समृद्धि फाईनान्स नेशनल चेस च्याम्पियनशीपको उपाधी बद्रीलाललाई, जिते ५० हजार
काठमाडौं । पूर्व नेशनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाईनान्स पाचौं नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीपको उपाधी जितेका छन् । पाँचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेटमास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराउन सफल भएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरेका हुन् । तीन पटकका नेशनल च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमा याे पहिलो उपाधि हो । समग्रमा ५ दशमलब ५ अंक जोडेका बद्रीलाल बुकोल्स टाईब्रेकरका आधारमा च्याम्पियन बन्दै ५० हजार नगद समेत प्राप्त गरेका छन् । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाईनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनशीपमा समान ५ दशमल ५ अंक बनाएका फिडेमास्टर विलमलाल श्रेष्ठ तथा पुण्यमान कर्माचार्य क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहन सफल भए । पूर्व नेशनल च्याम्पियन विलमलालले छैठौं चरणमा रुपन्देहीका विजय गुरुङ एवं सातौं चरणमा नवीन तण्डुकारलाई पराजित गर्दै ३० हजार नगद हात पारेका छन् । त्यसैगरी अर्का नेशनल च्याम्पियन पुण्यमानले छैठौं चरणमा मोरङका भरत धिमाल र सातौं चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए । तेश्रो स्थानमा रहेका उनले २० हजार नगद प्राप्त गरेका छन् । स्पोर्टस एण्ड ईभेन्टस नेपालको व्यवस्थापनमा पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा सम्पन्न च्याम्पियनशीप अन्र्तगत सोमबारका दुबै खेल गुमाएपछि पूर्व नेशनल च्याम्पियन नविन तण्डुकार चौथो स्थानमा रहँदै १५ हजार नगद पुरस्कार हात पारे । भक्तपुरका बलराम नापित पाचौं स्थानमा रहँदै १० हजार नगद पुरस्कार पाउन सफल भएका छन् । त्यसैगरी जनार्दन श्रेष्ठ तथा राजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः छैठौं तथा सातौं स्थानमा रहँदै जनही सात हजार नगद प्राप्त गर्न सफल भए । काठमाडौंका क्यानिडडेटमास्टर भगवती प्रसाद शर्मा, काठमाडौकै पुराना खेलाडी सिताराम अग्रवाल तथा बाँकेका तिर्थबहादुर विक क्रमशः आठौं, नवौं र दशौं स्थानमा रहँदै जनही ५ हजार नगद प्राप्त गरेका छन् । भक्तपुरका गणेशमान दुवाल ६० वर्षमाथि उमेर समुहको क्याटागोरी पुरस्कार पाउन सफल भए भने काठमाडौंका ज्ञानेन्द्रप्रसाद श्रेष्ठ तथा सर्लाहीका लवकुमार श्रेष्ठ क्रमशः ६५ र ७० वर्ष माथि उमेर समुहको पुरस्कार स्वरुप जनही ५ हजार नगद प्राप्त गर्न सफल भएका छन् । चार जना पूर्व नेशनल च्याम्पियन सहित देशभरका ३४ जना खेलाडीको सहभागीता रहेको च्याम्पियनशीपका विजेतालाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम समृद्धि फाईनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराई, समृद्धि फाईनान्सका सिईओ टिकानिधि लोहनी, कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कटेल लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
दश दिनमा ‘महापुरुष’ले कमायो ६ करोड रुपैयाँ
