बसाइँसराइले गाउँ रित्तिने खतरा

बलेवा । बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो ५ महिनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट ५ महिनाको अवधिमा ५८ परिवारका २२१ जना सदस्य बसाइँ सरेका हुन् । गाउँपालिकाले तयार गरेको तथ्याङ्कअनुसार गत साउनदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्याङ्क धेरै छ । ८ वटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नं ५ बिहुँबाट बसाइँ सरेर बाहिर गएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए । बिहुँबाट मात्रै ५ महिनामा २२ परिवारका ८४ जना सदस्यले गाउँ छोडेका छन् । वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाको परिवार धेरै बसाइँ सरेका छन् । वडा नं ६ बिहुँबाट पनि बसाइँ सर्नेको सङ्ख्या उच्च छ । यो वडाबाट ५ महिनामा ११ परिवारका ४३ सदस्य बसाइँ सरेको तथ्याङ्क छ । गाउँपालिकाबाट बसाइँसराइ लिएर जानेबाहेक थातथलो छोडेर अन्यत्रै बस्नेको सङ्ख्या पनि उच्च छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साविकको बिहुँ गाविस (हाल वडा नं ५ र ६) मा सदरमुकामदेखि छोटो दूरीका वडा हुन् । यहाँ सडक सुविधा छ । २ वटा सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार भए पनि गाउँ रित्तिन नछोडेको उपाध्यक्ष थापा बताउँछन् । ‘अहिले राष्ट्रिय परिचयपत्र बनाउने कामका लागि पहिल्यै बसाइँ सरेकाले पनि घटना दर्ता गराए भन्ने हाम्रो आँकलन छ, यस्तै अवस्थामा बसाइँसराइ रहने हो भने हामीले गाउँमा विकास पुर्याउने, गाउँ खाली हुने अवस्था हुन्छ, यसप्रति हामी चिन्तित र सचेत छौँ,’ उनले भने । काठेखोलामा सबैभन्दा कम बसाइँसराइ वडा नं ६ लेखानीमा छ । यो वडाबाट ५ महिनाको अवधिमा एक परिवारका ३ जना सदस्य मात्रै गाउँ छोडेर अन्यत्रै गएको थापाले जानकारी दिए । वडा नं १ पालाबाट २ परिवारका ८, वडा नं २ भीमापोखराबाट ६ परिवारका १८, वडा नं ३ धम्जाबाट ५ परिवारका १९, वडा नं ४ तङ्ग्रामबाट २ परिवारका १२ र वडा नं ७ रेशबाट ९ परिवारका ३४ जना बसाइँ सरेको गाउँपालिकाको तथ्याङ्क छ । बसाइँ सर्नेमा आर्थिक हिसाबले मध्यम वर्ग कम रहेको वडा नं ५ का अध्यक्ष ज्ञामनाथ कँडेलले बताए । ‘कतिपय बसाइँ सर्ने लहरको पछि लागेर गएका छन्, कतिपयको परिस्थितिले बसाइँसराइ गराएको छ, वैदेशिक रोजगारी बसाइँसराइलाई थप सहयोग गरिरहेको छ,’ उनले भने । गाउँपालिकाको तथ्याङ्कअनुसार दैनिक ज्याला मजदुरी गरेर खाने अवसरको खोजीमा सहरबजार झरेका छन् भने आर्थिकरुपले सक्षम