३० हजार चलचित्रकर्मी बेरोजगार, २०० भन्दा बढी फिल्म हल पूर्णरूपमा बन्द
काठमाडाैं । कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले देशभरका ३० हजार चलचित्रकर्मी बेरोजगार भएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले झण्डै पाँच महिना लामो बन्दाबन्दी गरेसँगै चलचित्र निर्माण, प्रदर्शन र वितरण नहुँदा ठूलो सङ्ख्यामा चलचित्रकर्मी बेरोजगार बन्न पुगेका हुन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण थला परेको चलचित्र उद्योग भर्खरै उठ्न खोजेको अवस्थामा कोरोना सङ्क्रमणका कारण बन्द भएपछि अहिले सबै ‘फिल्म हल’ बन्द हुँदा हजारौँ कामदार बेरोजगार भएका छन् । नेपालभर हाल २०० भन्दा बढी ‘फिल्म हल’ सञ्चालनमा रहेका छन् । कोरोनाको जोखिम बढिरहेको अवस्थामा सरकारले बढी भीडभाड हुने क्षेत्र तत्काल नखोल्ने निर्णय गरेर चलचित्र उद्योगलाई अति प्रभावित उद्योगका रुपमा राखे पनि कहिलेदेखि चलचित्र शुरु गर्ने भन्ने अन्योल रहेको छ । चलचित्र क्षेत्रसँगै सरकारले पर्यटन, यातायात, हवाई तथा पर्यटकीय यातायात, वैदेशिक रोजगार सेवा प्रदायकलाई अति प्रभावित क्षेत्रका रुपमा घोषणा गरेको छ । चैतदेखि जेठसम्मको तीन महिनामा झण्डै २५ फिल्म निर्माण पूरा गरी सञ्चालन गर्ने तयारी भए पनि लकडाउनका कारण उक्त फिल्म सञ्चालन हुन पाएनन् । नेपालमा विसं २०७५ मा ९५ र विसं २०७६ मा ५५ फिल्म सञ्चालनमा आएका थिए । नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी रु एक अर्बभन्दा बढी लगानी भएको फिल्म उद्योग कोरोनाका कारण प्रभावित भएको बताउछन् । “फिल्म निर्माताले बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकम ऋण लिएर फिल्म निर्माण गरे पनि फिल्म सञ्चालन नहुँदा समस्या परेको छ”, उनले भने । कोरोनाका कारण प्रभावित बनेको चलचित्र उद्योगलाई पूर्ववत् अवस्थामा फर्काउन नेपाल चलचित्र निर्माता सङ्घले फिल्म उत्पादनमा लाग्ने खर्चको २० प्रतिशत लगानी सरकारलाई गर्न आग्रह गरेको छ । “करोडौँ रकम खर्च गरेर बनाएको फिल्म नचले पनि सरकारले २० प्रतिशत लगानी ग्यारेन्टी गरिदिएको खण्डमा चलचित्र निर्मातालाई केही भए पनि राहत पुग्नेछ”, अध्यक्ष अधिकारी भने। नेपालमा अहिले एउटा फिल्म निर्माण गर्न रु ८० लाखदेखि रु दुई करोड ५० लाखसम्म खर्च हुने सङ्घले जनाएको छ । सङ्घका अनुसार हाल २५ फिल्म निर्माण सम्पन्न भएर सञ्चालनका क्रममा रहेको, १२ फिल्म निर्माणको अन्तिम चरणमा रहेको र २० फिल्म छायाङ्कनको शुरुको अवस्थामा छन् । चलचित्र निर्माता सङ्घले बन्दाबन्दीपछि चलचित्र उद्योगलाई चलायमान बनाउन राजनीतिक दलका शीर्ष नेतासहित सरोकारवाला निकायसँग भेटघाट तथा परामर्शसमेत गरेको छ । नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिले चलचित्र उद्योगको ५० प्रतिशत माग पूरा गरेको अध्यक्ष अधिकारीको भनाइ छ । मौद्रिक नीतिले पुर्नकर्जाको सीमालाई फराकिलो बनाउँदा साना, मझौला र ठूला उद्योग लाभान्वित हुनुका साथै कर्जा लिँदा लाग्ने सेवा शुल्क घटाउनु सकारात्मक कुरा रहेको उनको भनाइ छ । कोरोना सङ्क्रमण विस्तार घट्दै गएमा सरकारले विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको स्वास्थ्य निर्देशिकालाई आत्मसात् गरेर सामाजिक दूरी कायम राख्दै सुरक्षित तरिकाले फिल्म सञ्चालनको वातावरण बनाउनुपर्ने सङ्घको भनाइ छ ।
ह्युम्यान जू
करिब ५ सय रोपनी क्षेत्रफलमा विस्तार भएको अलौकिक शहर । चारैतिरबाट तार बार लगाइएको । तारबार मात्रै होइन, बाहिरबाट भित्र र भित्रबाट बाहिर देख्नै नसक्ने गरी अग्लो पर्खाल पनि लगाइएको छ चारैतिर । असाध्यै राम्रो, सुनौलो, हिरामोती, मणि माणिक्यले झकिझकाउ पर्खालको छेवैछेऊ एकछिन हिडेपछि भित्र पस्ने गेट भेटियो । पर्खालमा पृथ्वीलोकका प्राणीले असाध्यै मनपराउने विभिन्न प्रकारका लहरा, सुगन्धित फूल तथा आकर्षक बोट बिरुवा सजिसजाउ थिए । बाहिरबाटै हेर्दा लाग्थ्यो- यसभित्र संसारकै सबैभन्दा धनी मानिसले आफ्नो प्राणप्यारी छोरीको विवाह मण्डप सजाए भन्दा पनि कयौं गुणा राम्रो स्थान छ । र, गेटमा ठूलो अक्षरमा लेखिएको थियो- ह्युम्यान जू । गेटको सूचना पाटीमा अन्य जानकारी सहित लेखिएको थियो- ‘इन्ट्री फि वन्ली फाइभ थाउजेन्ड डलर पर पर्सन ।’ ‘ओहो ! महंगो रहेछ’ मेरो मुखबाट एकाएक शब्द निस्कियो । ‘पैसा तिर्नु पर्दैन, म्यानेजमेन्टले आज तपाईंलाई निःशुल्क भित्र पस्न मिल्ने व्यवस्था मिलाएको छ’ मैले विस्तारै बोलेको टिकट काट्ने व्यक्तिले सुनेछ र मलाई हेर्दै भन्यो । ‘यो परियोजना हेर्न दुईजना सीईओ हुनुहुन्छ । १५ वर्षजति भयो उहाँहरुले संयुक्त रुपमा सीईओ चलाएको । २०६४ सालदेखि हो यो परियोजना संचालनमा आएको । मेरो नाम गणेशमान,’ गेटबाट भित्र छिर्ने बित्तिकै एकजना व्यक्तिले नेवारी लबजमा बोल्दै आफ्नो परिचय दिए । छेउमै अर्का व्यक्ति पनि थिए । उनले ‘मेरो नाम मदनकुमार हो’ भने । र, यी दुबै जना सो परियोजनाको डीसीओ रहेछन् । डीसीओ पनि परियोजना सुरु भएकै दिनदेखि नियुक्त भएका रहेछन् । ती दुई जनाले सीईओको कार्यकक्षमा पुर्याए । सीईओको कार्यकक्ष ठूलो थियो । दुई कुनामा दुईजना सीईओ बसेका थिए । टेबल सामान्य काठका जस्ता देखिन्थे । कुर्सी पनि काठकै थियो । भुइमा टाट ओछ्याइएको थियो । टेबल नजिकै एक एक वटा थर्मस, एक एक वटा स्टोभ र आधा जति मट्टितेल राखिएको एक एक वटा ग्यालिन । अचम्म लाग्यो- बाहिरबाट हेर्दा त्यति आलिसान र भव्य लाग्ने परियोजनाको सीईओको