गरिमा विकास बैंकद्वारा रेडक्रसले पायाे आइस ब्याग

काठमाडौं । गरिमा विकास बैकले सिएसआर अन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई आइजिएलओओ बक्स(आइस ब्याग) हस्तान्तरण गरेको छ । संस्थाका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दिर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सद्गुरु ओशो सिद्धार्थ पुस ५ गते नेपाल आउँदै

काठमाडौं । आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस ५ गते नेपाल आउने भएका  छन्।ओशोधारा संघ नेपालको निमन्त्रणामा उनी नेपाल आउने भएका हुन् । नेपाल आगमनका क्रममा उनले ओशोधाराको उच्च तहको ध्यान कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । पुस ७ गतेदेखि १२ गतेसम्म बुटवलको मंगलापुरस्थित ओशो भिलेजमा बृहत अजपा तथा चैतन्य समाधी कार्यक्रममा उनले सहभागिता जनाउने ओशोधारा संघ नेपालका संयोजक आचार्यश्री ओशो महेन्द्रले जानकारी दिए । कार्यक्रममा ओशो सिद्धार्थ औलियासँगै ठूलो संख्यामा भारतीय साधकसाधिकाको सहभागिता रहने छ । ओशो सिद्धार्थ औलिया लगायत साधकसाधिकालाई लुम्बिनी भ्रमण गराउने जनाइएको छ । घर, परिवार, समाज त्यागेर मात्र अध्यात्मिक सुखशान्ति प्राप्त गर्न सकिन्छ भन्ने पुरातनवादी मान्यतालाई चिर्दै ओशोले घर, परिवार, सामाज तथा व्यवसाय सम्हाल्दै ध्यानमार्फत शान्ति हासिल गर्न सकिने परिकल्पनालाई साकार पारेको बुझिएको छ ।

सडक दुर्घटना : पाँच महिनामा ९ सय २१ जनाको मृत्यु, दुर्घटनाको दोषी को ?

काठमाडाैं । बढ्दाे सवारी साधन सँगसँगै सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पनि दैनिक बढ्दै गएको छ । नेपालमा दिनमा सरदर ६/७ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाइरहेका छन् । साउनदेखि हालसम्म अर्थात यो पाँच महिनाको अवधिमा नेपालमा सडक दुर्घटनाबाटै ९ सय २१ जनाले ज्यान गुमाएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा उपत्यकाभित्र ७६ जनाको सडक दुर्घटनाबाट मृत्यु भइसकेको छ । गत आर्थिक वर्षमा मात्रै देशभरका २ हजार ७ सय ८९ जनाले दुर्घटनाबाट ज्यान गुमाएका थिए । ती मध्ये २ सय ५९ जनाकाे उपत्यकाभित्रकाे दुर्घटनामा मृत्यू भएकाे महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालले पछिल्लो समय सडक दुर्घटना कमि आएपनि यसलाई न्युनिकरणका लागि सबै पक्षहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले सडक दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीको पक्षबाट हुने विभिन्न प्रयास तथा कार्यक्रमहरु सञ्चालन भइरहेको बताए । चालकहरुलाई ट्राफिक नियम सम्बन्धि जानकार बनाउनका लागि ट्राफिक सचेतनामुलक अभियान अन्तर्गत ट्राफिक उज्यालो कार्यक्रम, सचेतना कक्षालगायतका नयाँ कार्यक्रमहरु सुरु गरिएको उनको भनाइ छ । पछिल्ला केही महिनामा मात्रै सवारी दुर्घटना हुने क्रम बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसको सत्यतथ्य बुझ्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेका छन् । प्रधानमन्त्रीकाे निर्देशन बमोजिम सरोकारवालाहरुले पनि दुर्घटनाको कारण, यसलाई कसरी कम गर्न सकिन्छ भन्नेलगायतका विषयहरुमा तिव्र बहस चलाउन थालेका छन् । प्रमुख ढकालले नेपालमा ट्राफिक प्रहरीमा जनशक्ति कम भएको कारणले काम गर्न पनि असहज भएको बताए । उनले एक जना ट्राफिकले ९ सय सवारी साधनलाई हेर्नु पर्ने बाध्यता रहेको उल्लेख गरे । हालसम्म ट्राफिक नियम उल्लघंन गर्ने ४१ हजार जनाले ट्राफिक सचेतना कक्षा लिएको उनले बताए । तीन महिनामा १ लाख जनालाई सचेतना कक्षा लिने लक्ष्य रहेको बताए । सबै चालकले अनुशासित भएर र ट्राफिक नियमको पालना गरे ५० प्रतिशत दुर्घटना रोकिने उनको भनाइ छ । बस व्यवसायी के भन्छन ? धेरैले सडक दुर्घटनामा बस व्यवसायीहरुको पनि दोष रहेको बताइरहेको बेला बस ब्यवसायीहरु भने सरकारलाई दोष दिन्छन् । बस ब्यवसायीहरुले सरकारले यातायात क्षेत्रलाई त्यति ध्यान नदिएका कारण पनि दुर्घटनामा कमि नआएको बताउँछन् । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सडक दुर्घटना हुनु पछाडीको मुख्य दोषी सरकार भएको बताए । यातायात मन्त्रालयले सडकको तथा यातायातको स्तरोन्नति र विभिन्न अन्र्तक्रियात्मक कार्यक्रममा ध्यान नदिएका कारण पनि दुर्घटनमा कमि आउन नसकेको सिटाैलाकाे भनाइ छ । ‘इन्जिनियरविना सडक निर्माणको काम हुन्छ, हालसम्म चालकलाई तालिम दिने तथा उनीहरुको क्षमतावृद्धिका लागि कुनै कार्यक्रम भएका छैनन्, यसले पनि देशको सवारी दुर्घटनामा कमि नआएको हो,’ सिटाैलाले भने । डाक्टरलाई परिपक्क बनाउन एक करोड खर्च लगानी गर्ने तर चालककाे क्षमताबृद्धिका लागि एक रुपैयाँ पनि लगानी नगर्ने प्रवृतिका कारण धेरै जनाले ज्यान गुमाउनु परिरहेकाे उनकाे भनाइ छ । टेकुमा राखिएको सवारी जाँच गर्ने फिटनेस् सेन्टरको प्रसंग जोड्दै सिटाैलाले त्यो अहिले म्युजिएमका रुपमा प्रयोग भएको बताए । सरकारले दुर्घटनामा कमि ल्याउनका लागि भिरका सडकहरुमा रेलिङ लगाएर पनि दुर्घटना कम गर्न सकिने उनको भनाइ छ । सडक विभागका महानिर्देशक केशव शर्माले सडक दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि भएको उल्लेख गरे । उनले विश्वमा मानिसहरुको मृत्यु हुनुको तेस्रो कारण दुर्घटना भएको बताउँदै यसलाई न्युनिकरण गर्न आवश्यक रहेको बताए । मानवीय, भौतिक संरचना, सवारी साधनको अवस्था र मौसमी लगायतका कारणले दुर्घटना बढी हुने उल्लेख गर्दै उनले यी कुराहरुलाई ध्यानमा राखेर काम गरे सडक दुर्घटना कम गर्ने सकिने बताए । देशका ८३ हजार सडकहरुमध्ये १५ हजार सडक सडक विभागले हेर्ने गरेको  छ ।