सेवाग्राीसँग घुस माग्ने नायव सुब्वा विरुद्द मुद्दा
काठमाडौं । सेवाग्राहीबाट घुस माग्ने कैलाली जोशीपुर गाँउपालिकाका नायव सुब्बा सिद्धराज जोशी विरुद्द मुद्दा गरिएको छ । उनी विरुद्द अख्तियार दुरुपयाेग अनुसन्धान आयागले आज विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे । सिलाई कटाई तालिम, सैलुन तालिम र चुरा बनाउने तालिमहरू दिई तालिम सफलता पुर्वक सम्पन्न गरी चेक भुक्तानी लिइसके पश्चात पनि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले उनलाई जोशीलाई घुस बापतको ८५ हजा रुपैयाँ सहित सहित नियन्त्रणमा लिई उनी विरुद्द मुद्दा दायर गरे को हो । अनुसन्धानको सिलसिलामा जोशीले जोशीपुर गाउँपालिकाको स्विकृत बार्षिक कार्यक्रम अनुसार जोशीपुर गाउँपालिकाको सिलाई कटाई, चुरा बनाउने तालिम सम्पन्न गरी भुक्तानी भएकोमा उल्लेखित तालिम प्राप्त गर्न तथा भुक्तानीको लागि सहजीकरण गरेबापत सेवाग्राहीसँग रकम माग गरेकोमा रकम दिन इन्कार गर्दा उनले आगामी दिनहरुमा कामबाट बन्चित गराउनेसमेत पटक-पटक धम्काई रहेका थिए । जोशीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकोले निज सिद्धराज जोशीलाई बिगो ८५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको हाे ।
काेराेनाकाे डरले स्वदेश त फर्क्याैं, अब के खाने ?
काठमाडाैं । कोरोनाको सन्त्रासले भारत लगायत विदेशबाट धेरै नेपाली स्वदेश फर्किए । कामकाे भन्दा धेरै माया आप्नाे ज्यानकाे लागेर उनीहरु जसाेतसाे स्वदेश पुगे । तर, अहिले पनि उनीहरुलाई काेराेनाकाे त्रासकै बीच अर्काे समस्या थपिएकाे छ । उनीहरुलाई अब स्वदेशमा कमाई खाने कुनै माध्यम नहुँदा काेराेनाकाे डर भन्दा पनि भाेकै मरिने हाेकि भन्ने डरले साउन थालेकाे छ । दिल्लीबाट फर्केका कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका टेकबहादुर नेपाली मजदुरीको काम नपाउँदा परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन्। काम नपाएर बेरोजगार बस्नु परेपछि भएको आर्थिक समस्याका कारण उनलाई चिन्ता बढेको हो । केही वर्षदेखि दिल्लीको एक होटलमा काम गर्दै आएका नेपाली कोरोनाको त्राससँगै होटल बन्द गरिएपछि चैत महिनामा घर फर्केका थिए। उनी आफ्नै गाउँठाउँमा मजदुरी गरेर कमाइ गर्ने सोचमा छन् तर मजदुरीको काम पाएका छैनन्। “कोरोनाका कारण भारतबाट फर्किन बाध्य भएँ, कमाएको जति सकियो, अब परिवारका ११ जना सदस्यलाई कसरी पाल्ने”, दुःखेसो गर्दै उनले भने, “आफ्नै ठाउँमा केही काम गर्ने सोच भए पनि कसैले ऋण दिँदैन।” गत चैत ७ गते घर फर्किएका नेपालीले सिलाइकटाई गर्ने आफ्नो पुख्र्यौली पेशा भए पनि सिलाई मेसिन खरिद गर्न पैसा नहुँदा त्यसै बेरोजगार बनेको बताए। दिल्लीबाट फर्केका कृष्णपुर नगरपालिका वाणी गाउँका युवा वीरेन्द्र कठायत पनि परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । उक्त गाउँमा कठायतसहित करीब ५० युवा भारतमा देखिएको कोरोनाको त्रासपछि वैशाख महिनामा पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै घर फर्किएका थिए। “काम नपाएपछि यतिबेला टोलमा भलिबल खेलेर दिन बिताउने गरेका छौँ”, कठायतले भने, “भारतमा काम पाउँदा हुने कमाइ घर पठाउँदा परिवार पाल्न सहज थियो, अहिले कमाइ बन्द हुँदा परिवार पाल्न गाह्रो भयो।” कोरोनाको समस्या हटेपछि पुनः दिल्ली जाने योजना रहेको कठायतले सुनाए। कोरोनाको कहरसँगै घर फर्किन बाध्य भएका धेरै सुदूरपश्चिमवासीले अहिले बेरोजगारको समस्या झेलिरहेका छन्। सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको मुख्य गन्तव्य भारत हो तर कोरोनाको सन्त्रासका कारण गत चैत महिनायता धेरै नेपाली भारतबाट स्वदेश फर्किएका छन्। यो प्रदेशबाट झण्डै चारदेखि पाँच लाख सुदूरपश्चिमवासी भारतका विभिन्न शहरमा काम गरिरहेको अनुमान छ। भारतका विभिन्न शहरमा होटल, सुरक्षा, यातायात र निजी कम्पनीमा बढी सङ्ख्यामा नेपाली कार्यरत रहेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी कोरोनाको त्राससँगै