महाअभियोग र मुद्दा अलमल्याउने रणनीतिमा कार्की, महाभियोग प्रस्ताव प्रक्रियासम्मत नभएको भन्ने
काठमाडौं २२, कात्तिक । संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले प्रस्ताव तुहाउने र अदालतमा विचाराधीन आफूविरुद्धको मुद्दालाई अल्मल्याउने योजना बनाएका छन् । कार्कीका नातेदार र शुभचिन्तकको पहलमा बानेश्वरमा भएको भेलाले त्यही योजनाअनुरुप सोमवार सर्वोच्च अदालतमा २ वटा मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले जनाएको छ । अख्तियार र व्यवसायी स्रोतका अनुसार अदालतमा विचाराधीन मुद्दा र संसदमा दर्ता भएको महाभियोग प्रस्ता तुहाउने विषयमा कार्कीको उपस्थितिमा शुक्रबारदेखि छलफल भएको थियो । कार्कीमाथिको महाभियोग प्रस्ताव दर्तालगत्तै अख्तियारबाट अवकाश पाएका वरिष्ठ अधिवक्ता कोमल घिमिरेको संयोजनमा भएको भेलामा करिब एक दर्जन कानून व्यवसायी उपस्थित थिए । ‘संसदमा दर्ता भएको महाभियोग प्रस्ताव प्रक्रियासम्मत छैन भनेर अघि बढ्ने योजना बनेको छ,’ भेलामा सहभागी एक कानून व्यवसायीले कान्तिपुरसित भने, ‘कार्की विरुद्धको मुद्दाको म्याद तामेली प्रक्रियामा समेत प्रश्न उठाई सर्वोच्च अदालतमा जाने निर्णय भएको छ ।’ भेलामा कानून व्यवसायीहरु महादेव यादव, कृष्णप्रसाद सापकोटा, युवराज संग्रौला, भीमार्जुन आचार्य, माधव बस्नेत, ललित बस्नेत, बाबुराम कुँवर, बालकृष्ण न्यौपानेलगायत सहभागी थिए । छलफलपछि माधव बस्नेतले मुद्दाको मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको स्रोतले बतायो । कार्कीका तीन रणनीति – महाभियोग प्रस्तावविरुद्ध रिट हाल्ने – म्याद तामेली प्रक्रियाविरुद्ध सर्वोच्चमा जाने – सकेसम्म धेरै वकालतनामा गराएर मुद्दा लम्ब्याउने संसदमा दर्ता भएको महाभियोग र सर्वोच्च अदालतमा विचाराधीन योग्यताको प्रश्नसम्बन्धी मुद्दाको एकसाथ प्रतिरक्षाको रणनीति बनाउन कार्कीले यसबीचमा अन्य शुभचिन्तकसँग पनि छलफल र भेटघाट गरेको स्रोत बताउँछ । कानून व्यवसायीसँगको छलफलले महाभियोगको प्रस्ताव र म्याद तामेलीको प्रक्रियामा प्रश्न उठाउने रणनीति तय गरेको थियो । ‘महाभियोग सिफारिस समितिबाट संसदमा प्रवेश गर्नुपर्ने विषय सोझै संसदमा प्रवेश गरेको, बहालवाला मन्त्री नै प्रस्तावक भएको र उनीहरुले महाभियोगको पक्षमा दिएको प्रस्ताव प्रक्रियासम्मत नभएको भनी सर्वोच्च अदालतमा प्रश्न उठाउने तयारी छ,’ ती कानुन व्यवसायीले भने, ‘महाभियोगको प्रक्रिया अघि बढाउन रोक लगाउन आदेशको माग हुनेछ ।’ सम्भवतस् सोमबार नै दुई निवेदन दर्ता गर्ने तयारीमा उनको प्रतिरक्षा गर्ने कानून व्यवसायीहरुको समूह छ । कान्तिपुर दैनिकबाट ।
नोट र सोर्सले न्यायाधीश बन्न नदिने, उच्च अदालतका न्यायाधीश नियुक्ति षडयन्त्र भइरहेको खुलासा
काठमाडौं २२, कात्तिक । प्रधानन्यायाधीश सुशीला कार्कीले उच्च अदालतमा न्यायाधीश नियुक्ति रोक्न आफूलाई नै हटाउने षडयन्त्र भइरहेको खुलासा गरेकी छन्। सर्वोच्च अदालत बार एसोसिएसन र कानुन व्यवसायीको पेसागत संगठनका केही पदाधिकारीसँग शुक्रबारको छलफलमा प्रधानन्यायाधीश कार्कीले आफ्नो योजनविरुद्ध षडयन्त्र भइरहेको खुलासा गरेकी हुन् । ‘न्यायपरिषद बैठक बस्न नदिने र जसरी पनि नियुक्ति रोक्ने षडयन्त्र भइरहेको मैले थाहा पाएँ,’ कार्कीलाई उद्धृत गर्दै सर्वोच्च बारका एक सदस्यले भने । नाम उल्लेख नगरी कार्कीले आफ्नै सहकर्मीबाट समेत षडयन्त्र भइरहेको बताएकी थिइन् । पुनरावेदन अदालतलाई संविधान बमोजिम हालै उच्च अदालतमा परिणत गरिएपछि ८० हाराहारी संख्यामा न्यायाधीश नियुक्ति गर्नुपर्नेछ । ‘प्रधानन्यायाधीश भएपछि मैले थाहा पाएँ, कस्ता–कस्ता षडयन्त्र हुँदा रहेछन्,’ कार्कीले ती पदाधिकारीसँग भनेकी थिइन्, ‘तर पैसाका बिटा र नेताको चाकरी तथा सोर्स, भनसुनका भरमा म नियुक्त हुन दिन्नँ, तत्कालै उच्च अदालतका न्यायाधीशहरु नियुक्त गरेरमात्र बिदा हुन्छु ।’नागरिक दैनिकबाट ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जित्ने चिनियाँ बाँदरको भविष्यवाणी
चीन, २१ कात्तिक । चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भनेर सङ्केत गरेको यहाँको एउटा पर्यटकीय पार्क प्रशासनद्वारा जनाइएको छ । गेडा नामक उक्त बाँदरलाई यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको थियो र यस प्रसङ्गमा यसले दिएको भविष्यवाणी नै सही ठहरिएको थियो । गेडाको अर्थ स्थानीय भाषामा मनोरञ्जन भएको बताइए पनि उक्त अलौकिक जनावरले सन् २०१० को विश्व कप फुटबलका धेरै प्रतिस्पर्धामा को विजयी हुन्छन् भनेर सोधिएको प्रश्नमा सही विजेता छान्न सफल भएको थियो । पहेँलो सर्टमा सिङ्गारिएको उक्त भविष्यवक्ता बानरराजलाई दुई वटा केराका टुक्राहरूलाई अमेरिकी राष्ट्रपतिमा प्रतिस्पर्धामा रहेका डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको प्रतीकका रुपमा राखिएको थियो र उक्त बादरले दुई टुक्रामध्ये ट्रम्पको प्रतीक मानिएको केराको टुक्रालाई उठाएर निर्णय दिएको थियो । बाँदरले निर्णय दिनुभन्दा पहिले केहीबेर ध्यानपूर्वक केराका टुक्रा नजिक बसेको र ट्रम्पको प्रतीक बनाई राखिएको केराको टुक्रालाई उचालेर भविष्यवाणी गरेको, सियाङ हु इकोलोजिकल टुरिजम पार्कले बिहीबार आफ्नो वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस/एएफपी