१५ र २४ गते उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली, ठूला सवारी चक्रपथभित्र निषेध, टुडिखेलमा पार्किङ खुला
काठमाडौँ। १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ। सार्वजनिक र निजी दुबै सवारी साधनका लागि यो नियम लागू हुने ट्राफिक प्रहरीले जनाएकाे छ । ट्राफिक प्रहरीका अनुसार मंसिर १५ बिजोर नम्बर भएका सवारी साधनमात्र चल्न पाउनेछन्। उक्त दिन जोर नम्बरका सवारी साधन रिङरोडभित्र चल्न पाउने छैनन्। यस्तै, २४ गते जोर नम्बर भएका सवारी साधनमात्र चल्नेछन्। सरकारी, अत्यावश्यक सेवा, खेलसँग आवद्ध र सञ्चारकर्मीका सवारी साधन वाहेक अन्य सम्पूर्ण सवारी साधनले खेल उद्घाटन मंसिर १५ गतेका दिन विजोर नम्वर प्लेटरसमापन मंसिर २४ गतेका दिन जोर नम्वर प्लेटका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुराेध गरेकाे छ । प्रहरी महाशाखाले २०७६ मंसिर १५ गतेदेखि मंसिर २४ गतेसम्म ठूला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश निषेध गरेकाे छ । दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न पनि प्रहरीले अनुराेध गरेकाे छ । पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाउन, खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूको पार्किङ्ग स्थल काठमाडौँ मल अगाडी टुँडिखेलमा तोकिएकोले सोही ठाउँमा पार्किङ्ग गर्न, हर्न बजाउन पूर्ण रूपले निषेध गर्न निर्देशन दिएकाे छ ।
कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै
पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल हल्लाउँदै र कोही मोबाइल चलाउँदै मस्तसँग बोटो काटिरहेका हुन्छन् । रोक्न खोज्दा कोहीले सहजतापूर्वक स्वीकारे पनि धेरैजसो अटेर गर्छन् । सुन्धाराथिस्त नेपाली सेनाको अफिसर्स क्लब अगाडिबाट गाडीको कुनै परवाह नगरी बुधबार दिउँसो केही व्यक्तिले बाटो काटे । जेब्राक्रसिङ नभएपनि नागबेली झैँ गाडी छल्दै बाटो काट्नेमा नेपाली सेनासमेत सहभागी भए । सिंहदरबारको मुल गेट नजिक गाडी चल्दाचल्दै एक युवाले जोखिम मोलेरै जेब्राक्रसिङबाट गए । उनको देखासिकीमा पछि लागेका दुई युवालाई ट्राफिक प्रहरीले रोक्यो । उनीहरु प्रहरीसँग भनाभनमा लागे । “ती दाई गए अनि मिल्ने रहेछ भनेर हामी पनि गएको”, प्रहरीसँग उनले भने । त्यही ठाउँमा बाटो काट्न पर्खिरहेका एक हुल मानिसबारे उनीहरुले ख्यालै गरेनन् । बुधबार विहान ११ बजेको समयमा यहाँको सुन्धारा, त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, रत्नपार्कलगायत क्षेत्रमा घुम्दा स्वयंसेवकहरु ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सघाइरहेका देखिए । उनीहरुलाई अटेर गरेर कतिपय नियम उल्लङ्घनमा लागेको पनि देखियो । तर जहाँजहाँ स्वयंसेवक छन्, त्यहाँत्यहाँको अवस्था भने ट्राफिक नियम पालनामा निक्कै प्रभावकारी भेटियो । स्वयंसेवकहरुका अनुसार बटुवाहरु कानुन मान्नै चाहँदैनन् । हतारोले जहाँ पायो त्यहाँबाट बाटो काट्न आतुर हुन्छन् । गाडीको कुनै मतबल गर्दैन । गुडिरहेको