चैत महिनायता एक लाख चार हजार सुदूरपश्चिमवासी भारतबाट फर्किएको बताउँछन्। सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षको बजेट कार्यक्रममार्फत कोभिड–१९ को सङ्कटका कारण बेरोजगार बनेका युवाका साथै प्रभावित कृषकलाई लक्षित गरी व्यवसायमुखी र आत्मनिरभरतर्फ उन्मुख गराउन कृषि कार्यक्रम ल्याएको छ। यद्यपि सरकारले बेरोजगार युवाका लागि ल्याएको कृषि कार्यक्रमका बारेमा यी युवा अनभिज्ञता प्रकट गर्दछन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्मा कोभिड–१९ को सङ्कटका कारण बेरोजगार बनेका युवा र कृषकलाई कृषि कार्यमा सहभागी गराउन व्यसायमुखी कार्यक्रम कार्यान्वयन गर्न लागिएको बताउँछन्। यो कार्यक्रम कार्यान्वयनका लागि कृषक र बेरोजगार युवालाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने, मल बीउबिजन, सिँचाइलगायत अनुदान दिने गरी मन्त्रालयले चालु वर्षमा कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ। यसका लागि मन्त्रालयले कोरोनाका कारण प्रभावित भएका किसान र स्वदेश भित्रिएर बेरोजगार बनेका युवाको विवरणसमेत स्थानीय तहसँग समन्वय गरी सङ्कलन गर्ने तयारी गरिरहेको जनाइएको छ। प्रदेश सरकारले चालु आव ०७७/७८ मा प्रस्तुत गरेको बजेट नीति कार्यक्रममा कोभिड–१९ को महामारीबाट प्रभावित नागरिकलाई राहत पुग्ने, गरिबी न्यूनीकरण गर्ने, कोभिड–१९ को सङ्क्रमणका कारण अर्थतन्त्रमा परेको प्रतिकूल असरको क्षति न्यूनीकरण गर्ने, अर्थतन्त्रको पुनरोत्थानमा टेवा पुर्याउने र स्वास्थ्य सुरक्षा प्रदान गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ।
त्रिविका परीक्षा तत्काल नहुने, विद्यार्थीको पढाई १ वर्ष ग्याप हुने निश्चित
काठमाडौं । त्रिभुवन विश्वाविद्यालयले तत्काल परीक्षा गर्न सम्भव नभएको बताएको छ । त्रिविले देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले तत्काल परीक्षा गर्न सम्भव नभएको बताएको हो । विश्वविद्यालयका रेक्टर (शिक्षाध्यक्ष) प्राडा. शिवलाल भुसालले विश्वविद्यालयको तर्फबाट परीक्षा गराउनुपर्ने सबै खालको तयारी भइसकेको भएता पनि कोरोनाले संक्रमण बढ्दै गएकोले परीक्षा गर्न असम्भव भएको बताए । कोरोना भाइरसको त्रासकै बीच परीक्षा गराउनु उचित नभएको उनको भनाई छ । ‘यही स्थिती रहीरहे हामी परीक्षा संचालन गर्न भने सक्दैनौं, सकेसम्म विद्यार्थीहरुलाई परीक्षा हलमै राखेर परीक्षा गराउने हाम्रो उद्देश्य हो, तर अहिलेको अवस्थाले हालको लागि परीक्षा गराउन असम्भव छ,’ उनले भने । यसअघि त्रिविले अवस्था सामान्य भएको अवस्थामा परम्परागत शैलीमा भदौ दोश्रो हप्तादेखि सबै स्थगित परीक्षाहरु संचालन गर्ने भन्दै सूचना जारी गरेको थियो । दशैं अगाडि त्रिविको सेमेष्टर र वार्षिक प्रणालीका सबै त्रिविको सबै परीक्षाहरु हुने बताएको थियो । तर अब भने कोरोना संक्रमण दर झन बढ्दै जाँदा त्रिविका सम्पूर्ण परीक्षाहरु अनिश्चित नै बनेका हुन् । त्रिविले परीक्षा सञ्चालन सम्बन्धि रेक्टर प्रा.डा. भुसालकै नेतृत्वमा कार्यदल पनि गठन गरेको थियो । कार्यदल गठन हुनुभन्दा अगाडि सेमेष्टरको परीक्षा खुला पुस्तक हेरेर लेख्नेको साथसाथै अनलाइन परीक्षा लिनेबारे कुरा आएपनि त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा त्रिवि पुगेको थियो । परीक्षा अब कसरी गराउने भन्ने बारे थप छलफल भएपछि छिटै विद्यार्थीहरुलाई यसबारे खबर गरिने भुसालले बताए । कोरोना भाइरस संक्रमणको कारण यस वर्ष पराम्परागत शैलीका सबै परीक्षाहरु स्थगित भएका छन् । कोरोना भाइरसको सन्त्रास भइरहेको बेला त्रिविले हालसम्म के गर्ने र कसरी परीक्षा लिने भन्ने यकिन निर्णय लिन सकेको छैन । माघ/फागुनमा हुनु पर्ने परीक्षाहरु ६/७ महिना बितिसक्दा पनि सञ्चालन हुन सकेका छैनन् । यसले विद्यार्थीको भविश्यमा प्रत्यक्ष असर परिरहेको छ । अब पनि परीक्षा सञ्चालन भएन भने सम्पूर्ण विद्यार्थीहरुको पढाई एक वर्ष ग्याप हुने निश्चित छ । यसप्रति त्रिवि पनि चिन्तित भएको भुसालको भनाई छ ।