चक्रपथभित्र जग्गा सकियो, चक्रपथ वरपरका जग्गाको मूल्यपनि दोब्बर बढ्यो
काठमाडौं । पछिल्लो केही वर्षयता राजधानीको चक्रपथभित्र जग्गा पाउन मुस्किल हुन थालेको छ । ०७२ वैशाखमा गएको भूकम्पपछि राजधानीमा जग्गाको माग बढेसँगै चक्रपथ वरपरका क्षेत्रमा समेत जग्गाको मूल्य एकैपटक बढेको घरजग्गा व्यवसायीहरू बताउँछन् । भूकम्पपछि आफैं जग्गा खरिद गरेर घर बनाउने क्रम सुरु भएसँगै जग्गाको मागसँगै मूल्य पनि बढेको हो । चक्रपथभित्रका क्षेत्रमा भएका जग्गा प्रायः होेल्ड भइसकेकोले यी क्षेत्रमा जग्गा पाउन मुस्किल रहेको द रियलटर्स नेपालका उपाध्यक्ष दिलिप न्यौपाने बताउँछन् । उनका अनुसार चक्रपथभित्र खाली रहेका जग्गा पनि यतिबेला लगानीकर्ता र अन्तिम प्रयोगकर्ताको हातमा रहेका कारण चक्रपथभित्र जग्गा अभाव हुन थालेको हो । चक्रपथभित्र अहिले औसतमा न्यूनतम प्रतिआना २० लाख रुपैयाँदेखि अधिकतम ३ करोड रुपैयाँसम्म जग्गाको कारोबार भइरहेको पनि उनको भनाइ छ । दुई दशकदेखि घरजग्गा कारोबारमा संलग्न न्यौपानेका अनुसार यतिबेला चक्रपथ वरपरका क्षेत्रमा गत वर्षको तुलनामा भन्दा २ सय प्रतिशतसम्म जग्गाको मूल्यवृद्धि भएको छ । अहिले राजधानीलगायत मुख्य सहरी क्षेत्रका जग्गालाई व्यावसायिक रुपमा लिँदा जग्गाको मूल्यमा अस्भाविक वृद्धि भएको पनि उनको बुझाइ छ । “तर अहिलेको जग्गाको मूल्यवृद्धि रियल इस्टटेको पानीको फोका जस्तै हो,” उनले भने “अव केही वर्ष फेरि विस्तारै यो मूल्यमा कमी आउँछ ।” नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले पछिल्लो समय अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै नियन्त्रण गर्न निर्देशन दिएपछि जग्गाको कारोबारमा कमी आउने अनुमान गरिएको छ । नेपाल जग्गा तथा आवास विकास संघका उपाध्यक्ष ओमराज राजभण्डारीका अनुसार भूकम्पपछि राजधानीमा जग्गाको मागसँगै मूल्य पनि बढेको बताउँछन् । उनका अनुसार अहिले चक्रपथभित्र जग्गा पाउन नसकिने अवस्था छ भने भएका जग्गा पनि आम नेपालीको क्रयशक्ति भन्दा निकै बढको छ । यसलाई नियन्त्रण गर्नका लागि सरकारले अपार्टमेन्टजस्ता हाइराइज भवनलाई प्रवद्र्धन गर्नुको विकल्प नभएको बताउँछन् । “राज्यले बाँकी रहेको जमिन बचाउनका लागि अपार्टमेन्ट कल्चरलाई प्रवद्र्धन गर्दै जानुपर्छ,” उनले भने । राजधानीमा जग्गाको माग बढ्नुको मुख्य कारण आवश्यकताभन्दा पनि प्रतिष्ठाको रुपमा समेत हेरिएकाले भएको न्यौपानेले बताए । “भू–उपयोग नीति कार्यान्वयनमा आउन नसकेको फाइदा यतिबेला घरजग्गा व्यवसायीले लिएका छन्,” उनले भने । यसकारण अहिले चक्रपथभित्र जग्गाको अभाव र वरपर मूल्य दोब्बरले बढ्नुको मुख्य कारण पनि यही हो । चक्रपथभित्र जग्गाको संख्या कम र मूल्य सामान्य नागरिकको पहुँचभन्दा बाहिर भएकोले पछिल्लो समय चक्रपथसँग जोडिएका गाविसहरू हरिसिद्धी, इन्द्रायणी, स्वयम्भू, भैंसेपाटी, गोंगबु थानकोटलगायतका क्षेत्रमा घरजग्गा कारोबार बढेको छ । कारोबार दैनिकबाट ।
फिल्डमै नभएको जग्गा बिक्री, ठग्नेको धन्दापनि अनेकौ
बुटवल । हुदै नभएको जग्गा बिक्री गरी ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीनजना विरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको छ । नापी कार्यालय रुपन्देहीले फिल्डमा नभएको भन्दै रोकेको जग्गा विक्री गर्ने तीनजनाविरुद्ध मुद्दा दायर भएको हो । सिनपा ९ का रमेश कोइराला, विष्णुप्रसाद चौधरी र महेश केसीले जालसावी गरी जग्गा विक्री गरेको प्रहरीको दावी छ । उनीहरुले फिल्डमा नभएको र नापी कार्यालयले विक्री नगर्नू भनेको जग्गा बिक्री गरेको देखिएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्रबहादुर धानुकले बताए । अन्नपूर्ण पोस्टबाट ।
भूकम्पले भत्किएको २२ महिनापछि सिंहदरवार एक भाग निर्माण गर्न निर्माण समिति र सल्लाहार समिति गठन, कहिले बन्ला पूर्ण सिंहदरवार ?
काठमाडौं । भूकम्पले भत्किएको २२ महिनापछि राष्ट्रिय पुननिर्माण प्राधिकरणले सिहदरवारको मुल भवनको पश्चिमतिरको भाग पुननिर्माण गर्न कार्यकारी सदस्य डा. हरिराम पराजुलीको सयोजकत्वमा समिति गठन गरेको छ । प्राधिकरणको मंगलवार बसेको कार्यकारी समितिको बैठकले सिहदरवारको पश्चिमतिरको भागको यथाशिघ्र प्रवलीकरण गरि पुननिर्माण गर्ने कार्य अघि बढाउन पराजुलीको संयोकत्वमा समिति गठन गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । समितिमा पुरातत्व बिभागका प्रतिनिधी, प्राधिकरणका सहसचिव, शहरी बिकास मन्त्रालयका सहसचिव, पुरातत्वविद्हरु रोहित रञ्जितकार, सन्तोष श्रेष्ठ र रविन्द्र पुरी सदस्य छन् । समितिले यथाशिघ्र सिहदरवारको पश्चिमतिरको मुल भागलाई नभत्काएरै पुननिर्माणको काम अघि बढाउनेछ । उक्त समितिलाई आवश्यक सल्लाह र सुझाव दिन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा विभिन्न पुरातत्वविद् संरक्षणविद्लगायत रहेको सल्लाहकार समिति गठन भएको छ । सल्लाहकार समितिसंग आवश्यक परामर्श र छलफल गरि पराजुली संयोजकत्वको समितिले आफ्नो अघि बढाउनेछ । ऐतिहासिक धरोहर तथा एशियाकै उत्कृष्ट नमुना डिजाइनमा बनेको उक्त भवनलाई पछिल्लो भुकम्पले क्षति पुरयाएको थियो ।