गाडीको अन्तरबाट बाटो काट्छन् । जुन दुर्घटनाको कारक बन्न पुग्छ । “जेब्राक्रसिङ हाम्रो हो, जतिखेर पनि बाटो काट्न पाउनुपर्छ भन्ने सोच हुँदोरहेछ, त्यही बाटोमा गाडी पनि गुड्छ भन्ने जान्दाजान्दै हतार गर्दा रहेछन्”, पुतलीसडकमा स्वयंसेवक खटिएकी समिक्षा पुन मगरलेले भने । सात दिनको समयमा ट्राफिक नियमबारे उनलाई पनि धेरै सिक्ने मौका मिलेको छ । अर्की स्वयंसेवक सुमिना डङ्गोलले ट्राफिकको काम कति गाह्रो हुँदोरहेछ भनेर नजिकबाट महसुस गरिएको बताए । “घरी यता कुदद्नुपर्ने, घरी उता कुद्नुपर्ने, यात्रु, चालक, बटुवासँग विवाद नगरी सुखै नहुने, उभिएरै काम गरिरहनुपर्ने अझ त्यो धूलो, धुँवा, प्रदूषणले स्वास्थ्यमा कति समस्या होला, त्यसको लेखाजोखा छैन ।” उनले थपे । यात्रुहरुलाई पनि छिटो बाटो काट्नुपर्ने सवारी चालकलाई पनि छिटो जानुपर्ने कारण दुर्घटनाको ठूलो जोखिम छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न कलेजमा कानुन पढ्दै गरेका विद्यार्थीलाई सहभागी गराएर अहिले उपत्यकाको विभिन्न ३५ स्थानमा ३३५ ट्राफिक स्वयंसेवक खटाएको छ । विहान र बेलुकाको सवारी चाप हुने कार्यालय समयको तीन-तीन घण्टा स्वयंसेवक खटिन्छन् । न्यून जनशक्तिका कारण जहाँतहीँ ट्राफिक प्रहरी पुग्न सक्ने अवस्था नरहेकाले समुदाय प्रहरी साझेदारी अवधारणा अनुसार युवा, विद्यार्थी र समुदायसँग सहकार्य थालिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । स्वयंसेवक अभियान प्रभावकारी देखिएकाले निरन्तरता दिने योजना बनाएको उनले जानकारी दिए । ट्राफिक प्रहरीको अभिलेखमा उपत्यकामा पछिल्लो चार महिनामा सवारीको ठक्करबाट २३ पैदलयात्रुको मृत्यु भएको छ । झण्डै ७०० घाइते भएका छन् । कतिपय घटना पैदलयात्रु कै कारण हुने भएपनि धेरै घटना भने चालकको लापरवाही देखिएको महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले बताए । नियम उल्लङ्घनदेखि बढी दुर्घटना सङ्ख्याका हिसाबले मोटरसाइकल छ । गत वर्ष चार हजार सवारी दुर्घटना मध्य तीन हजार ७०० दुर्घटना चालकको लापरवाही देखिन्छ । नियमानुसार गाडी चलाउने हो भने झण्डै ६० प्रतिशत दुर्घटना आफैँ रोकिन्छ । त्यसैले स्वयंसेवकलाई ट्राफिक नियमको पालनाका लागि खटाइएको छ । न्यून सङ्ख्यामा रहेका ट्राफिक प्रहरीलाई स्वयंसेवकले ठुलो सहयोग गरिरहेका छन् । उनीहरु जेब्राक्रसिङबाट जथाभावी बाटो काट्न दिँदैनन् । पिक एण्ड ड्रपमा छिटो सवारी पठाउन खटिन्छन् । स्काईब्रिजको प्रयोग र लेन अनुसार सवारी चलाउन प्रोत्साहित गर्दै आएका छन् भने गाडीभित्र आरक्षण सिटको दुरुपयोग रोक्नसमेत खटिने गरेका छन् । यसअघि राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा पहिलो चरणको स्वयंसेवक खटिएका थिए । अहिले दोस्रो चरणमा कानुनका विद्यार्थी स्वयंसेवक भएर खटिएका छन् । अर्को चरणका लागि पद्मकन्या क्याम्पस, रोटरी क्लबसँग कुरा भइरहेको र त्यसपछि विभिन्न सामाजिक सङ्घसंस्थासँग सहकार्य गरिने महाशाखाले जनाइएको छ । “यसरी खटिँदा उनीहरुले ट्राफिक प्रहरीको दुःख