भएका देशका ठूला सहर र तराई बसाइँ सरेका छन् । ‘उच्च शिक्षाका लागि विदेश जाने, उतै कार्ड बनाउने र परिवार मधेस झर्ने गरेका कारणले पनि बसाइँसराइको तथ्याङ्क बढ्दो छ, हाम्रो गाउँपालिका दुर्गम होइन तर गाउँ छोड्नेको कमी रहेन्,’ उनले भने । गाउँपालिकामा पछिल्लो ५ महिनामा ११ परिवार गाउँ फर्किएका छन् । बसाइँसराइ गरेर गाउँ छोडेका ११ परिवारका २८ सदस्य गाउँ फर्केको थापाले बताए । गाउँ फर्किनेको सङ्ख्या पनि अन्य वडाभन्दा बिहुँमा बढी छ । वडा ५ बिहुँमा ५ परिवारका १६ जना, वडा नं ६ बिहुँमा ३ परिवारका ५ जना गाउँ फर्केका छन् । वडा नं २ मा एक परिवारका ५ जना र वडा नं ८ मा २ परिवारका २ जना गाउँ फर्किएका छन् । बसाइँसराइको तथ्याङ्क बढ्न थालेपछि गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा सोहीअनुसार तर्जुमा गर्ने योजना बनाएको छ । पछिल्लो तथ्याङ्कलाई आधार मानेर आफूहरुले छलफल थालेको उपाध्यक्ष थापा बताउँछन् । ‘अर्को ५ महिना कुरेर हामीले तथ्याङ्क तयार गर्छौँ, अवस्था यस्तै रह्यो भने विचार गर्ने बेला आयो, बनेका संरचनाको उपयोग कसले गर्छ भन्ने चिन्ता हुन थाल्यो,’ थापाले भने । यहाँबाट बसाइँ सरेका कसैले पनि घर गोठ, पाखोबारी र खेत भने बिक्रि गरेका छैनन् । जसका कारण बाँझो जग्गाको क्षेत्रफलसमेत बढेको छ । बागलुङका १० वटा स्थानीय तहमध्ये जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बसाइँसराइ धेरै भएका छन् । काठेखोलाको जस्तै तथ्याङ्क अन्य स्थानीय तहले तयार गरिनसकेका भए पनि काठेखोलाबाहेकका स्थानीय तहमा पनि बसाइँसराइको दर उच्च छ । ‘यही वर्ष मात्रै मैले पाँच परिवारलाई चितवन पुर्याएर फर्किएको छु, गाउँ त खाली हुने भए, पहाडको जग्गा बाँझै राखेर, तराईमा घडेरी मात्रै भएका पनि बसाइँ सरेका छन्,’ यातायात व्यवसायी तेजेन्द्र नेपाली भने । जैमिनी नगरपालिकाको वडा नं ९ मा पर्ने लाम्सु गाउँ, बागलुङ नगरपालिकाको वडा नं ११ मा पर्ने रायडाँडा, ओख्ले गाउँ बसाइँसराइका कारण रित्तिँदै गरेका गाउँका नमुना हुन् । यी गाउँका अधिकांश घरहरु खाली छन् । जैमिनी नगरपालिकाले भूउपायोग नीति नै बनाएर बसाइँसराइ रोक्ने प्रयास गरेको छ । गलकोट नगरपालिका र बरेङ गाउँपालिकाले पनि बसाइँसराइ बढ्दो रहेको बताउँदै आएका छन् । ‘दुर्गम गाउँबाटभन्दा सुगम गाउँबाट बसाइँ सर्ने धेरै छन्, कसरी थाम्न सकिन्छ भन्ने उपाय नै खोज्न सकिएन्,’ जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले भने ।

स्पट फिक्सिङ : एक बलको १० लाख रुपैयाँ अफर !

