भोजपुर रङ्गशाला निर्माण ४० प्रतिशत सम्पन्न

मिरा राई स्टेडियमकाे डिपिआर भाेजपुर । प्रदेश सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माण ४० प्रतिशत सम्पन्न भएको छ । वर्षा तथा लकडाउनमा समेत निरन्तरता दिएकाले कामले गति लिएको हो । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड पाँच लाख लागतमा गत मङ्सिर महिनाबाट रङ्गशालाको निर्माण शुरु भएको हो । विसं २०८० सम्म निर्माण अवधि भए पनि सरकारले समयमा बजेट दिएमा सम्झौता अघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी मार्सेली जेभीले जनाएको छ । कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने, ‘‘लकडाउनमा चार महिना हामीले काम गर्न पाएनौँ, त्यसपछि हामीले तीव्र गतिमा सञ्चालन गरिरहेका छौँ । सरकारले समयमा बजेट पठाउन सक्यो भने चालु आवको असार महिनासम्म निर्माण पूरा गछौँ ।’’ हालसम्म कार्यालय भवन, फाउण्डेशन लगाउनेलगायत स्टक्चरको काम ६० प्रतिशत बढी सकिएको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउने लगायतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । तेइस रोपनी क्षेत्रमा निर्माण भइरहेको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सात प्याराफिड निर्माण हुने कार्यालयले जनाएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख मिलन आचर्यले भने, ‘‘निर्माण स्थलमा भइरहेको काम हेर्दा तीव्र गतिमा गुणस्तरीय ढङ्गबाट भइरहेको छ । ” अनुगमनको क्रममा ४० प्रतिशत बढी काम सकिएको पाइएको उनले बताए । कोभिडको कारण निर्माण कम्पनीलाई हालसम्म कुनै पनि भुक्तानी दिन नसकेको जानकारी दिए । ‘‘उहाँले काम निरन्तर गरिरहनुभएको छ, कोभिडको कारण हामीले हालसम्म कुनै पनि भुक्तानी दिएका छैनाैँ, तर पनि उहाँले काम निरन्तर गरिरहनुभएको छ, यो खुशीको कुरा हो, हामी पनि समय अगाडि नै सक्नको लागि उहाँलाई बजेट दिनेमा सकारात्मक छौँ’’, प्रमुख आचर्यले भने । कामलाई गुणस्तरीय बनाउनका लागि इञ्जिनीयरले नियमित रुपमा अनुगमन तथा जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्डअनुसार रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इञ्जिनीयर रजनिसकुमार झाले बताए । उनले भने, ‘‘हामीले कार्यालयको तर्फबाट नियमित अनुगमन गरिरहेका छौँ । निर्माण कार्य गुणस्तरीय तबरबाट तोकिएको मापदण्डअनुसार नै भएको छ, कामको गुणस्तरमा कुनै प्रश्न गर्ने ठाउँ छैन ।’’ रासस

नेपालमै पहिलो पटक बलिउड चलचित्र ‘खाली पीली’, डिशहोमको सिनेमाघरबाटै हेर्न सकिने

काठमाडौं । डिशहोमले नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको छ । ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर अन्तराष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उदेश्यले डिशहोमले सिनेमाघर ईन्टरनेशनल ९९९ संचालनमा ल्याएकोे हो । असोज १६ गते रिलिज हुने चलचित्र “खाली पीली” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् । विश्वको विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यू सेवा नेपालमा नै पहिलो पटक डिशहोमले संचालन गरिरहेको छ । डिशहोमले पे पर भ्यू सेवा मार्फत न्युनतम मुल्यमा परिवार संग घरमा नै बसेर नयाँ नयाँ नेपाली सिनेमा हेर्न सकिने च्यानल नं. १०८ ,८८८ र ५५५ यस अघिनै सफलताका साथ संचालन गरिरहेको छ । दैनिक ८ शो सञ्चालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा चलचित्र “खाली पीली” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो क्यास आईडी अनि हेर्न चाहेको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

सार्वजनिक संस्थालाई लाग्ने कर घट्यो, आजै देखि लागु हुने

काठमाडाैं । सरकारले सार्वजनिक तथा सामुदायिक संस्थालाई लिने करको दर घटाएको छ । आज  बसेको मन्त्रिपरिषद् बैठकले कर घटाएको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए । उनले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा १ बमोजिमका करका दरहरु घटाउने निर्णय गरेको बताए । उनले आजै राजपत्रमा प्रकाशन गरी आज देखि नै कार्यान्वयन हुने बताए । सो ऐनमा गरिएकाे व्यवस्था अनुसार अर्थमन्त्रालयले मुनाफारहित सार्वजनिक संस्थान, सामुदायिक संस्था, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्थालाई यो ऐन बमोजिम लाग्ने दस्तुर, शुल्क, महसुल वा कर घटाउन वा बढाउन सकिने छ । सो व्यवस्था अनुसार नै कर घटाइएको उनले बताए ।