सेयर कारोबारी ज्वाईं
हरेक मान्छेको चाहना हुन्छ आफ्नो कलेज जीवनपश्चात् एक दिगो नोकरी होस्, एउटा चिटिक्क परेको राम्रो घर होस्, अलिकति बैंक व्यालेन्स होस् अनि जीवनका उकाली–ओराली बुझ्ने सुख दुःखमा साथ दिने एउटा सहयात्री अर्धाङ्गिनी होस् । वास्तवमै राम्रो परिवार अनि सफल जिवन कसको पो चाहना नहोला र ! म कम्ती खुसी थिइनँ दुई वर्षको अथाह मिहिनेत पश्चात् लोकसेवामा आफ्नो नाम छनौट भई जागिरको लागि पहिलो पल्ट नेपालकै विकसित शहर विराटनगरमा दरबन्दि हुँदा । आखिर मिहिनेत पनि त मैले कम्ती गरेको होइन नि । दिन रात नभनी पढेको पढ्यै… उफ्… आज सम्झिँदा पनि कसरी पढियो होला, अचम्म लाग्छ । यही मालपोतको जागिरे भनेर नै त होलानी विवाह गर्न सजिलो भएको । घर नभएर के भो त, डेरामा पनि त कैयौं मानिसहरु बसेका छन् । मालको जागीर कमाइहाल्छ नि केटाले भन्दै उनीहरुले आफ्नी छोरीलाई म सँग विवाह गरिदिएका त हुन् नी । भित्र भित्रै त मलाई पनि थाहा नभएको कहाँ हो र ! तर सोचे जस्तो कहाँ हुन्छ र सबैजनाको एउटै बानि पनि त हुँदैन नि । धेरैले घुस खाए भन्दैमा सबैले घुस कहाँ खान्छन् र । हो आखिर म पनि देशको सेवा गर्छु भनेर नै लोकसेवामा मिहिनेत गरेको हो नि । पैशाकै पछि लाग्ने भए व्यापारमा लागिहालिन्थ्यो नि । तर सवै परिवारको एउटै सोच कहाँ हुँदो रहेछ र । विवाहको करिव दुई वर्ष पछि श्रीमतीजीको सोचाई पनि विस्तारै सामुन्ने आयो – “तलवले मात्र के हुन्छ यसो दायाँ बायाँ पनि गर्नुपर्छ ।” “होइन… के हो यो दायाँ बायाँ भनेको नि ?” म प्रतिप्रश्न गर्छु उसलाई । “कस्तो बुद्घु हुनुहुन्छ हजुर, दायाँ बायाँ भनेको सेवाग्राहीले खुसी भएर दिने उपहार हो नि ।” श्रीमतीजी कति मज्जाले घुसलाई उपहार भन्दै घुसको परिभाषा मोडिदिन्छिन्, म ट्वाल्ल पर्छु । हुँदा हुँदा अब त अति हुन थाल्यो । “तपाईंले कमाउन सक्नु भएन । तपाईं सँगैका साथीहरुले काठमाडौंमा घर बनाइसके । विवाह गरेदेखि जाबो एउट गहना पनि किनिदिएको होइन । कत्ति डेरामा बस्नु । केटाकेटी पनि दिन प्रतिदिन हुर्कंदै छन्, केहि सोच्नु भाको छ ?” श्रीमतीका प्रश्नहरु धेरै पटक सुनिसकेपछि म मुसुक्क हाँस्दै कुरा बंग्याउँदै उत्तर दिन्छु, “तिम्रो गहना भनेको मै होइन र ?” उनी झर्किंदै भन्छिन्, “के अब गहना भनेर तपाईंलाई नै लगाउनु ?” उनको कुरा सुनेर म जिल्ल पर्छु । मैले पनि अब चाहिँ केही गर्नु पर्छ, पैसा कमाउनु पर्छ भन्ने सोचें । तर पनि पैसा कमाउनलाई घुस खानुपर्छ भन्ने सोचाईलाई मनमा ल्याइनँ । संयोगबस म कमर्शकै विद्यार्थी भएको र सेयर सम्बन्धि थोरै भएपनि जानकारी भएको, समय पनि धेरै दिनु नर्पने, लगानी पनि सुरक्षित हुने, बेच्नु परे तत्काल बेच्न सकिने सोचेर हरेक महिनाको तलबको केही न केही जोहो गरेर अलिअलि पैसा ‘क’ वर्गको वाणिज्य बैंक, इन्सुरेन्स र लघुवित्तको सेयरमा लगाइरहेँ । हरेक महिना श्रीमतीकै घरखर्च बाट कटौती गरेर सेयर किनेको हुनाले उनको कचकच अझ बढ्दै गयो तर म चुप लागिरहेँ । “सेयर–तेयर थाहा छैन मलाई घर चाहियो” उनको एउटै रटाइ छ । तर म चाहिँ मौन नै बस्छु । अचेल त कुरो श्रीमतीजीको मात्र पनि होइन दाजु–भाइ टोल–समाजमा पनि सोध्न थालिसके घर कहिले बनाउनु हुन्छ नि भन्दै । अरु त अरु ससुरालीमा पनि अस्ती भर्खर खाना खाइरहेको वेला ससुरा बाले अचानक