काठमाडाैं । नेपाल टी–२० क्रिकेट प्रतियोगिताको स्पष्ट फिक्सिङमा चार सहभागि टोलीकै व्यवस्थापकसहित १० जना संलग्न रहेको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले प्रतियोगितामा सहभागिता टोली मध्येको चार टिम काठमाडौं नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता रहेको जनाएको हो । साथै, फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २ जना खेलाडी संलग्न रहेको सीआईबीले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै सीआईबीका कार्यवाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाले महबुब आलमले दुई नेपाली खेलाडीलाई फिक्सिङका लागि आर्थिक प्रलोभन गरेको तथा दुई खेलाडी र चार विचौलियासहित १० जना यस घटनामा संलग्न देखिएको थापाले जानकारी दिए । गृह मन्त्रालयको निर्देशनपछि थालेको अनुसन्धानमा खेलाडीलाई ६ देखि १० लाख रुपैयाँ सम्मको प्रश्ताव गरिएको सिबिआइले जनाएको छ । फिक्सिङका लागि उनीहरुलाई प्रत्यक्ष तथा अन्य समाजिक सञ्जाल र फोन, सन्देशबाट अप्रत्यक्ष रुपमा प्रलोभनमा पार्ने प्रयास गरिएको थियो । यस्तै सिआइबीकै अनुसन्धानले प्रतियोगितामा कमर्सियल पार्टनरको रुपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको भुमिका समेत शंकास्पद रहेको जनाएको छ । पुस ९ गतेबाट शुरु भएको प्रतियोगिताको लिग चरणअन्तर्गत काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल दौरान दुवै टोलीका खेलाडीले पारिश्रमिक नपाएको भन्दै मैदान उत्रन अस्वीकार गरेपछि नेपाल टी–२० लिगको विवाद र फिक्सिङ प्रकरण बाहिरिएको थियो । सो खेलपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रश्ताव आएको र आफूहरुले यसबारे एन्टी करप्सन युनिट (एसियु) लाई जानकारी गराएको जनाएका थिए । स्पट फिक्सिङमा संलग्न भएका मेहबुबबाट आदिल अन्सारीलाई एउटा नो बल र एउटा वाइड फाल्न एप्रोच भएको थियो । जम्मा पाँचजना खेलाडीलाई फिक्सिङका लागि प्रश्ताव गरिएको उनको भनाइ छ । अन्य फिक्सिङमा संलग्न नाम भने पत्रकार सम्मेलनमा सार्वजनिक गरिएन । कार्यवाहक प्रवक्ता थापाले अनुसन्धानको काम भइरहेको अवस्थामा कसुर भइ ठहरिएमा पक्राउ गर्ने कठिन हुने भन्दै अन्यको नाम सर्वाजनिक नगरेको बताए । साथै यसमा नेपाल क्रिकेट संघ (क्यान) को कुनै संलग्नता नभएको सीआईबीले जनाएको छ । मुलुकी अपराध संहीता २०७४ ले खेल मिलेमतो तथा म्याच फिक्सिङसम्बन्धी कसुरमा सजाय निर्धारण गरेको छ । संहीताको दफा ५१ उपदफा ३ मा नेपालमा वा विदेशी मुलुकमा खेल मिलेमतो गरे ३ वर्षसम्म कैद र ३ हजारसम्म जरिवाना तोकेको छ । त्यस्तै. फिक्सिङमा लेनदेन भएको रकम सबै जफलत हुने कानूनी व्यवस्था छ ।

सूर्य नेपालद्वारा पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । सूर्य नेपाल प्रा लिले सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । हाल सो ट्रमा अस्पतालमा एम्बुलेन्सको अभाव भएकोले तुरुन्तै घाइते बिरामीहरुलाई उद्धार गर्न कठिनआई भएकोले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको सामाजिक संस्था सूर्य नेपाल आशा मार्फत एम्बुलेन्स उपलब्ध गराएको हो । प्राप्त एम्बुलेन्स हाइवेका वरिपरी हुने दुर्घटनामा परेका बिरामीहरुको उद्धारका लागि प्रयोग हुनेछ । सोमबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका प्रमुख यस यस पि अन्जनी कुमार पोख्रेललाई कम्पनीको भाइस प्रेसिडेन्ट करर्पोरेट अफैर्स रवि केसीले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका प्रमुख यस यस पि अन्जनी कुमार पोख्रेल, सूर्य नेपाल प्रा लि को भाइस प्रेसिडेन्ट करर्पोरेट अफयर्स रवी केसी , प्रबन्ध निर्देशक रवी के रायवरम, भाइस प्रेसिडेन्ट फाइनेन्स विकास भुत्रा, भाइस प्रेसिडेन्ट मारकेटिङ दिप्रा लेहरी लगायतको सहभागिता रहेको थियो ।