कार्यकक्ष देखेर । र, आजको २१औं शताब्दीमा पनि दम दिने स्टोभ चलाउने गरेको देखेर । ‘यसैमा बानी परियो बाबु ! हिटर चलाउँदा पनि हुन्थ्यो, मट्टितेलमा स्टोभ बाल्दा धुवाँले स्वास्थ्यमा खराब गर्छ भन्ने हामीलाई पनि थाहा छ, तर अब हामीलाई रोग लाग्दैन, हामी मर्दैनौं,’ दुबै सीईओले संयुक्त रुपमा भने । मेरो मनमा उब्जिएको प्रश्नको उत्तर उनीहरुले एकाएक दिदाँ चकित परें । एक जना सीईओ दुब्ला पालता जस्ता देखिन्थे । झुस्स दारी पालेका अग्लो कदका थिए । उनको टेबलको पछाडि लेखिएको थियो- नेपाली जनताको आर्थिक उन्नति र समृद्धिको उपाय राष्ट्र राष्ट्रियता र प्रजातन्त्र नै हो । अर्काे सीईओको टेबलको पछाडि लेखिएको थियो- सर्वहारा वर्गलाई राज्यको मुलधारमा ल्याउनु पर्छ, समाजबाद हुँदै साम्यावादमा गएपछि संसारभरका मान्छेले सुख पाउँछन् । लाग्यो- नेपाली काँग्रेसका संस्थापक विपी कोइराला र कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको नारा चोरेर त्यहाँ लेखिएको होला । दुबै जनालाई मैले भौतिक रुपमा देखेको थिइनँ । तस्बीरमा जे जस्तो अनुहार र शरिर देखिन्थ्यो, ती दुबै ठ्याक्कै उस्तै लाग्थे । ‘तिमीलाई आज हामी यो परियोजना देखाउँछौं, यो परियोजनालाई हामीले ह्युम्यान जूको नाम दिएका छौं, परियोजना स्थलको निर्माण भगवान विश्वकर्माको कन्सेप्टमा राजा युधिष्ठिरको सभा बनाइदिने मय राजाले बनाएका हुन्,’ दुबै सीईओ कार्यकक्षबाट बाहिर निस्कदै भने- आउँ यो ह्युम्यान जू हेरेर जाऊँ । मैले ‘ह्युम्यान जू’ शब्द सुनेको थिइनँ । कस्तो अनौठो शब्द । कलेज पढ्न काठमाडौं आउने बित्तिकै २/४ पटक जावलाखेलको चिडियाखाना गएको थिएँ । त्यहाँ नगएको पनि निकै भयो । चिडियाखाना जाने बेलामा साथीहरु जू घुम्न जाने भन्थे । ‘जू’ भनेको चिडियाखाना हो भन्ने थाहाँ पाएपनि अगाडि ‘ह्युम्यान’ जोडिएकोले अन्योलमै थिएँ । अगाडि बढ्यौं । भयंकर ठूला ठूला स्वीमिङ पुल देखिए । ‘यी स्वीमिङ पुलमा जस्तो सोच्यो त्यस्तै पानी आउँछ । तातो सोचे तातो, चिसो सोचे चिसो, मनतातो सोचे मनतातो पानी पाउँछ स्वीमिङ गर्ने व्यक्तिले । दुध, रक्सी, अमृत, पसिना, रगत, हिउ, जे सोच्यो त्यही हुन्छ यो स्वीमिङ पुलमा,’ सीईओहरु व्याख्या गर्न लागे । अलि अगाडि बढियो । केही चिजका डल्ला देखिए । ‘यी के हुन् ?’ मैले सोधेँ । ‘यी इच्छा डल्ला हुन् । ह्युमान जूमा रहेका व्यक्तिहरुले यी डल्लाहरुलाई सुन सोच्यो भने सुन हुन्छ, चाँदी सोच्यो भने चाँदी हुन्छ, हिरा मोती, जुहारत जे सोच्यो त्यही हुन्छ । ह्युम्यान जूमा रहेका व्यक्तिहरुले यसलाई कहिले सुन सम्झेर खेलाउँछन्, उचाल्छन्, फाल्छन्, भकुण्डो खेल्छन्, फोर्छन्, जे मन लाग्यो त्यही गर्छन्,’ सीईओहरुले व्याख्या गरे । सीईओहरुले डल्लाको व्याख्या गर्दा अर्काे कुरा थाहा भयो- ह्युम्यान जूमा मान्छेहरु रहेछन् । को होलान् यहाँ बस्ने ? के होला यहाँ मान्छे राख्ने क्राइटेरिया ? कतिन्जेल बस्न पाइन्छ होला यस्तो अद्भूत ठाउँमा ? मनमा यस्तै प्रश्न उब्जिदै गर्दा त्यहाँ बस्ने मान्छे हेर्न मन लाग्यो । ‘पख बाबु ! एकछिनमा ‘ह्युम्यान जू’का प्राणी हेर्न पाउँछौं, हतार नगर,’ मेरो मनमा प्रश्न उब्जिने बित्तिकै सीईओहरुले मलाई जवाफ दिइहाले । अचम्म ! मनमा प्रश्न उब्जिने बित्तिकै सीईओहरुले थाहा पाइहाल्ने । अलि अघि बढियो । एउटा कुनै धातुको दिउरे जस्तो वस्तु देखियो । ‘मधुमालतीको कथा पढेका छौं ?’ सीईओले मलाई हेर्दै सोधे- हो, त्यस्तै पाक ताउली हो यो, ह्युम्यान जू’का प्राणलीले जे सोच्यो यहाँ त्यही खानेकुरा तयार हुन्छ, कसैले सेकुवा भन्छन्, कसैले किड्नी फ्राइ खान्छन्, कसैले चितवनको तास, कसैले बाजेको सेकुवा, संसारकै सबैभन्दा महंगा ह्वीस्की, ब्राण्डी, वाइन यही आउँछ । संसारमा बन्ने जति पनि प्रकारका स्न्याक्सहरु छन्, ती सबै यहाँ आइपुग्छ । कसैले नाम जानेन र अर्डर गर्न सकेन भने पनि खानाका नमुना आफै तयार भएर देखापर्छन् । सूर्य नेपालको सिगरेट मात्रै होइन, क्युवाको सिगार पनि यही पाइन्छ । ह्युम्यान जूभित्र ठूला भवन थिएनन् । साना साना कटेज थिए । ‘तिमीले कटेज देखेका छौं, यहाँका प्राणीले यी प्रत्येक कटेजलाई ५५५ तल्ले भवन भएको महसुस गर्छन्, कटेजका खाँबा मोतीका छन्, छानो सुनको छ, हिराले फ्लोरिङ गरिएको छ, विभिन्न रत्न, मणि माणिक्य र आभुषणले सजिएका पलङ, सोफा र कुर्सी छन्, संसारका सबैभन्दा बहुमूल्य र दुर्लभ वस्तुहरुले कोठा सजिएको छ, ढोका नै एकसिंगे गैडाको खागको छ,’ सीईओहरु कटेजको वर्णन गर्दै थिए । स्वर्ग, मत्र्य वा पातालमा यहाँ जस्तो सुविधा र सुन्दर स्थान कही पनि रहेनछ- ह्युम्यान जूको व्याख्या सुन्दै गर्दा मलाई आभाष भयो । तर, हतारो त्यहाँ बस्ने मान्छेलाई भेट्नमै थियो । प्रत्येक कटेजमा एक जना व्यक्ति आफ्ना श्रीमती वा श्रीमानसँग बस्ने गरेका रहेछन् । उनीहरुका लागि सुन्दर युवा वा युवतीसँग रासलिला गर्न पाउने सुविधा पनि त्यहाँ उपलब्ध रहेछ । नजिकैको कटेजमा पुगियो । एक जना व्यक्ति त्यो कटेजमा बस्दा रहेछन् । बाहिर इलेक्ट्रिक बोर्ड थियो । बोर्डमा लेखिएको थियो- संसारभर साम्यवाद स्थापना गर्न भन्दै कम्युनिष्ट दर्शनबाट अभिप्रेरित भएको, जीवनको उत्तरार्धमा दुईतिहाई मतसहित प्रधानमन्त्री बनेपछि सबै काम छोडेर भगवान श्रीरामको जन्मथलो अयोध्या खोज्न भौतारिएको, समृद्ध नेपालः सुखी नेपालीको नारा फलाकेको, भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्दै भ्रष्ट, दलाल र माफिया च्यापेर