काठमाडाैं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा एकदमै राम्राे कमाइ गरिरहेकाे छ । निर्माताकाे अनुसार फिल्मले दश दिनमा साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरिसकेकाे छ । फिल्ममा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ । तयस्तै, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराईलीलगायतको पनि अभिनय रहेको छ । षट्कोण आर्टस्को ब्यानरमा निर्माण भए यस फिल्मकाे निर्देशक प्रदिप भट्टराई रहेका छन् । याे उनकाे चौथो फिल्म हो । फिल्मको कथालाई उनले नै लेखेका छन् ।
‘मेरो काममा देखिएको सक्रियता श्रीमतीकै कारण सम्भव भएको हो’
काठामाडौं । करिब पाँच दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो, हरिवंश आचार्य । उमेरले ६५ वर्ष पार गरेका आचार्यको सक्रियतामा अझै पनि कमी आएको छैन । आचार्य अझै पनि रङ्गमञ्चका साथै चलचित्र निर्माण तथा अभिनयमा उत्तिकै सक्रिय छन् । उनी विज्ञापन, म्युजिक भिडियोसँगै फिल्ममा काम गरिरहेकै छन् । लामो समयसम्म यस क्षेत्रमा सक्रिय हास्यकलाकार आचार्यले श्रीमति मीरा आचार्यको निधनपछि करिब एक वर्ष सक्रिय जीवन बिताएनन् । अर्थात्, करिब उक्त अवधिभर चलचित्र लगायतमा काम गरेनन् । तर रमिला पाठकसँग दोस्रो विवाहपछि भने उनी पुरानै लयमा फर्किएका छन् । काममा उसैगरी जोश र जाँगरका साथ काम गरिरहेको उनको भनाइ छ । मह सञ्चारबाहेकका प्रोजेक्टमा निकै कमै देखिने आचार्य अभिनित पछिल्लो चलचित्र ‘महापुरुष’ प्रदर्शनरत छ र यसले दर्शकहरुबाट सकारातमक प्रतिक्रिया समेत पाइरहेको छ । ‘महापुरुष’ चलचित्र एकलपुरुषको कथामा आधारित छ । कथाका केही प्रसङ्गहरु आचार्यको जीवनसँग पनि मेल खान्छ । ‘मेरो दोस्रो विवाह हुने प्रसङ्गबाहेक फिल्मको कथा फरक छ । एक्लोपनले निम्त्याउने समस्या भने मिल्न सक्छ’, उनले भने, ‘वास्तविक जीवनमा मेरो सन्तानले नै दोस्रो विवाहप्रति देखाएको सद्भाव मेरो लागि प्रेरणा बन्यो ।’ सन्तानले पनि आफ्नो अभिभावकको इच्छा बुझे अभिभावक सुखीसँगै खुसी रहन सक्ने उनको भनाइ छ । आचार्यले एक्लोपनले जीवनमा समस्या ल्याउने र आफू पनि शोकमा हुँदा झन्डै एक वर्ष काम गर्न नसकेको बताउँछन् । ‘तर अहिले मेरो काममा देखिएको सक्रियता श्रीमतीकै कारण सम्भव भएको हो’, अभिनेता आचार्यले भने, ‘उनको साथ र सहयोगले नै म अहिले सक्रियतापूर्वक काम गर्न सकेको छु ।’ महापुरुष चलचित्र हेरेपछि दर्शकले दिएको प्रतिक्रियाले आफूले दोस्रो विवाहको समय स्मरण गरेको उनले बताए । “दोस्रो विवाहको निर्णय लिन कठिन हुन्छ । आफ्नो खुसी हेर्ने हो कि सामाजिक प्रतिष्ठा भन्ने प्रश्नले द्विविधा उत्पन्न गराउँछ”, उनले भने, “यो द्विविधामा म मात्रै होइन अन्यमा पनि रहेको पाएँ ।” अभिनेता आचार्य प्रायः कार्यक्रममा श्रीमतिसँगै पुग्छन् । उनी हालै मात्रै सपत्नी संयुक्तराज्य श्रीमतिसँगै अमेरिका पुगेका छन् । महापुरुष चलचित्रमा उनले दुई छोराको पिताको भूमिका निभाउनु भएको छ । कान्छो छोराको विवाहको तयारी हुँदै गर्दा आफै प्रेममा परेपछि आउने परिस्थितिलाई मुख्य कथा बनाइएको छ । परिवारसँगै हुँदा पनि सन्तानले समय नदिँदा बुबाआमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने विषयवस्तुलाई चलचित्रमा उठान गरिएको छ । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले शीर्षक छनोटपछि हरिवंश आचार्य बोहक अरु कलाकारलाई उक्त भूमिका दिन नसकिएको बताए । चलचित्रमा आचार्यसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायतका कलाकारको अभिनय छ ।