कुरा झिक्नु भो अव त घर वनाउनु पर्छ है ज्वाईं साहेब । मनमनै सोचेँ, “के घर वनाउनु मामुली कुरा हो र ?” “खाना कस्तो भयो हजुर ?” भनेर सासुले सोध्दा पो म झसङ्ग भएँ । मनमनै आफैँले आफैँलाई भनेँ, “खानाको स्वाद घरको कुराले खल्लो बनायो ।” यो सत्य हो कि जेठान र साढुदाइको तुलनामा मैले कमाउन सकेको छैन । एउटा कमाउन नसकेको मान्छेले जेठान र साढुदाइको जग्गाको दाम बढेको अनि यतिउति फाइदा भएको जस्ता कुराहरु सुनिरहनु पर्दा वाक्क लागेर आउँछ । त्यस्तो कुरा चलिरहँदा त्यो माहौलबाट तर्किनु बेस हो जस्तो लाग्छ । तर कहिल्यै घुस खाएर उनीहरु जस्तै बन्नुपर्छ जस्तो चाहिँ लाग्दैन । सायद त्यै भएर पनि होला, पैसाकै पछि कुद्ने आफन्तकहाँ जान अलि कम गरेको छु । कतिपय पारिवारिक जमघटमा पनि श्रीमतीलाई मात्रै पठाउने गरेको छु । पैसा नै सवै कुरा रहेछ । पैसा भए सबैको हाइ हाइ हुँदो रहेछ । पराइ पनि आफन्त हुँदा रहेछन् र आफन्त पनि पराइ हुँदा रहेछन् । सायद त्यही भएर होला बिस्तारै मेरो र उनको सम्बन्धमा फाटो आउन थाल्यो । श्रीमतीजी पनि धेरैजसो माइती तिरै बस्न थालेकी छिन् । बाझाबाझ पनि त्यस्तो केही होइन तर दूरी चाहिँ पक्कै भएको हो । श्रीमतीजी म सँंग छुुिट्टएर माइत बस्न थालेको करीब आठ महिना पछाडि आज बिहान एक्कासी ससुराली बाट राती उतै खान र बस्नका लागि निम्तो आउँछ । आठ महिना पछि किन बोलाए भनेर अचम्मित हुँदै वेलुका तिर म ससुराली पुग्छु । ससुराली पुगेको मात्र के हुन्छु, पूरै माहोलै बेग्लै छ । श्रीमतीजी मुसुक्क हाँसेर हात समाउँदै बैठकमा पुर्याउँछिन् । सामान्य गफ गर्दाखेरी होस् अथवा खाना खाँदा होस्, मैले पैसा कमाउन नसकेको सम्बन्धमा कोही चुइँक्क पनि बोल्दैनन् । कौतुहलताले मेरा मनमा डेरा जमाउन थाल्छ । “आज किन मलाई सवैले धेरै इज्जत गरेका होलान् ?” यस्तै सोच्दै सुत्नका लागि ओछ्यानमा चढ्छु । एस्सो आँखा लाग्न मात्र के आँटेका हुन्छन्, सासु–ससुरा र मेरी श्रीमती बसेर पल्लो कोठामा गफ गरेको मधुरो आवाजले मेरा कौतुहलताको समाधान गरिदिन्छन् । “हाम्रा ज्वाईंले पहिल्यै देखि महिनै महिना किन्नुभएको सेयरको मुल्य त कहाँ पो पुगेछ है ! नेप्से तिनसए – चारसय हुँदा देखि किन्नुभएको रहेछ, अहिले त बाह्र सएमा छ । झन् अब त बजार बढ्ने हल्ला चलिरहेको छ । खै पैंतिस सए सम्म पुग्छ कि ! नेप्से तेत्रो माथि पुग्यो भने त हाम्रा खर्दार ज्वाईं पनि करोड पति पो हुनुहुन्छ त । यत्तिकैमा सासु आमा आफ्नो आवाजले बाँकी दुईजनाको आवाजलाई दबाउँदै भन्छिन्, “मालपोत रे, धत्… सेयर कारोबारी ज्वाईं भन्नुस् न हाम्रो प्यारो ज्वाईं साहेबलाई… । [email protected]
मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह
काठमाडाैं । नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शुक्रबार बेलुका नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन भोलिबाट देशभर फैलिइ मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए । मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न सबैमा अनुरोध गरेको छ । साधारणतया अङ्ग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बरसम्मका चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुन अवधि मानिन्छ । सो अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ । मनसुन अवधिमा मुलुकभरको औषत वर्षाको मात्रा १ हजार ४ सय ९९ दशमलव मिलीमिटर रहेको छ । यो भन्दा १० मिलीमिटर बढी वा कम वर्षा भए पनि औषत वर्षा नै मानिने बताइएको छ । यस्तै काठमाडाैं उपत्यकाको वार्षिक वर्षा १ हजार ४ सय ५४ दशमलव आठ मिलीमिटर रहेको छ । गत वर्ष १० दिन ढिलो गरी जुन २० अर्थात् असार ५ मा नेपालमा भित्रिएको मनसुन औसत दिनभन्दा १९ दिन ढिलो गरी अक्टोबर १२ (असोज २५) मा मात्रै सकिएको थियो । मनसुनमा औषत वर्षा हुने मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औषत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औषत वर्षा हुने प्रक्षेपण गरेको छ । अङ्ग्रजी महिनाको जुन, जुलाई, अगस्ट र सेप्टेम्बरमा नेपालसहित दक्षिण एशियाका लागि मनसुन अवधि मानिन्छ । सो चार महिनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतका हाराहरीमा पानी पर्ने गर्दछ । मौसमविद्का अनुसार कम वर्ष हुने भन्दैमा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन केही घण्टाको मुसधारे वर्षाले पनि ठूलो प्राकतिक प्रकोप हुनसक्छ । मनसुनमा नेपालमा सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा हुने गर्छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम ३० दशमलव नौ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव छ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । रासस
कोरोनाका विरुद्धको लडाइँमा सरकार उल्टो दौडमा : राहुल गान्धी
काठमाडाैं । भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाईँका लागि सही बाटोमा नहिडेको बताएका छन् । उनले सरकारले अहिले उल्टो दौडमा रहेकोले देशमा कोरोना विरुद्धको महामारी जित्न नसकिने बताए । भारतमा शुक्रबार सबैभन्दा बढी कोरोना संक्रमित भेटिएसँगै आफ्नो ट्वीटर अकाउन्टमा यस्तो प्रतिक्रिया दिए । भारतमा शुक्रबारदेखि शनिबार बिहानसम्मको २४ घन्टाको अवधिमा मात्र ११ हजार ४ सय ५८ जना संक्रमित भेटिएका छन् । यो नै भारतमा २४ घन्टाको अवधिमा सबैभन्दा बढी संक्रमित भेटिएको घटना हो । एक दिनमा भएका संक्रमितका यो संख्या सार्वजनिक भएसँगै काँग्रेसका नेता गान्धीले सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने बाटो नलिएको र यो उसको उल्टो दौड भएको बताए । उनले यसअघि पनि सरकारको आलोचना गर्दै आउन्र सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी पनि गरे । भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप उनीको थियो । उनले संक्रमितहरु दिनप्रति दिन बढ्दै गएका तर सरकारले लकडाउनको नीतिलाई राम्रोसँग पालना गराउन नसकेको आरोप सरकारमाथि लगाउने बताए । उनले पछिल्ला दिनहरुमा भारतमा हरेक दिन १० हजारभन्दा बढी नै संक्रमितहरु थपिने गरेकोले सरकार यो महामारी रोक्न सक्ने गरी काम नगरेको र सरकार असफल भएको बताए । उनले भारतमा पनि अमेरिका र बेलायतको जस्तो महामारीको अवस्था आउने कुरा पछिल्ला तथ्यांकहरुले देखाएको धारणा राखे । उनले यहाँको महामारी रोक्न नसकेपछि अब सरकारले अरु विकल्पहरु रोज्नुपर्ने पनि ट्वीटमार्फत सुझाएका छन् । भारतमा शनिबार बिहानसम्म ४ लाख ८ हजार ९ सय ९३ जना संक्रमित भएका छन् । यस महामारीबाट यहाँ ८ हजार ८ सय ८४ जनाको ज्यान गएको छ । रासस/एएनआई