चमेलिया नदीमा बगेका बालक भारतमा मृत फेला

काठमाडाैं । चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका–६ चौसेराका नौ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । डिलाशैनी–६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका ती बालक बेलुका ७ बजे महाकाली नदीपारि भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका हुन् । बाख्रा चराउन चमेलिया किनार गएका रुपेश नदीमा बगेर आएको बोतल समात्न खोज्दा बगेको गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मनोजसिंह साउदले जानकारी दिए । बालकको शव परीक्षण भारतमै गरिने र आज झुलाघाट नाका खोलेर नेपाल ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ । “भारतीय स्थानीय प्रशासन र प्रहरीसँग समन्वय भएको छ”, उनले भने, “बालकका दुई जना आफन्तलाई पारि पठाउन भनेको र सोमबार शव ल्याउन नाका खोल्ने सहमति भएको छ ।”  रासस

पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता

दमाैली । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पुरिँदा पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा एकै परिवारका पाँच जना छन् । हुनेमा ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा रहेको प्रहरीले जनाएको छ । सोही ठाउँकी ६० वर्षीया ज्योतिमाया थापालाई उपचारका लागि भीमाद ल्याइएको छ ।  रासस

तीनकुनेको खाली जग्गामा ट्राफिक प्रहरीले रोप्यो फूल, उत्कृष्ट बिरूवा बनाउनेलाई पुरस्कृत गरिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथद्धारा कोटेश्वर स्थित खाली जग्गामा ‘पुष्परोपन कार्यक्रम’ सम्पन्न भएको छ । आज आईतबार आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले पुष्परोपन गरी उद्घाटन गरेका हुन् । नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको तीनकुने पर्यटकहरू आवातजावत गर्ने मुल ढोका समेत रहेकोले त्यहाँ रहेको खाली जग्गामा फुलहरू रोपि सडकलाई मनमोहक बनाईएको महाशाखाले जनाएको छ र अन्य यस्तै खाली रहेका स्थानमा पनि वृक्षरोपन गर्न नागरिकहरूलाई प्रेरणा मिल्ने विश्वास लिएको छ । अमला, वेगमवेली, तेजपत्ता, रिठ्ठा, मसला, धुपी, पारिजात, कपुर, रातकी रानी, कामिनी, किम्बु, चाँप, चाईनिज गुलाव, समी, मेन्टोगेटा, एभोगाडो, हेमनकस, आरू जस्ता ३५० बढी विरूवा ट्राफिक प्रहरीका अधिकृत तथा जवानहरूले रोपेका छन् । महाशाखाले एकातर्फ काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ भने अर्कातर्फ सडकको छेउलाई पनि मनमोहक, रौनक र रङ्गिन बनाई सुन्दरता बढाउन पुष्परोपन गर्न थालेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव निरिक्षक विश्वराज पोखरेलले बढ्दो शहरीकरण कारण दिनप्रतिदिन बढिरहेको वातावरणीय असरप्रति सबैले गम्भिरताका साथ वृक्षारोपन गर्नुपर्नेमा जोड दिए । महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम ढकालले महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूले ३५० भन्दा वढी फुलका विरुवाको व्यवस्था गरेको जानकारी दिए । ढकालले ती ट्राफिक कार्यालयहरू आफुले रोपेका फुलहरूलाई आफैले नै रेखदेख गर्ने र ३ महिनापछि सबैभन्दा उत्कृष्ट बिरूवा (फूल) बनाउने कार्यालयलाई पुरस्कृत गर्ने बताए ।