दुई दिनदेखि सिमकोट बजार अन्धकारमय
सिमकोट । विद्युत्गृहको यन्त्रमा खराबी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका गाउँ अन्धकारमय बनेका छन् । जिल्ला सदरमुकाम सिमकोटलगायत खार्र्पुनाथ र सिमकोट गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको ५ सय किलोवाट क्षमताको हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत् बन्द भएको हो । यसले गर्दा दुई गाउँपालिकाका करीब १८ घरधुरीका सेवाग्राही प्रत्यक्ष मर्कामा परेका छन् । आयोजनाको विद्युत्गृहमा रहेका दुई यन्त्रमा खराबी आएपछि विद्युत् उत्पादन नहुँदा सिमकोटलगायत गाउँ अन्धकार भएको हिल्दुम साना जलविद्युत् आयोजनाको वितरण केन्द्र सिमकोटले जनाएको छ । सिमकोटमा विद्युत् अवरुद्ध भएपछि असार मसान्तमा विकासे बजेट भुक्तानी गरिरहेका जिल्लाका सरकारी कार्यालयलाई काम गर्न समस्या भएको छ । अनलाइनमार्फत भुक्तानीको व्यवस्था भएकाले बत्ती अनिवार्य भएकाले काममा सास्ती भएको चंखेली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले जानकारी दिए । जिल्लाका सात स्थानीय तहमध्ये पाँच तहका पदाधिकारी आयोजनाको रकम भुक्तानीका लागि सदरमुकाम सिमकोटमा आएको तर विद्युत् नहुँदा अनलाइन भुक्तानी दिन समस्या भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले जनाएको छ । यस्तै विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पतालमा एक्सरे, भिडियो एक्सरेलगायत विद्युतीय माध्यमबाट हुने सम्पूर्ण काम ठप्प भएको अस्पतालका डा टसीआन्जुक लामाले जानकारी दिए । रासस
आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ
काठमाडौं । आफैंले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर साहलाई घटनाको १४ वर्षपछि आइतबार बाँकेस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरेको हो । विसं २०६३ पुस २० गते सितापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक मोरङ डाँगीहाटका ४५ वर्षीय नातीकाजी सुवेदी र श्रीमती सानु सुवेदीलाई कामदार सर्लाहीका जयकिशोर साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका थिए । साह पक्राउ परे पनि राना अझै फरार छन् । उक्त घटना सिआइबीले सोमबार सार्वजनिक गरेको हो । सःमिलका मालिकले काम बिगारेको भन्दै गाली गरेको विषयमा त्यसको बदला लिन उनीहरुले सुवेदी दम्पती र छोरालाई धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी निर्ममतापूर्वक आक्रमण गरेका थिए । सोही चोटका कारण सुवेदी दम्पतीको मृत्यु भएको र छोरा भने बाँच्न सफल भएका थिए । घटनापछि दुवै अभियुक्त नेपालबाट भागी भारतको लखनऊमा गई दुई वर्षसम्म सँगै बसेका थिए । प्रताप राना अन्यत्रै लागेपछि साहले जय शर्माको नामबाट भारतीय आधारकार्डलगायतका कागजात बनाई पहिचानसमेत बदलेर भारतको लखनऊमा बस्दै आएको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । सिआइबीले आफ्नो स्थापनाकालदेखि नै उक्त घटनालाई प्राथमिकतामा राखी अनुसन्धान गरिरहेकामा घटनामा गम्भीर घाइते भई बाँच्न सफल विलभ सुवेदीसँगको निरन्तर सम्पर्क र सूचनाका आधारमा अन्तर्राष्ट्रियस्तरमा समेत समन्वय गरी हुलिया सनाखत गरेर उनलाई पक्राउ गरिएको थापाले बताए । अर्का फरार व्यक्ति पनि छिट्टै पक्राउ पर्ने उनले भने । रासस
जेलमा रहेका शिक्षकलाई तलब, अख्तियारले थाल्यो अनुसन्धान
बैतडी । बैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई शिक्षकलाई तलब दिएको खुलेको छ । जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भए पनि निजलाई कारवाही गर्नुको साटो तलब भत्ता दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले प्रकाशित गरेको विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा प्रधानाध्यापक भण्डारीले ८३ हजार १ सय रूपैयाँ लिएको खुलेको छ । सरकारी रकमको दुरुपयोग गरेकाले अख्यितारले सो रकम असुलउपर गरी पाउन भन्दै सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेकोले तत्कालीन प्रधानाध्यापक भण्डारी र अध्यक्ष भण्डारीबाट बिगो असुलउपर गर्न अख्तियारले माग गरेको छ । यस्तै जिल्लाको दोगडाकेदारमै रहेको जशलिंग प्राविका तत्कालीन शिक्षक महानन्द कपाडीलाई पनि नियम विपरीत तलब खुवाएको अख्यितारले जनाएको छ । अख्तियारले गरेको छानबिनमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका कपाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरि नाथको सहमतिमा ८१ हजार ९ सय तलब खुवाएको पाइएको छ । सरकारी रकमको दुरुपयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपडी, स्रोतव्यक्ति हरि नाथ र विद्यालयका तत्कालिन शिक्षक कपाडीबाट सो रकम असुलउपर गर्न विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । दोगडाकेदार गाउँपालिका–३ श्रीकोट घर भएका शिक्षक कपाडी र दोगडाकेदार–४ का शिक्षक भण्डारी कर्तव्य ज्यान मुद्दामा २०७४ असार १५ मा जेल परेका थिए । दुई वर्ष कैद सजाय र रु ८२ हजार जरिवानासहित जेल परेका दुवै जना २०७५ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा जेल मुक्त भएका थिए । उनीहरु ६४ प्रतिशत कैद भुक्तान गरेपछि २०७५ सालमा गणतन्त्र दिवसको अवसरमा छुटेका थिए । उनीहरु दुवैजनाले दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकै अर्जुनसिंह विष्टको हत्या गरेका हुन् । रासस