कृतिले नेपाली लोकगीत र ठाडो भाकाको जगेर्नामा ठूलै योगदान दिनेमा कसैको भिन्न मत रहने छैन । लेखकले ठाडो भाकाको ऐतिहासिक सन्दर्भ खोतल्दै यसको महत्त्वका बारेमा पाठकलाई चित्त बुझ्ने गरी मिहिन ढङ्गमा चर्चा गरेका छन् । लेखक भुजेलको यो प्रयास प्रशंसनीय र स्तुत्य छ । यस कृति चाहिँ लोकसाहित्य र संस्कृतिप्रेमीका लागि पठनीय र सङ्ग्रहणीयसमेत छ । नेपाली लोकगीत र लोकसंस्कृतिका अध्येता लेखकका साँघुटारमा केही रात (नियात्रासङ्ग्रह), पराकाष्ठा (हाइकुसङ्ग्रह), अकर्मण्यता (ताङ्कासङ्ग्रह), परिवेश (कवितासङ्ग्रह), भुन्टे खरायो (बाल–कवितासङ्ग्रह), चट्पटे र पानीपुरी (बाल–कवितासङ्ग्रह) कृति प्रकाशित छन् ।