देख्ने हुँदा ट्राफिक नियममा गम्भिर हुन सिकाउँछ, घर र परिवारमा उनीहरुमार्फत सन्देश पुग्छ, उनीहरु आफैँ पनि सच्चिन्छन्”, महाशाखा प्रमुख ढकालले भने । स्वयंसेवक भएबापत् पाउने प्रमाणपत्र हरेक ठाउँमा प्राथमिकता हुने भन्दै ढकालले प्रहरीमा भर्ना हुनकै लागि पनि विशेष ग्राह्यता पाउने बताए । उनीहरुले कसरी काम गरेका छन्, समयमा आए की आएनन् भनेर फिल्डमा खटिएको ट्राफिक प्रहरी कमाण्डरले निगरानी गर्ने गर्छ । त्यसैको आधारमा स्वयंसेवकको मुल्याङ्कन हुन्छ । कानुनका विद्यार्थी भएकाले उनीहरु आफैंँले पनि अनुसन्धान गरेर एउटा प्रतिवेदन तयार पार्ने भएकाले नयाँ रणनीति बनाउनसहयोग पुग्ने विश्वास गरिएको छ । उपत्यकाको बढी सवारी चाप हुने ३५ स्थानमा स्वयंसेवक खटिएका छन् । यसपटक काठमाडौं स्कुल अफ ल, चक्रवर्ती अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका ३५५ विद्यार्थी ट्राफिक स्वयंसेवकका रुपमा सहभागी छन् । ट्राफिक प्रहरीले गत असोज ५ गते पहिलो चरणअन्तर्गत पाँच सय युवा परिचालन गरेको थियो । गृहमन्त्री रामबहादुर थापाले यसलाई देशव्यापी बनाउने योजना अघि सारेका छन् । रासस
साग खेलकुदका सम्पूर्ण टिकट अनलाइन मार्फत, इसेवाबाट सहजै टिकट उपलब्ध हुने
काठमाडाैं । दुई दशकपछि नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को टिकट अनलाईबाट विक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाडौमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवा मार्फत सहजै खरिद गर्न सकिनेछ । दर्शकले साग डट इसेवा डटकम डट एनपीमा गइ आफुले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सक्नेछन् । टिकट खरिद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाईल नम्बर राखेर आफ्नै मोबाईलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ । हरेक टिकटमा दर्शकको नाम, मोबाईल नम्बर र युनिक क्यूआर कोड रहनेछ । दर्शकले प्रवेशद्धारमा आफ्नो टिकट र परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । उक्त टिकट रियल टाइममै भेरिफाई हुने र आइडी कार्ड देखाएपछि दर्शकले प्रवेश पाउनेछन् । यो टिकटिङ प्रणालीले टिकटमा हुने कालोबजारी र फर्जी टिकटको समस्याको समाधान गर्नेछ । यस्तै यसपटक फुटबल म्याचमा सिट नम्बर सहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ । इसेवा एकाउण्ट भएका व्यक्तिले सिधै मोबाईलबाट टिकट खरिद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन तथा पोइन्ट) मा गइ अनलाइन टिकट खरिद गर्न सकिनेछ । उपत्यका लगायत नेपालभर इसेवाका ६५ हजार भन्दा बढी जोन पोइन्ट रहेका छन् । यसअघि पनि इसेवाले आइसीसी, एन्फा अन्तरगत विभिन्न अन्तर्राष्ट्रिय खेलहरूको सफल टिकटिङ र प्रवेश व्यवस्थापन गरिसकेको छ । इसेवा नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त भुक्तानी सेवा प्रदायक हो । सन् २००९ बाट सञ्चालन रहेको इसेवामा २५ लाख ग्राहक रहेका छन् । इसेवामा ५५ बैंक तथा वित्तिय संस्था र ६० हजार भन्दा धेरै सेवाहरू रहेका छन्