शासन सत्ताको दुरुपयोग गरेको…। उनी कमिला र माहुरीलाई समात्दै पुरानो हर्पेभित्र हालेर बिर्काे कस्दै थिए । यिनले किन यसो गरेको- मैले सोधेँ । ‘यिनलाई जोक्स र चुट्किला खुब आउँछ, आफ्नो मपाइत्व छाटेको अरुले सुन्नुपर्छ भन्ने लाग्छ, यी कमिला र माहुरी यिनको निरर्थक कर्कस नसुनी श्रम गर्न लागे, त्यसैले रिसले यिनले यस्तो गरेको, आफ्नो सोख पूरा गरेको’ सीईओहरुले जवाफ दिए । अलि अघि बढेर अर्काे कटेज छेउमा पुगियो । बोर्डमा लेखिएको थियो- दलित, जनजाति, पिछडिएको क्षेत्र, आदिवासी जनजाति सबैलाई बेग्लाबेग्लै राज्य दिन्छु भन्दै उचालेर मान्छे मार्न र मर्न लगाएको, आफूलाई सत्तामा पुर्याउने कार्यकर्ताकै नाममा राज्यकोषबाट रकम झिकेर १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको, धर्म गर्नेहरुलाई सामन्त भन्दै मार्न लगाएको र आफूले सत्ता पाउँछु कि भन्दै पछि भैसी पुजा गरेको…। उनी केराको खम्बालाई मान्छे जस्तो आकृति बनाएर संसारकै सबैभन्दा अत्याधुनिक बन्दुक र पेस्तोलले गोली प्रहार गरिरहेका थिए । परेवाको गुँडनेर एम्बुस थाप्दै थिए । यिनले किन यसो गरेको- मैले सोधेँ । ‘यिनको सोख नै यस्तै छ, सोख पूरा गरिरहेका छन्,’ सीईओहरुले जवाफ दिए । नजिकैको अर्काे कटेजमा पुगियो । डिजिटल बोर्डमा लेखिएको थियो- सांसदलाई थाइल्याण्डको वेश्यालय पुर्याएर आफ्नो सत्ता जोगाएको, भन्सार नतिरी पजेरो किन्देर आफ्नो पक्षमा पार्दै संसदीय व्यवस्थामा विकृति छिराएको, वाइडबडी जस्ता ठूला ठूला भ्रष्टाचार काण्डमा प्रत्यक्ष जोडिएको, सत्ता प्राप्तिका लागि जस्तो सुकै काम गर्न पनि पछि नपर्ने, दरबारमा प्रजातन्त्र बुझाएको…। उनी रोगी जस्तो देखिने एउटा बुढो भेडालाई कहिले काँधमा चढाउँथे । कहिले काँखमा राख्थे, कहिले सोफामा बस्न भन्थे । यिनले किन यस्तो गरेको- मैले सोधेँ । ‘यिनलाई यो भेडो आफन्त हो भन्ने भ्रम छ, यिनी आफन्त बाहेक अरु कसैले केही अवसर पाउनु हुदैन भन्ने मान्यता राख्छन्, त्यसैले आफ्नो सोख पूरा गर्न यसो गरेका,’ सीईओहरुले भने । नजिकै एउटा ठूलो गधा फर्म थियो । विभिन्न हुलियाका व्यक्तिहरु त्यहाँ आएर गधाको टाउकोमा लात्तले हान्थे । अचम्म लाग्यो । किन हानेका होलान् ? ‘यी गधाको बथानलाई यिनीहरु आफ्ना कार्यकर्ता जस्तो सम्झन्छन्, अनि कार्यकार्ताहरुले आफूलाई मान गरिरहेका छन् भन्ने महसुस गर्न गधाको टाउकोमा लात्तले हानेका’ सीईओहरुले भने । यस्ता कटेज धेरै थिए । सबै कटेज र त्यहाँ राखिएका व्यक्तिहरुका बारेमा लेखिएको बोर्ड हेर्न मन थियो । तर, मनमा यस्तो नकारात्मक कामको जानकारी दिँदै यी मान्छेहरुलाई किन यति व्यवस्थित र सम्मानित रुपमा राखिएको होला भन्ने प्रश्न मनमा उब्जियो । ‘यिनीहरुले नेपाली