धनुषामा गोली हानेर एक युवकको हत्या
काठमाडौं । धनुषामा गएराती एक युवकको गोली हानी हत्या गरिएको छ। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ नवटोलि घर भएका युवकलाई गोली हानेर हत्या गरिएको अवस्थामा विहान शव फेलापरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरबाहिर बोलाएर २५ वर्षीय छोरा अरुण कुमार मण्डललाई गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ । घरदेखि करिब २ सय मिटरको दुरीमा रहेको पोखरी नजिक स्थानीयले बिहान मण्डल मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको हेरेपछि गोली हानेर हत्या गरिएको देखिएको छ भने आधिकारिक पुष्टि हुन बाँकी रहेको छ । हत्याको कसले गर्याे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
गएराती कारको ठक्करबाट दुईको मृत्यु
घाेडाघाेडी । कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँच वर्षीया कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । कारको ठक्करबाट अन्य दुई घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी नगरपालिका–९ बस्ने ४५ वर्षीय डबल शाह र लम्कीचुहा नगरपालिका–१० बस्ने ४० वर्षीय जयचन्द्र सुनार रहेको प्रहरीले जानकारी दिएको छ । घाइते दुवैको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचारपछि कोहलपुर सिफारिस गरिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि उनीहरुलाई काठमाडौँको बिएनबी अस्पताल पठाइएको छ । ठक्कर दिएर फरार कार चालक बर्दगोरिया गाउँपालिका–१ का राजेन्द्र मल्ललाई इलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ । रासस
पछिल्लो दुई हप्तामा जम्मु र काश्मिरमा छ जना उच्च कमाण्डरसहित २२ आतंककारी मारिएको दाबी
श्रीनगर । भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा गएको दुई हप्तायता मात्र कम्तीमा पनि २२ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । यस अवधिमा यहाँका आतंककारीका विरुद्धमा भारतीय सेनाले व्यापक मात्रामा कारबाही गरिरहेको बताएको छ । साथै भारतीय सेनाले यस दुई हप्ताको समयमा उक्त क्षेत्रमा विभिन्न आतंककारी संगठनका गरी कम्तीमा पनि छ जना उच्च कमाण्डर पनि मारिएको बताएको छ । यसअघि सोमबार मात्र पनि भारतीय सेनाले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी राखेको र त्यस क्रममा कम्तीमा पनि ९३ जना आतंककारीहरु मारिएको बताएको थियो । भारत प्रशासित जम्मु र काश्मिरका प्रहरी प्रमुख दिलबाग सिंहले भारतीय सेना र प्रहरीले गरेको यस संयक्त कारबाहीका क्रममा ती आतंककारी मारिएका जानकारी दिए । साथै उनले त्यसमा आतंककारी संगठनका केही उच्च कमाण्डरहरु पनि रहेको जनाएकाे छ । भारतीय सैनिक स्रोतले दिएको जानकारी अनुसार सो क्षेत्रमा अहिले पनि आतंककारी विरुद्धको कारबाही जारी रहेको छ । त्यसैगरी गएको शनिबार यता मात्र यहाँ भारतीय सुरक्षा निकायले गरेको कारबाहीमा नौजना आतंककारी मारिएको पनि बताइएको छ । यस कारबाहीमा जैस ए मोहमद, लस्कर ए तोएबालगायतका आतंककारी संगठनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ । ती आतंककारी भारतीय तथा विदेशी समेत रहेको पनि सो समाचारमा जनाइएको छ । यस कारबाहीका क्रममा भारतीय सुरक्षा निकायका सदस्यहरुलाई भने कुनै क्षति नपुगेको अधिकारीहरुले जनाएका छन् । रासस/एएनआई