गायक सहिमा र सन्दिपको नयाँ गीत ‘तिम्रै हुनु छ’ सार्वजनिक

काठमाडौं । गायिका सहिमा श्रेष्ठ तथा लालुमैका गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गित ‘तिम्रै हुनु छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेले फरक शैलीको गीत सांगीतिक बजारमा लिएर आएका छन् । संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने शान थापाले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा अर्जुन गौतम र एलिसा राईलाई फिचर्ड गरिएको छ ।

१५ वर्षअघि हत्या गरी फरार रहेका दुई जना पक्राउ

१५ वर्षअघि धारिलो हतियार प्रयोग गरी हत्या गर्ने दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ५ बस्ने सन्तबहादुर तामाङ र सोही ठाउँका केशव लामालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो । जिल्लाको तारकेश्वर गाउँपालिका वडा नं. ५ बस्ने जाहेरवाला वाङ्देन लामाको १५ वर्षीय छोरा लैलु लामालाई उनीहरुले २०६१ साल बैशाख २६ गते झगडाको विषयलाई लिएर कुटपिट गरी गम्भिर घाइते बनाएका थिए । घाइतेको त्रिशुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सन्तबहादुरलाई काठमाडौको नागार्जुन न.पा.वडा नं. २ नाम्गेल चोकबाट र केशब लामालाई ढल्कुबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइ सकेको जनाइएको छ ।

स्वर्ण पदक विजेता मन्देकाजीलाई नगरपरिक्रमा सहित सम्मान

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)मा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ । विजेता मन्देकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी हुन् । नगरपरिक्रमा पछि सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले मन्देकाजीले नेपाली खेलकूदको इतिहासमा २० वर्षपछि सागमा देशलाई दुई स्वर्ण पदक दिलाएर मध्यपुरथिमिसँगै देशको नाम अन्तरराष्ट्रिय जगत्मा उचाइमा पुर्याएको बताए । सो अवसरमा सम्मानित मन्देकाजी श्रेष्ठले मध्यपुरथिमिमा खेललाई अगाडि बढाउन आफूले प्रशिक्षण सञ्चालन गर्ने घोषणा गरेका छन् । कार्यक्रममा नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, मन्देकाजीका प्रशिक्षकद्वय गङ्गाराम महर्जन, सजन श्रेष्ठ, मन्देकाजीका पिता बाबुकाजी श्रेष्ठलगायतले मन्देकाजीले खेल जगत्मा पुर्याएको योगदानको चर्चा गरे । कार्यक्रममा स्थानीय बालप्रेमी माध्यामिक विद्यालयले पनि सम्मान गरेको थियो । रासस