जनताको राजनीतिक नागरिक अधिकार प्राप्तिको लडाइमा ठूलो योगदान गरे, नेपाली जनतालाई राजनीतिक नागरिक अधिकार प्रदान गर्ने संविधान बनाए, त्यसपछि नेपाली नागरिकलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा प्रदान गर्नुपर्ने थियो, यिनीहरुबाट यो काम सम्भव भएन, सत्तामा लिसो टासिए जस्तै टासिए, आफ्नो असक्षमता र अकर्मन्यताले देशलाई बन्धक बनाए, नागरिकलाई दास सम्झिए, राम्रो काम पनि गरेको र नराम्रो काम पनि गरेकोले स्वर्ग वा नर्क कता लाने भन्ने समस्यामा यमराज परे, त्यसैले हामीले नै समन्वय गरेर यस्तो परियोजना संचालनको विकल्प दियौं, यिनीहरुलाई यसरी राखियो,’ दुबै सीईओले भने । ‘अनि यिनीहरु कतिन्जेल बाच्छन् ?’ सोधेँ । ‘यिनीहरु लाखौं वर्षसम्म यसरी नै यहाँ बस्न सक्छन्, विश्वभरका मान्छेले यति खराब नेता पनि हुँदा रहेछन् भनेर शुल्क तिरेर हेर्न पाउँछन्, यिनीहरुसँग सम्बाद गर्न सक्छन्, भिडियो खिच्न सक्छन्, तर यहाँबाट बाहिर लाने वित्तिकै अडियोमा आवाज आउँदैन, भिडियो देखिदैन, ह्युमान जूका प्राणीहरु बाहिर गए भने हावा जस्तै नदेखिने गरी समाप्त हुन्छन्, किनभने यिनीहरुले गरेको भ्रष्टाचार र अनियमितताको शुल्क यिनीहरुबाट उठाउन राज्य संयन्त्रले सकेन, यिनीहरुलाई देखाएर पर्यटकबाट असुल गर्ने हामी दुईको सल्लाह अनुसार यो परियोजना सुरु गरिएको हो,’ दुबै सीईओले भने । यस्ता प्राणी करिब ५ सय जति राखिएको सीईओहरु बताउँदै थिए । यस्तैमा कसैले कान ताने जस्तो लाग्यो । अलिअलि दुखे जस्तो महसुस भयो । झल्यास्स बिउझिएँ । छोरीले कान तान्दै तोते बोलिमा भन्दै रहिछ- गुडमर्निङ बाबा ! ओहो ! कस्तो अनौठो सपना देखिएछ । साला ! ह्युम्यान जू ।
पैसा कमाउने घिन लाग्दो धन्दा, एनजीओको परिबन्धमा आमा पर्दा शिशुलाई मिल्काइयो
काठमाडाैं । साउन १२ गते साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा एक शिशुलाई काटुनमा राखेर मिल्काएकाे अवस्थामा भेटियो भन्ने समाचार चौतर्फी फैलियो । आम सञ्चार माध्यममा समाचार सार्वजनिक भएसँगै जीवित शिशुलाई त्यसरी मिल्काउने कस्ती आमा होलिन् ? भन्ने प्रश्न मात्र गरेनन्, धेरैले ती शिशुकी आमालाई सरापे पनि । चौरमा केही बालबालिका खेल्न गएको समयमा भेटिए लगत्तै नजिकै रहेको केयर बाल गृहमा ती शिशुलाई हेर्ने र भेट्न जानेको पनि भिड लाग्यो । भिडिओमा बालिकाहरूले ‘हाम्रो घरमा लगम् न दिदी प्लिज। कस्तो क्युट छ । हामीलाई मन पर्याे । हाम्रो बहिनी बनाउने नि प्लिज,’ भनेको सुनिन्थ्यो । ती शब्द सुन्दा दया मात्र होइन ती बालबालिकाहरुले शिशुप्रति देखाएको सामिप्यताले भिडियो हेर्ने सबैका आँखा स्वभाविक रसाएकै हुनुपर्छ । त्यतिखेरै ती शिशुलाई सोही केयर बाल गृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मेवारी लिएपछि उनलाई सहयोग गर्न देश विदेशबाट मनकारी मनहरु तछाडमछाड गरी ओहिरिए । त्यस लगत्तै सो घटनाको बारेमा प्रहरीले पनि अनुसन्धान थाल्यो । प्रहरीको अनुसन्धानबाट अहिले सो घटना फिल्मी स्टाइलमा मञ्चन भएको कुरा बाहिरिएको छ । अहिले यस भित्रको कहानी अलग्गै भएको तथ्यले सामाजिक सञ्जाल तताएको छ । काटुर्नमा भेटिएकी शिशु वैदेशिक रोजगारीबाट हालै सरकारको उद्दार उडानमार्फत नेपाल आएकी एक महिलाले जन्माएकी खुलासा भएकाे छ । यस्तो छ कहानी विश्वभर कोरोना महामारीको त्रास भएपछि नेपाल सरकारले पनि विभिन्न समयमा विदेशमा रहेका आफ्ना नागरिकहरुलाई उद्दार गरेर नेपाल ल्यायो । त्यही उद्दार उडान मार्फत नेपाल आएकी थिइन् ती महिला (शिशुकी आमा) । उनी परिवारलाई खबर नगरी काठमाडौंको कुनै संस्थामा आश्रय लिई बस्दै आएकी थिइन् । काठमाडौंमा बस्दै आएको समयमा ती महिलाले शिशुको जन्म दिइन् । उनलाई त्यही समयमा आर्थिक अभाव भयो । कसरी शिशुको पालन पोषण गर्ने ? कसरी उसलाई खाना दिने भन्ने बारेमा समस्या भयो । लकडाउनकै समयमा ठूलो आर्थिक समस्यामा परेपछि उनले के गर्ने कस्तो गर्ने भन्ने सोच गरिन् । त्यही बीचमा ती महिलाको भेट केयर बाल गृहकी संस्थापक पुष्पा अधिकारीसँग भयो । उनले आफ्ना सम्पूर्ण समस्या अधिकारी समक्ष राखिन् । उनकै मिलोमतोमा साउन १२ गते नाटक मञ्चन गरेर ती शिशुलाई काटुर्नमा राखेको खुलासा भएको छ । घटना उर्जागर भए लगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी ती शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । बौद्ध प्रहरीका डीएसपी नविन कार्कीले अनुसन्धान जारी नै रहेकोले यसको बारेमा कुनै प्रतिक्रिया दिन मानेनन् । संस्थापक अधिकारीले भने आफुहरुले त्यो नाटक मञ्चन गरेको स्वीकार गरेकी छिन् । ‘शिशुकी आमाको एकदमै पैसाको बाध्यता, बाहिरबाट के कसरी आएको हो त्यो मलाई केही पनि थाहा छैन । यस्ता केसहरु धेरै आइरहन्छन् । मैले कसैलाई पनि स्वीकारेकाे थिइन । तर यो घटनामा एकदमै समस्या भएकोले यस्तो गर्न स्वीकार गरेकी हुँ’,- उनले भनिन् । ‘त्यहाँ अरु मानिसहरु पनि बसिरहेका थिए । उहाँले शिशु मेरो हातमा दिनु भयो, मैले त्यहाँ लगेर राखेको हुँ । म पनि लेडिज भएको कारणले मैले एउटा लेडिजलाई बचाउनको लागि यस्तो गरेकी हुँ । म यता पट्टी साइडमा बसिरहेकी थिएँ,’ उनले भनिन् । घटनाको उद्देश्य बेच्ने र पैसाको बार्गेनिङ नभएको उनको भनाई छ । यद्यपि अहिले काठमाडौंमा बस्दै आएकी ती महिलाको परिचय गोप्य राखिएको छ । प्रहरीका अनुसार ती महिला र शिशु प्रहरीको निगरानीमा छन् । प्रहरीले यस घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।